पुस्तक अंश

मिस नेपाल ब्रान्ड

सुवर्ण क्षेत्री  १६ मंसिर २०८० ११:११
20
SHARES
मिस नेपाल ब्रान्ड

सन् १९९४ मा काठमाडौँ जेसिज आफ्नो रजत वर्ष मनाउँदै थियो। एउटा भव्य कार्यक्रमका साथ रजत वर्ष मनाउने तयारी हुँदै थियो। अध्यक्ष मनिन्द्र जोशी कुनै भव्य कार्यक्रम गर्नुपर्छ भन्दै उत्साहित थिए। तर, के गर्ने टुङ्गो लागिसकेको थिएन। जेसिजले रजत वर्ष विशेष समारोह आयोजनाका लागि गोपाल कक्षपतिको संयोजकत्वमा एउटा समिति बनायो। त्यो समितिमा मलाई पनि सल्लाहकार बनाइयो। तर, म जेसिजमा खासै सक्रिय थिइनँ। सिनेटरका रूपमा साथीभाइले सम्मानका साथ आमन्त्रण गरिरहन्थे।

विशेष समारोहमा केही नयाँ गर्नुपर्छ भन्ने सबैलाई लागिरहेको थियो। तयारी बैठकका क्रममा मिस नेपाल आयोजना गर्ने प्रस्ताव आयो। त्यो बिल्कुल नयाँ प्रस्ताव थियो। जेसिज आफैँमा नेतृत्व र व्यक्तित्व विकासमा टेवा पुर्‍याउने संस्था पनि हो। त्यसैले मिस नेपाल आयोजना गर्नु जेसिजको प्रकृतिसँग मेल खाने कार्यक्रम थियो। त्यसैले पनि होला,त्यो प्रस्ताव एकमतले पारित भयो।

जेसिजमा एउटा परम्परा के छ भने जेसुकै कार्यक्रमका लागि पनि प्रोजेक्ट अध्यक्षका रूपमा कुनै एकलाई जिम्मेवार बनाउने। उसैले परिभाषित कामको नेतृत्व गर्छ। त्यतिबेला मिस नेपाल कार्यक्रमको प्रोजेक्ट अध्यक्ष बने, रूपेश प्रधान। उनी अहिले पनि हिडेन ट्रेजरका बोर्ड अफ डाइरेक्टरसमेत छन्।

मिस नेपालमार्फत हामीले महिलालाई अवसर दिन खोजेका थियौँ। आत्मविश्वास बढाउने, व्यक्तित्व विकास गर्ने र महिला सशक्तीकरणको प्लेटफर्म बनाउन खोजेकोरूपमा लिएका थियौँ। उद्देश्यप्रति हामी जति प्रस्ट थियौँ, प्रक्रियाप्रति उत्ति नै अस्पष्ट थियौँ।

मिस नेपाल त गर्ने तर तयारी कहाँबाट अघि बढाउने? एउटा अन्योल थियो। त्यो समय समाज अहिलेजस्तो खुला थिएन। काठमाडौँमा गरिएका फेसन सोसमेत छाडा संस्कृति भनेर आलोचनामा पर्थे। मिस नेपाल त्यसभन्दा एक स्टेप माथिकै कार्यक्रम थियो। सहभागी कसरी जुटाउने? कसरी विरोधको सामना गर्ने? एकैसाथ धेरै चुनौती हाम्रासामु आइपरेका थिए।

तर, आँट गरेपछि नहुने कुनै काम छैन। मिस नेपाल हाम्रा लागि नयाँकार्यक्रम थियो। त्यसैले सिक्दै अघि बढ्यौँ। मिस नेपाल गर्ने त भन्यौँ। सहभागी सङ्ख्या कति हुने हो? प्रशिक्षक कसलाई बनाउने? हामीसँग कुनै अनुभव थिएन। तर, हामी पूर्ण रूपमा प्रतिबद्ध थियौँ। नतिजाका लागि दौडिन तयार ऊर्जावान टिम हामीसँग थियो।

मिस नेपाल प्रतियोगितामा सहभागिताका लागि आह्वान गरियो। पत्रपत्रिकामा सूचना प्रकाशित गर्‍यौँ। तैपनि, धेरैलाई विश्वास भएन। फेसन सोको विरोध हुने सहरमा मिस नेपालमा भाग लिन कति आउलान्? त्यसैले पर्सन टू पर्सन प्रचारसमेत गरेका थियौँ। आफूले देखेका र चिनेका सम्भावना बोकेका युवतीलाई मिस नेपालमा फर्म भर्न प्रोत्साहित गरिरहेका थियौँ। व्यक्तिगत जनसम्पर्कबाट सहभागी हुन आउनेको सङ्ख्या पनि उल्लेख्य थियोे। पहिलो मिस नेपाल भएकाले पनि होला– एउटा उत्साह, कौतूहल थियो। समारोह भव्य बनाउन मिस नेपाल कार्यक्रमको नेपाल टेलिभिजनबाट लाइभ गर्ने तय गरियो।

प्रारम्भिक छनोटका लागि अडिसन लिइयो। अधिकांश सहभागी काठमाडौँकै थिए। पहिलो चरणमा छनोट हुने २० सहभागीमध्ये वीरगन्जकी रूबी राणा पनि थिइन्। उनी वीरगन्जकै एक विद्यालयकी शिक्षिका थिइन्। उनी विज्ञापन हेरेरै सहभागी हुन काठमाडौँ आएकी थिइन्।

मिस नेपाल सुरु गर्न थाले पनि हामी कुनै अन्तर्राष्ट्रिय स्तरका सुन्दरी प्रतियोगितासँग आबद्ध (फ्रेन्जाइज) थिएनौँ। पहिलो वर्षै हामी फिलिपिन्सको मिस एसिया प्यासेफिक क्वेस्टसँग आबद्ध भयौँ। सन् १९९४ देखि १९९७ सम्म हामी त्यसैसँग आबद्ध रह्यौँ। मिस नेपालहरू मिस एसिया प्यासेफिकमा प्रतिस्पर्धा हुन फिलिपिन्स जान्थे। सन् १९९७ मा मात्र मिस वर्ल्डसँग आबद्ध भएका हौँ।

काठमाडौँ जेसिजको रजत वर्षमा पहिलो मिस नेपाल भव्य रूपमा सफल भयो। कार्यक्रम प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको थियो। त्यो प्रतियोगितामा प्रथम मिस नेपालको ताज पहिरिने सौभाग्य वीरगन्जकी उनै रुबी राणालाई प्राप्त भएको थियो।उनमा विछट्टै राम्रो कन्फिडेन्स थियो। नेपाली भाषा प्रस्ट र आकर्षक थियो। उनले उपाधि जित्नुमा फाइनल चरणको स्टेज प्रस्तुतिलाई मुख्य आधार मानिएको थियो। अन्य प्रतिस्पर्धीको तुलनामा उनले धाराप्रवाह नेपाली भाषामा आफ्ना विचार राखेकी थिइन्।

आलोचना नआएका त होइनन्। तर, हामी नयाँकार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकामा औधि खुसी थियौँ। व्यवस्थापन राम्रो भएको थिएन। गेस्टहरू आउँदासम्म पनि कार्यक्रमस्थल सिँगारिँदै थियो। धेरै कमजोरीहरू थिए। तर, पहिलो प्रयास सफल भएको थियो। त्यो ठूलो सन्तोषको विषय थियो।

मिस नेपाल प्रतियोगितामा व्यवस्थापकीय धेरै कमजोरी रहेको हामीले महसुस गर्‍यौँ। ती कमजोरी हटाउन सक्दा कार्यक्रम अझ भव्य हुनसक्थ्यो भन्ने निष्कर्ष निकाल्यौँ।त्यसले हामीलाई इभेन्ट म्यानेजमेन्टमा ध्यान दिनुपर्ने पाठ सिकायो। पहिलो मिस नेपाल आयोजनामा खटिएकामध्ये १० साथीभाइ जुट्यौँ र इभेन्ट म्यानेजमेन्टको उद्देश्यसहित हिडन ट्रेजर कम्पनी खोल्यौँ। कम्पनीको तत्कालीन उद्देश्य काठमाडौँ जेसिजसँग मिलेर मिस नेपाललाई निरन्तरता दिने र दीर्घकालीन उद्देश्य इभेन्ट म्यानेजमेन्ट थियो। हिडन ट्रेजरमा केही वर्ष गिरेन्द्रमान राजवंशीले प्रबन्ध निर्देशकको काम गरे।

हिडन ट्रेजरको प्रभाव सन् १९९५ को मिस नेपालमा प्रस्टै देखियो। पहिलो वर्षको तुलनामा मिस नेपाल व्यवस्थापकीय रूपमा पनि भव्य बन्यो। अर्को वर्ष पनि मिस नेपाल राम्रो भयो। कार्यक्रम सफल हुँदै जाँदा काठमाडौँ जेसिजसँग विवादको स्थिति पनि आयो। जेसिजमा हरेक वर्ष नेतृत्व फेरिन्छ। नेतृत्वमा पुगेका केहीलाई के लागेछ भने मिस नेपाल त काठमाडौँ जेसिजको हो। हिडन ट्रेजर धेरै हाइलाइट भयो। सन् १९९७ मा काठमाडौँ जेसिजले आफैँले मिस नेपाल गर्ने घोषणा गर्‍यो।

अरूले गरेको काम सजिलो देखिन्छ। तर, हरेक काम चुनौतीपूर्ण र कठिन हुन्छन्। अप्ठेरा कामलाई पनि सहज बनाउन प्रतिबद्धता, लगन र मिहिनेत चाहिन्छ। जेसिजका मित्रहरूलाई मिस नेपाल पनि हेर्दा सजिलोजस्तो लाग्यो होला। त्यति सजिलो त पक्कै थिएन। स्पोन्सर खोज्नुपर्‍यो। कार्यक्रमको राम्रो व्यवस्थापन गर्नुपर्‍यो। सन् १९९७ मा हिडन ट्रेजर र काठमाडौँ जेसिजका छुट्टाछुट्टै प्रतियोगिता आयोजना गरिए। दुई जना मिस नेपाल भए। संयोग, त्यसै वर्ष हिडन ट्रेजर मिस वर्ल्डसँग आबद्ध हुनपुग्यो। मिस नेपाल झरना बज्राचार्यले पहिलोपल्ट मिस वर्ल्ड प्रतियोगितामा सहभागी हुने मौका पाइन्।

कुनै काममा सफल हुन रहर गरेर मात्र हुँदैन। सफलता हासिल गर्न सम्पूर्णरूपमा प्रतिबद्धताका साथ लाग्नुपर्छ। काठमाडौँ जेसिजमा अर्को वर्ष नयाँ नेतृत्व आयो। नयाँ नेतृत्वले हिडन ट्रेजरसँग भन्यो, ‘हामी एक्लै सकेनौँ। मिस नेपाल मिलेरै गरौँ।’

हामीलाई जेसिजसँग मिलेर काम गर्न कुनै कठिनाइथिएन। तर, बर्सेनि नेतृत्व फेरिने संस्थामा अर्को वर्ष फेरि लफडा होला भन्ने मात्र चिन्ता थियो। हामीले जेसिजसँगको सहकार्यमा निरन्तर १० वर्ष मिस नेपाल सञ्चालन गर्ने अनुमति दिन आग्रह गर्‍यौँ। त्यसका लागि केह सर्तहरू मान्न तयार थियौँ। जस्तैः मिस ट्यालेन्टको जजमा काठमाडौँ जेसिजका अध्यक्ष पदेन राख्ने सहमति भयो। साथै, कम्युनिटी सर्भिसका लागि हिडन ट्रेजरले केही फन्ड छुट्याउनुपर्ने भयो।

सो सम्झौतापछि हामीले निरन्तर १० वर्षकाठमाडौँ जेसिजसँग सहकार्य गर्‍यौँ। सन् २००७ देखि भने हिडन ट्रेजर एक्लैले मिस नेपाल प्रतियोगिता आयोजना गर्दैआएको छ। तर, काठमाडौँ जेसिज हामीसँगै छ। मिस ट्यालेन्ट जज कमिटीमा अहिले पनि जेसिजका अध्यक्ष रहन्छन्। कम्युनिटी सर्भिसका लागि हामीले फन्ड उपलब्ध गराउँछौँ। मिस नेपालको इतिहासमा त काठमाडौँ जेसिज छँदैछ।

मिस नेपाल सुरु गर्दा प्रायोजक पाउनै मुस्किल थियो। बिस्तारै धेरै प्रायोजक जुटाएर मिस नेपाल आयोजना गर्न थाल्यौँ। तर, अहिले मिस नेपाल एउटा ठूलो ब्रान्ड बनेको छ। अन्तर्राष्ट्रिय स्तरको इभेन्ट भएको छ। केही वर्षयता हामीलाई स्पोन्सरको पनि कुनै दुःख छैन। अब हामी एउटै प्रायोजकबाट प्रतियोगिता गर्नसक्ने अवस्थामा आइपुगेका छौँ। मिस नेपालले रजत वर्ष मनाइसक्दा यो एउटा परिपक्व प्रतियोगिता बनिसकेको छ।

मिस नेपालहरू नेपाल पर्यटन बोर्ड, राष्ट्रिय वाणिज्य बैंक, नागरिक उड्डयन प्राधिकरण, टाटा मोटर्स्, यामाहा स्कुटर, प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल, विश्व वन्यजन्तु कोषलगायत समाजका विभिन्न क्षेत्रका ब्रान्ड एम्बेस्डर भइसकेका छन्। मिस नेपालमा पनि विविधिता देख्न सकिन्छ। सबै क्षेत्र, जाति, समुदायका युवतीलाई सशक्तीकरण र व्यक्तित्व विकासको अवसर सिर्जना गर्ने एउटा दरिलो प्लेटफर्म बनेको छ। मधेसी, मुस्लिम, दलित, थारू, जनजाति समुदायबाट पनि मिस नेपाल प्रतियोगितामा सहभागी हुने सङ्ख्या बढ्दै गइरहेको छ।

काठमाडौँका मात्र धेरै सहभागी भए भन्ने आलोचना हामीले सुरुका वर्षदेखि सुन्दै आएका छौँ। सहभागीको विविधता बढाउन र देशका सबै क्षेत्रबाट भाग लिन सक्ने वातावरण सिर्जना गर्न विगत ६वर्षदेखि देशका विभिन्न आठ सहरमा पुगेर अडिसन लिने गरेका छौँ। पेसागत रूपमा पनि मिस नेपालका सहभागीबीच विविधता छ। डाक्टरदेखि पाइलट र इन्जिनियरसम्मले भाग लिइसकेका छन्।

बितेका दशकमा देशका विभिन्न सहरमा अरू पनि सुन्दरी प्रतियोगिता हुन थालेका छन्। विगतमा द्वन्द्वलगायत विभिन्न कारणले बिथोलिएका प्रतियोगिता पनि पुनः सञ्चालनमा आउन थालेका छन्। मिस कोशी, मिस वीरगन्ज, मिस पूर्वाञ्चल, मिस पोखरा, मिस बुटवल, मिस इटहरीलगायतका प्रतियोगिता त्यसका उदाहरण हुन्। झन्डै आधा दर्जन त मिस नेपालसँग आबद्ध पनि छन्। निश्चित मापदण्ड पूरा गरेका त्यस्ता प्रतियोगिताका उपाधि विजेतालाई सिधै मिस नेपालमा सहभागी गराउँदैआएको पनि छ।

सुन्दरी प्रतियोगिताका मान्यताहरू फेरिइरहेका छन्। नेपालमा सुरुका वर्षदेखि नै हामीले मौलिक पक्षलाई ध्यानमा राखेका छौँ। समाजले रूचाउँदैन भनेर हामीले बिकिनी राउन्ड राखेनौँ। विश्व सुन्दरी प्रतियोगितामा पनि सुन्दरताको उद्देश्यमाथि बहस हुँदैआएको छ। मिस वर्ल्डमा ब्युटी विथ पर्पोज टाइटललाई महत्त्व दिन थालिएको छ। त्यसलाई सुन्दरी प्रतियोगिताको मुटु नै मान्ने गरिन्छ। त्यसमा प्रतियोगीले आफूले गरेको सामाजिक सुन्दर काम झल्काउने पाँच मिनेटको भिडियो तयार पार्छन्। उनीहरूले गरेको कामका आधारमा यो टाइटल दिइन्छ। नेपाली सुन्दरीले तीन पटक सो टाइटल जितिसकेका छन्। सन् २०१३ मा इशानी श्रेष्ठले पहिलोपटक ब्युटी विथ पर्पोज जितेकी थिइन्। उनले जुम्लामा ओरल हेल्थ हाइजिनबारे गरेको काम उत्कृष्ट ठहरिएको थियो।

सन् २०१८ की मिस नेपाल शृङ्खला खतिवडाले मकवानपुरका चेपाङका लागि हेल्थपोस्ट बनाएकी थिइन्। त्यस्तै, २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठले पनि सो टाइटल जितेकी थिइन्। अन्तर्राष्ट्रिय स्तरमा टप पाँच सुन्दरी प्रतियोगिता चर्चामा छन्– मिस वर्ल्ड, मिस अर्थ, मिस युनिभर्स, मिस इन्टरनेसनल र मिस सुपरनेसनल। सन् २०११ मा न्युयोर्क मुख्यालय पुगेरै मैले मिस युनिभर्समा आबद्धताका लागि आग्रह गरेको थिएँ। त्यतिबेला त्यो प्रतियोगिता अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनीले सञ्चालन गर्दैआएको थियो। त्यतिबेला फ्रेन्चाइज लिन १५ हजार डलर मागियो। मैले नेपालमा सशस्त्र द्वन्द्वपछिको संक्रमणकालीन अवस्था रहेकाले अर्थतन्त्र कमजोर रहेकोभन्दै शुल्क घटाउन आग्रह गरेँ। उनीहरूले ७ हजार डलर तिर्नुपर्ने भनेका थिए। हामीले त्यो पनि हाम्रा लागि धेरै भयो भनेका थियौँ।

सन् २०१६ मा पत्राचार गर्दै हाम्रो स्थिति सुधार भएकोभन्दै फ्रेन्चाइज दिन आग्रह गर्‍यौँ। त्यतिबेला मिस युनिभर्सले नेपालका लागि अहिले कोटा नभएकोभन्दै कूटनीतिक जवाफ फर्काएको थियो। सन् २०१७ मा हामीले भर्खर मिस नेपाल सकेका थियौँ। लगत्तै, मिस युनिभर्सबाट आबद्धताका लागि सहमति जनाए। तर, हामीले प्रतियोगिता गरिसकेकाले अर्को वर्षदेखि सञ्चालन गर्ने पत्र पठायौँ।

सन् २०१७ देखि २०१९ सम्म झन्डै तीन वर्ष फ्रेन्जाइज हामीसँगै थियो। तर, दुई वर्षअघि एकाएक अर्कै टिमले सो प्रतियोगिता राख्यो। सन् २०१२ कि मिस नेपाल अर्थ नग्माश्रेष्ठले त्यसको नेतृत्व गरिरहेकी छन्। मिस नेपाल सुरु भएको यत्तिका वर्षपछि मिस युनिभर्सका लागि काठमाडौँमा पहिलो पटक बिकिनी राउन्ड राखियो। लाग्यो, समाज अब विकिनी राउन्ड पचाउने तहमा पुगिसकेछ।

०००
सन् १९६७ मा पढाइ सकेर कलकत्ताबाट फर्किनुअघि काठमाडौँमा मेरा धेरै साथी थिएनन्। सानैदेखि दिल्ली र कलकत्तामै बसेँ, उतै हुर्किएँ, पढेँलेखेँ। मैले धेरै आफन्तलाई नै चिन्दैनथेँ। बिदामा घर आउँदा पनि कोही भान्जा भन्थे, कोही दाइ–भाइको नाता लगाएर बोलाउँथे। तर, मैले कमैलाई मात्र चिन्थेँ।

होटल अन्नपूर्णमा काम गर्दा पनि काठमाडौँमा मेरा खासै साथीभाइ थिएनन्। बिस्तारै म सहरमा घुलमिल हुन थालेको थिएँ। साथीहरू थपिँदै गए। द राइजिङ नेपालमा काम गर्दा मेरो जनसम्पर्क बढ्यो। धेरै साथीहरू थपिए। मैले काठमाडौँमा आत्मीय साथी पाएको सन् १९७० मा काठमाडौँ जेसिजमा आबद्ध भएपछि मात्र हो।

त्यसबेला काठमाडौँ जेसिजमा नेवार साथीहरूको बाहुल्य थियो। बैठक र भेटघाटमा नेवारी नै बोले पनि हुनेगरी नेवार साथीहरू थिए। उनीहरूको सङ्गतले मैले पनि कामचलाउ नेवारी सिकेँ। समय यस्तो आयो, मेरा प्रायः साथी नेवार समुदायका भए। ९० प्रतिशतभन्दा धेरै साथीहरू नेवार समुदायकै भएकाले पनि हुनसक्छ, नेपाल भाषा, संस्कृति र सामाजिक मान्यताहरू मलाई मन पर्छ। यो समुदायसँग मेरो विशेष भावनात्मक सम्बन्ध बनेको छ।

संयोगवश, हिडन ट्रेजरका १० जना डाइरेक्टरमध्ये गैरनेवार समुदायको म मात्र हुँ। काठमाडौँ जेसिजले सन् १९९४ को रजत उत्सवको मौकामा मिस नेपाल कार्यक्रम संयोजन गर्नेमध्येकै १० जनाले हिडन ट्रेजर दर्ता गरेका थियौँ। यो कम्पनीमा सुरेश मल्ल, दिवाकरराज कर्णिकार, गोपाल कक्षपति, अजय स्थापित, गिरेन्द्रमान राजवंशी, प्रमोद कंसाकार, रूपेश प्रधान, क्रान्तिमान प्रधान, शरदकृष्ण श्रेष्ठ र म आबद्ध भयौँ।
यो एउटा खास उद्देश्यका लागि जुटेको टिम थियो। हामी युवा थियौँ, उद्देश्य प्राप्तिका लागि प्रतिबद्ध थियौँ। काठमाडौँ जेसिजले सुरुवात गरेको मिस नेपालको पहिलो संस्करणदेखि अहिलेसम्म त्यही एउटै टिम सक्रिय छ।

नेपालमा साझेदारी कम्पनीहरू खासै टिक्दैनन्। एउटा उत्साहका साथ खुल्छन्। तर, केही समयपछि नै मनमुटाव सुरु भइसक्छ। त्यस्ता थुप्रै उदाहरण छन्। त्यो देख्ने भोग्नेहरू धेरै भएकाले पनि राम्रो टिम वर्कको संस्कृति छैन भन्ने टिप्पणी हुने गर्छ। हिडन ट्रेजरले त्यो बुझाइलाई गलत साबित गरिदिएको छ। हामी निश्चित उद्देश्यका लागि एक ठाउँ छौँ र मिस नेपाल प्रतियोगिता अहिले स्थापित ब्रान्ड बन्नुमा हामीले टिमवर्कको फल मान्ने गरेका छौँ।

हिडन ट्रेजरका डाइरेक्टरहरू सबै आ–आफ्ना पेसा व्यवसायमा व्यस्त छन्। तर, मिस नेपाल आयोजना गर्न एकठाउँ हुन्छन्। १० जनामै यो ब्रान्डलाई अझ माथि लैजाने सपना छ। नेतृत्व गर्ने साथीहरूले कम्पनीलाई आ–आफ्नै ढंगले चलायौँ होला। सबैको गति र कार्यशैली एउटै नहुनसक्छ। तर, हिडन ट्रेजरलाई नयाँ उचाइमा पुर्‍याउने मूल उद्देश्यमा भने कसैले प्रश्न उठाउने ठाउँ दिएका छैनौँ।

सुरुका दिनमा अफिस कसरी चलाउने भन्ने थियो। हिडन ट्रेजरमा समय दिएर काम गर्ने डाइरेक्टर पाउन मुस्किल थियो। सबै आ–आफ्नै काममा व्यस्त थियौँ। कोही न कोहीले समय नदिए कम्पनीले गति लिन सक्दैनथ्यो। त्यसैले हामीले गिरेन्द्रमानजीलाई जिम्मेवारी दियौँ। मैले पनि सुरुका दिनदेखि नै समय दिएँ।

कम्पनी अघि बढाउन संरचना त चाहियो। त्यसैले डाइरेक्टर्स बोर्ड बनायौँ। कमलादीको गणेशस्थानपछाडि कार्यालय खोल्यौँ। सुरेश मल्ललाई पहिलो बोर्ड अध्यक्ष बनायौँ। प्रारम्भिक दिनमा मिस नेपाल प्रतियोगिता गर्नु अहिलेको जस्तो सहज थिएन। ब्रान्ड बनिसकेको थिएन। यसलाई मानिसहरू सामान्य फेसन सो जस्तै ठान्थे। प्रतियोगिता हुनु ६/७ महिनादेखि नै प्रायोजक खोज्न दौडिनुपथ्र्यो। स्रोत सुनिश्चित हुँदैनथ्यो। हामीले थुप्रैपटक ऋण काढेर प्रतियोगिता आयोजना गरेका छौँ। बोर्ड डाइरेक्टरहरूसँगै सरसापटी गरेर काम चलाएका छौँ।

बिस्तारै कम्पनी स्थापित हुँदै गयो। अनुभवबाट सिक्दै जाँदा कम्पनी र प्रतियोगिता दुवै व्यवस्थित हुन थाले। कम्पनीको कार्यालय कुपन्डोल सार्‍यौँ। बिस्तारै ऋण तिर्ने गरी प्रायोजक पनि भेटिन थाले। कम्पनी नाफामा जान थालेको त धेरै भएको छैन, भर्खर ५/६ वर्ष भयो। नत्र बाहिरबाट हेर्दाजस्तो हाम्रो स्थिति सहज थिएन। अहिले जे उचाइमा पुगेका छौँ, त्यसको पछाडि झन्डै तीन दशक लामो संघर्षको कथा छ।

आर्थिक वर्ष २०५२/०५३ मा कम्पनी दर्ता गरेर मिस नेपालको ट्रेडमार्क लिएदेखि अहिलेसम्म हामीले थुप्रै उतारचढाव ब्यहोरेका छौँ। कुनै पनि संस्थाले गति लिन टिमको कोही न कोहीले पूरा समय दिनुपर्ने रहेछ। छोटो समयमै हामीले त्यो बुझ्यौँ। समय दिने र लागिरहने बोर्ड अफ डाइरेक्टर कोही न कोही चाहिँदो रहेछ। कम्पनीलाई व्यवस्थित गर्न हामीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) राख्ने निर्णय गर्‍यौँ। त्यतिबेला गोपाल कक्षपति अध्यक्ष थिए। मिस नेपाल भइसकेकी स्वेता सिंह झन्डै तीन वर्ष हिडन ट्रेजरको सीईओ भइन्। पछि हामीले हिडन ट्रेजरकै डाइरेक्टरलाई सक्रिय बनाएर कम्पनी अघि बढाउने निधो गर्‍यौँ।

हिडन ट्रेजरको उद्देश्य मिस नेपाल आयोजना गर्ने मात्र थिएन र होइन पनि। हामीले इभेन्ट म्यानेजमेन्ट कम्पनीका रूपमा हिडन ट्रेजरलाई अघि बढाउन चाहेका हौँ। इभेन्ट म्यानेजमेन्टसँगै क्षमता अभिवृद्धिका थुप्रै तालिमसमेत हामीले दियौँ। व्यक्तित्व विकास सिकाउने एउटा संस्थाका रूपमा थुप्र्रै बैंकर्स र संस्थाका कर्मचारीका लागि कोर्सहरूसञ्चालन गर्‍यौँ। ती वर्कसप र प्रशिक्षणहरू पनि लोकप्रिय नै भए। तर, मिस नेपाल ब्रान्डका अघि ती ओझेलमा परे। स्थिति यस्तो बन्यो, हिडन ट्रेजरको पहिचान नै सुन्दरी प्रतियोगिता बन्न पुग्यो।

झट्ट हेर्दा धेरैले मिस नेपाल एक जनालाई मात्र ठान्ने गरेका छन्। तर, वास्तविकता त्यो होइन। सन् २०१६ यता हिडन ट्रेजरबाट बर्सेनि चार जना मिस नेपाल घोषणा हुन्छन् र उनीहरूले अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्छन्। मिस नेपाल युनिभर्स पनि हिडन ट्रेजरबाट नै छनोट हुँदा नेपालबाट पाँच जना अन्तर्राष्ट्रिय र्‍याम्पमा उत्रिन्थे।

सन् २०१६ अघिसम्म मिस नेपालको मान्यता र पुरस्कारमा भिन्नता थियो। प्रतियोगिताकी सर्वोत्कृष्ट सुन्दरीले मिस नेपालको ताज पहिरिन्थिन्। उनैले मिस वर्ल्डमा भाग लिन्थिन्। तर, अन्तर्राष्ट्रियस्तरका पाँच सुन्दरी प्रतियोगितामा हिडन ट्रेजर आबद्ध छ। ती र्‍याम्पका लागि मिस नेपाललाई सहभागी गराउँदैआएको छ। पहिले मिस नेपालको ताज एक जनाले पहिरिन्थिन्। अरू सुन्दरी फस्ट रनरअप, सेकेन्ड रनरअप बन्थे। तर, हिडन ट्रेजर एकपछि अर्को अन्तर्राष्ट्रियस्तरका सुन्दरी प्रतियोगितामा आबद्ध बन्दै गयो।

सन् १९९४ देखि १९९६ सम्म हिडन ट्रेजर एसिया प्यासेफिकमा मात्र आबद्ध थियो। फिलिपिन्सको त्यो कम्पनी फुटेरै केहीले मिस अर्थको सुरुवात गरेका हुन्। त्यसभन्दा पहिल्यै सन् १९९७ देखि नेपालबाट मिस वर्ल्डमा सहभागिता हुन थालेको हो। त्यसपछि सन् २०२३ मा मिस अर्थसँग आबद्ध भयो। सन् २०१६ मा मिस इन्टरनेसनलसँग आबद्ध भएको हिडन ट्रेजर सन् २०१७ मा मिस युनिभर्स र सन् २०१८ मा मिस सुपरनेसनलसँग जोडियो।

एउटा मात्र सुन्दरी छनोट गर्दा मिस वर्ल्डबाहेकका प्रतियोगितामा फस्ट रनरअप, सेकेन्ड रनरअप पठाउनुपर्ने भयो। त्यसैले सन् २०१६ देखि पाँच जना मिस नेपाल छनोट हुन थाले। पहिले मिस नेपाल वर्ल्डलाई कुर्सीमा राखेर ताज लगाइन्थ्यो। अरूलाई उभ्याएरै फस्ट र सेकेन्ड रनरअपको ताज लगाइन्थ्यो। पुरस्कार पनि भिन्न थियो। तर, पछिल्लो समय सबै सुन्दरीलाई समान हैसियत र पुरस्कार दिन थालिएको छ। आबद्धताको दृष्टिले पुरानो भएकाले मिस नेपाल वर्ल्ड सबैभन्दा अन्तिममा घोषणा हुन्छ। त्यसैले धेरैले अहिले पनि मिस नेपाल वर्ल्डलाई मात्र मिस नेपाल बुझ्ने गरेका छन्।

(सुवर्ण क्षेत्रीको संस्मरणात्मक पुस्तक सपना, विश्वास र अठोटको  एक अंश । यो पुस्तक क्रियटिभ बुक्सले प्रकाशित गरेको हो ।)  

प्रकाशित: १६ मंसिर २०८० ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 8 =