बालकुमारी घटनाका पीडित परिवारले भेटे प्रधानमन्त्री

हिमाल प्रेस १४ पुष २०८० २१:१३ | Saturday, December 30, 2023
बालकुमारी घटनाका पीडित परिवारले भेटे प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री दाहालले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले उक्त घटनालाई सरकारले गम्भीर रुपमा लिएको र प्रारम्भिक चरणमा दोषी देखिएकालाई निलम्बन गरिसकिएको पीडित पक्षलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनले मृतकका परिवारलाई सरकारका तर्फबाट राहतको व्यवस्था गरिएको, घाइतेको उपचारको प्रबन्ध मिलाइएको बताएका थिए।

‘छानबिनबाट सत्यतथ्य जे आउँछ, जो दोषी देखिन्छन् तिनलाई कारबाही हुन्छ, आगामी दिनमा यस्ता घटना हुँदैनन्’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने।

भेटमा पीडित परिवारजनले घटनाको सत्यतथ्य र निश्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। भेटमा पीडित परिवारका साथै अछाम र दैलेख जिल्लाका संघीय सांसद्को पनि सहभागी थिए।

बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा अछाम चौरपाटी गाउँपालिका-१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका-६ का सुजन राउतको मृत्यु भएको थियो। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारका तर्फबाट मृतकका परिवारलाई प्रतिपरिवार १० लाख राहत उपलब्ध गराउने बैठकले निर्णय गरेको छ।

सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाइसकेको छ। घटनामा गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको छ भने रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाका प्रमुख निलम्बित भएका छन्। -रासस

प्रकाशित: १४ पुष २०८० २१:१३ | Saturday, December 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast