‘एसिया प्रशान्त क्षेत्रका शिक्षकहरूको सेवासुविधा सन्तोषजनक छैन’

हिमाल प्रेस २६ मंसिर २०८० २१:१८ | Tuesday, December 12, 2023
‘एसिया प्रशान्त क्षेत्रका शिक्षकहरूको सेवासुविधा सन्तोषजनक छैन’

काठमाडौँ- एसिया प्रशान्त क्षेत्रमा गरिएको एउटा अध्ययनले यस क्षेत्रका शिक्षकको सेवासुविधा निराशाजनक रहेको निष्कर्ष निकालेको छ। ‘एजुकेसन इन्टरनेसनल, एसिया प्रशान्त क्षेत्र’ नामक संस्थाले गरेको अध्ययनले यस क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका शिक्षकको मानवअधिकार, श्रमिक अधिकार तथा सेवासुविधाको अवस्था निराशाजनक रहेको निष्कर्ष निकालेको हो। उक्त संस्थाले मंगलबार काठमाडौँमा प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा शिक्षण पेसामा रुचि घट्दै जान थालेको उल्लेख छ।

प्रतिवेदनमा कतिपय देशमा शिक्षकहरू हिंसात्मक निसानामा परेको, कतिपय मुलुकका प्राज्ञिक स्वतन्त्रता नभएको, श्रमिक अधिकारको निर्बाध रूपमा प्रयोग गर्न नपाएको, शिक्षाका नीति र कानुनमा शिक्षक संगठनहरूसँग परामर्श नगरिएकालगायतका समस्या रहेको उल्लेख छ।

एसिया प्यासिफिकका ३६ मध्ये २४ मुलुकका ३७ उत्तरदाताका जवाफलाई विश्लेषण गरिएको अध्ययनमा यस क्षेत्रका २९.७३ प्रतिशत सामुदायिक र १०.८१ प्रतिशत निजी विद्यालयका शिक्षकहरूलाई जवाफदेहीका रुपमा संलग्न गराइएको थियो।

एजुकेसन इन्टरनेसनलका एसिया प्रशान्त क्षेत्रका निर्देशक आनन्द सिंहले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको पेसागत क्षमता विकास र उनीहरुको नीति निर्माणमा सहभागिता हुनुपर्ने प्रतिवेदनले जोड दिएको बताएका छन्। अनुसन्धानकर्ता फ्र्यांक लियोड टियोङसनले यस क्षेत्रका शिक्षकका लागि रोजगारी ह्रासको चिन्ताको विषय बनेको बताए।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले नेपालका निजी विद्यालयले राजनीतिक र श्रमिक अधिकार नपाएको बताए। नेपाल शिक्षक संघका वरिष्ठ उपाध्यक्ष इलमबहादुर शाहीले शिक्षकहरुको क्षमतावृद्धिका लागि आफूहरुले स्थानीय तहसँगको सहकार्यमा काम गरिरहेको बताए।

प्रकाशित: २६ मंसिर २०८० २१:१८ | Tuesday, December 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast