लुम्बिनीमा फागुनमा शिखर सम्मेलन, नोबेल विजेतासहितका विज्ञहरू सहभागी हुने

विनोद परियार २४ कार्तिक २०८० १४:१८
66
SHARES
लुम्बिनीमा फागुनमा शिखर सम्मेलन, नोबेल विजेतासहितका विज्ञहरू सहभागी हुने

लुम्बिनी- लुम्बिनी प्रदेश सरकारको आयोजनामा आगामी फागुन २७, २८ र २९ गते बुद्धजन्मस्थल लुम्बिनीमा चौथो शिखर सम्मेलन हुने भएको छ। बालबालिका, विकास र शान्तिका लागि लौरियटस एन्ड लिडर्स चौथौ शिखर सम्मेलन आयोजना गर्न लागिएको हो।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अगुवाइमा सम्मेलनका लागि आवश्यक तयारी सुरु भएको छ। प्रदेश सरकारले सम्मेलन सम्पन्न गर्न कार्यविधि तयार पारेर कार्यक्रमबारे साझेदार निकायसँग छलफल थालेको छ।

बालबालिकाको हित, दिगो विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रवर्धन गर्न, बुद्धजन्मस्थल लुम्बिनीको शान्ति र करुणाको सन्देश विश्वभर फैलाउन एवम् अन्तर्राष्ट्रिय स्तरमा लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलको प्रवर्धनमा टेवा पुर्‍याउने उद्देश्यले सम्मेलन गर्न लागिएको लुम्बिनी सरकारले जनाएको छ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट र वार्षिक नीति तथा कार्यक्रममा सम्मेलनलाई समेटेको छ। नोबेल शान्ति पुरस्कार विजेताहरूसहित, बालबालिका र शान्तिका क्षेत्रका विज्ञ, सरोकारवाला, सरकारी र गैरसरकारी अधिकारी गरी तीन सयभन्दा बढी व्यक्ति सम्मेलनमा सहभागी हुनेछन्।

लुम्बिनीका गृहमन्त्री सन्तोषकुमार पाण्डेयको अध्यक्षतामा लुम्बिनी विकास कोष, प्रदेश सरकारका विभिन्न कार्यालय, पर्यटन व्यवसायीसँग सम्मेलनको तयारीका विषयमा छलफल भएको छ।

नोबेल शान्ति पुरस्कार प्राप्त गरेका व्यक्ति, विभिन्न राष्ट्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति हुने भएकाले सरकारका तर्फबाट प्रारम्भिक तयारी भइरहेको गृहमन्त्री पाण्डेयले बताए।

उनले लुम्बिनीमा हुने सम्मेलनले विश्वमा शान्ति, सदभाव र करुणाको सन्देश जाने र यसले विश्वव्यापी रूपमा बुद्धजन्मस्थल लुम्बिनीको प्रवद्र्धन हुने बताए। लुम्बिनी प्रदेश सरकारले विशेष महत्त्वका साथ लौरियटस एन्ड लिडर्स चौथौ शिखर सम्मेलनलाई लिएकाले सबै पक्षको साथ र सहयोगका लागि गृहमन्त्री पाण्डेयको आग्रह छ।

तीनदिने सम्मेलनका प्रारम्भिक तयारीका काम साउनबाटै सुरु भए पनि अब कार्यक्रमको स्वरूप तयार पारेर तयारीमा जुटेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव सुमन घिमिरेले बताए।

उनले लौरियट्स एन्ड लिडर अभियानअन्तर्गत अन्तर्राष्ट्रिय स्तरको चौथो शिखर सम्मेलन लुम्बिनीमा हुन गइरहेकाले यसको व्यवस्थापन चुस्त बनाउने गरी तयारीमा जुटेको बताए। उनका मुख्य रूपमा बालबालिकाको हित र अधिकारलाई केन्द्रमा राखेर सम्मेलन हुनेछ। उनले लुम्बिनीमा हुने भएकाले विश्वव्यापी रूपमा शान्तिको सन्देश फैलाउनमा समेत सम्मेलनले महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताए।

सम्मेलनका लागि कार्यक्रम स्थल छनोट, होटल बुकिङ, निमन्त्रणालगायतका तयारीका काम सुरु भएको प्रदेश सचिव घिमिरेले बताए। सम्मेलनलाई प्रभावकारी र सफलतापूर्वक सम्पन्न गर्नका लागि संघीय सरकार परराष्ट्रमन्त्रीको संयोजकत्वमा लुम्बिनीमा मुख्यमन्त्री सदस्य रहेको १३ सदस्यीय उच्चस्तरीय समन्वय समिति गठन गरिएको छ।

यस्तै मुख्यमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, प्रदेश अर्थमन्त्रीको संयोजकत्वमा स्रोत समन्वय तथा सहजीकरण समिति, गृहमन्त्रीको अध्यक्षतामा सुरक्षा समिति, पर्यटन विकास परिषद्का कार्यकारी निर्देशकको संयोजकत्वमा अतिथि सत्कार आवास समिति, पर्यटन डिभिजन कार्यालय रूपन्देहीका डिभिजन प्रमुखको संयोजकत्वमा यातायात व्यवस्थापन समिति, गृह मन्त्रालय सूचना तथा सञ्चार मन्त्रालयका उपसचिवको संयोजकत्वमा सञ्चार तथा प्रचारप्रसार समिति गठन गरिएको छ। लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हुने भएकाले यसलाई अवसरका रूपमा सरकारी र नीनि क्षेत्रले लिएका छन्।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले विश्वका शान्ति नोबेल पुरस्कार विजेताहरूलाई बुद्धजन्मस्थल लुम्बिनीमा ल्याउने भएकाले सम्मेलनलाई आफ्नै कार्यक्रमका रूपमा सहयोग गर्ने नीति लिएको बताए। उनले विश्वभरका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा लुम्बिनीमा हुने यो कार्यक्रमले बुद्धजन्मस्थल लुम्बिनीको विश्वमाझ प्रचार हुने बताए। प्रदेश सरकार आयोजक भए पनि यसमा लुम्बिनी विकास कोषले आफ्नै कार्यक्रमका रूपमा आवश्यक सहयोग र समन्वय गर्ने कोषाध्यक्ष भट्टराईले बताए।

निजी क्षेत्रका पर्यटन व्यवसायीले समेत बुद्धजन्मस्थलमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हुने कुराले उत्साही बनाएको बताएका छन्। लुम्बिनी होटल व्यवसायी संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले नोबेल शान्ति पुरस्कार विजेता, विभिन्न देशका उच्चस्तरीय व्यक्तिहरुको उपस्थिति हुने भएकाले यसले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरका पाहुनालाई अराख्न सक्ने गरी होटलका पूर्वाधार बनेकाले सम्मेलनमा सहभागीहरुलाई र कुनै कमी हुन नदिने बताए।

प्रदेश सरकारले तिहारपछि लुम्बिनीमा सचिवालय स्थापना गरेर सम्मेलनको तयारीका काम सुरु गर्ने पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी निर्देशक रामु जोशीले जानकारी दिए।

प्रकाशित: २४ कार्तिक २०८० १४:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =