त्रिपालबाहेक केही नपाएको भूकम्पपीडितको गुनासो

हिमाल प्रेस २४ कार्तिक २०८० १२:४४
16
SHARES
त्रिपालबाहेक केही नपाएको भूकम्पपीडितको गुनासो जाजरकोटको नलगाड- १ रिजा डाँडागाउँमा राहत लिनका लागि नाम लेखाउँदै भूकम्प पीडित। तस्बिर : रासस

सुर्खेत– भूकम्पबाट जाजरकोट भेरी नगरपालिका १ की ६३ वर्षीया डिलसरा वादीको घर पूर्ण रूपमा क्षति पुगेको छ। केही दिन खुला आकाशमुनि रात कटाएकी उनको परिवारले त्रिपाल त पाएको छ। त्यो पनि पर्याप्त छैन। जाडो बढ्न थालेकाले रात कटाउन निकै मुस्किल परेको उनी बताउँछिन्।

उनले भनिन्, ‘राहतको आसमा त्रिपालमुनि बसिरहेका छौँ। चिसो बढेकाले रात कटाउन निकै मुस्किल छ। अहिलेसम्म अन्य कुनै राहत सामग्री  पाएका छैनौँ।’ पालिकामा धेरै सामग्री आएको छ भन्ने सुनेपछि आफ्नो टोलमा केही नआएको उनको भनाइ छ। बेलाबेलामा गइरहने परकम्पले उनी त्रसित छन्।

भूकम्पले भत्काएको घरमा उनीसहित पूरै परिवार पुरिएको थियो। ‘मरिन्छ कि भन्ने लागेको थियो धन्न बाँचियो। स्थानीयवासीले राति नै उद्धार नगरेको भए मेरो सबै परिवार सकिने थियो। पुरिएको घरबाट निकाले अनि बाँच्न सफल भएँ’, उनले भनिन्।

उपचारका लागि सबै परिवारलाई नगर अस्पताल लगिएको थियो। अस्पतालमा दुई दिनसम्मको उपचार गरेपछि डिस्चार्ज भएका छन्। घर फर्किएका उनीहरूसँग खाद्यान्नलगायतका अन्य सामान छैनन्। सरकारले दिएको राहतका नाममा एउटा त्रिपालबाहेक केही छैन। त्यसैले आफूहरू समस्यामा परेको डिलसराको गुनासो छ।

भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती भने भूकम्पपीडितको राहत र पुनर्स्थापनाका लागि आफू दिनरात लागिपरिरहेको बताउँछन्। उनका अनुसार भरी नगरपालिको वडा नं. १,२,३,४ बढी क्षतिग्रस्त भएको छ। एक हजारभन्दा धेरै घर भत्किएको उनले बताए। भूकम्पपीडितलाई अति आवश्यक पर्ने राहत सामग्री पनि वितरण भइरहेको उनी बताउँछन्।

जाजरकोटमा नौ हजारभन्दा बढी घर भूकम्पका कारण पूर्ण रूपमा भत्किएका छन्। यस्तै २४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनको तथ्यांकअनुसार सात स्थानीय तहका नौ हजार ९७४ घर पूर्ण रूपमा भत्किएका छन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ। यस्तै कुल ३४ हजार ५०१ घरधुरीका एक लाख ७९ हजार ८९३ जनसंख्या भूकम्पबाट प्रभावित भएको प्रशासनले जनाएको छ। जसअनुसार नौ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंख्या विस्थापित भएका छन्।

जिल्लामा भूकम्पबाट ९९ जना घाइते हुँदा १०१ जनाको मृत्यु भएको छ। भौतिक क्षतिको तथ्यांक प्रारम्भिक द्रुत सर्वेक्षण प्रतिवेदनका आधारमा सार्वजनिक गरिएको प्रशासनको भनाइ छ।

उपप्रधानमन्त्री खड्का राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का बिहीबार भूकम्पपीडितका लागि सहायता सामग्री लिएर जाजरकोट पुगेका छन्।

भूकम्पपीडितले ओत लाग्नका लागि त्रिपाल पनि नपाएको गुनासो आइरहेका बेला उपप्रधानमन्त्री खड्का पीडितका लागि आवश्यक पालहरू लिएर जाजरकोट पुगेका हुन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत लगिएको करिब एक हजार छ सय त्रिपाल जाजरकोटको कुशे गाउँपालिकाका भूकम्पपीडितलाई प्रदान गरिनेछ।

यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पबाट पीडित भएका सर्वसाधारणलाई चिसो तथा हिमपातबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सहभागितामा भएको अन्तक्रियामा उनले यसअघि भूकम्पको समयमा गरिएका कामको सिकाइलाई जाजरकोटमा भएको क्षतिसँग जोडेर पुनःनिर्माणको कामलाई अभियानका रुपमा अगाडि बढाइने बताए।

पुनःनिर्माण अभियानमा सबै विकास साझेदार निकायको भूमिका महत्त्वपूर्ण हुने बताउँदै मन्त्री बस्नेतले तत्कालका लागि राहत व्यवस्थापन महत्त्वपूर्ण रहेको बताए। उनले भने, ‘राहत सामग्री बोक्नका लागि ठूलो हेलिकप्टर प्रयोग गर्न खोजिए पनि अवतरणमा समस्या भयो। ठूला ढुवानीका साधन पालिकाको केन्द्रसम्म पुग्नसक्ने अवस्था छैन।’

प्रकाशित: २४ कार्तिक २०८० १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =