भूकम्प प्रभावित क्षेत्रमा खटिए कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा

हिमाल प्रेस २२ कार्तिक २०८० ११:०९
84
SHARES
भूकम्प प्रभावित क्षेत्रमा खटिए कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीले भूकम्प क्षेत्रमा खटाएको छ। नेताद्वय पार्टीको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ का तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा बुधबार जान लागेका हुन्। पार्टीले उनीहरूलाई ‘७ बुँदे कार्य विषय’ दिएर भूकम्प प्रभावित क्षेत्रमा खटाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

राहत सामग्री वितरण व्यवस्थापनमा ध्यानाकर्षण र सहजीकरण गर्ने जिम्मेवारी महामन्त्रीद्वयलाई दिइएको छ। यसैगरी संघ, प्रदेश, स्थानीय सरकार, राजनीतिक दलहरू, विभिन्न संघसंस्था एवं सरकारी निकायहरूबीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय गर्न सुझाव र सहजीकरण गर्ने जिम्मेवारी उनीहरूले पाएका छन्। महामन्त्रीद्वयले उद्धार र राहतमा पुगेका बाह्य संघसंस्था र व्यक्तिहरुबाट प्रतिकुल असर परेको भए त्यस्तो स्थितिलाई व्यवस्थापन गर्न/गराउन सुझाव र सहजीकरण गर्ने/गराउनेछन्।

उद्धार र राहत क्रममा नेपाली कांग्रेस पार्टीको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेको/नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारितामा प्रेरित गर्ने तथा दीर्घकालीन रुपमा पुनर्स्थापनमा सम्पादन गर्नुपर्ने विषयको अध्ययन गर्ने जिम्मेवारी उनीहरूलाई दिइएकाे छ।

घाइतेको उपचारमा ध्यान केन्द्रित गर्ने स्वाभाविक र अनिवार्य दायित्व निर्वाह गरिरहँदा, भूकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्न पनि पार्टीले उनीहरूलाई निर्देशन दिएको छ। यस्तै महामन्त्रीद्वयले सुत्केरी, अपांगता भएका नागरिक, बालबालिका एवं वृद्धवृद्धालाई विशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय गर्नुपर्नेछ।

पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्रीलाई बुझाइएको लिखित धारणा कार्यान्वयनमा आइपर्ने समस्या र सरोकारवालाको सुझावका विषयमा जरुरी परामर्श र अध्ययन गर्ने जिम्मेवारी महामन्त्रीद्वयको छ। महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकताअनुरुप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्‍याउने कांग्रेसको विज्ञप्तिमा उल्लेख छ।

जाजरकोट भूकम्पपछि नेपाली कांग्रेसले उद्धार, राहत र पुनर्स्थापनका लागि ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ गठन गरेको छ। यसैगरी उद्धार कार्यमा स्थानीय पार्टीपंक्ति परिचालन गरिएको, सरकारको राहत कोषमा ५० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको कांग्रेसले जनाएको छ।

देशभरका आफ्ना सार्वजनिक कार्यक्रमरु स्थगन गरी विभिन्न जिल्लाबाट पार्टीका स्वयंसेवकहरु राहत लिएर प्रभावित क्षेत्रमा पुगेको कांग्रेसले जनाएकाे छ। साथै कांग्रेसले शुभेच्छुक संस्था ‘डीडीए’ को संयोजनमा चिकित्सक र औषधि प्रबन्ध गरेको छ भने भूकम्पपछिको राहत र पुनर्निर्माणबारे तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने अत्यावश्यक कार्यसहित प्रधानमन्त्रीलाई लिखित ध्यानाकर्षणपत्र बुझाएको छ।

राहत र पुनर्निर्माणमा प्रदेश र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका देऊ : कांग्रेस

प्रकाशित: २२ कार्तिक २०८० ११:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 19 =