जाजरकोट पुगेर रेडियोकर्मी बने रास्वपा अध्यक्ष लामिछाने

हिमाल प्रेस १८ कार्तिक २०८० २२:११
28
SHARES
जाजरकोट पुगेर रेडियोकर्मी बने रास्वपा अध्यक्ष लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने जाजरकोट पुगेर रेडियोकर्मी बनेका छन्। उनी जाजरकोट भूकम्पबारे सूचना, समन्वय र सहयोगका लागि रेडियोकर्मी बनेका हुन्।

लामिछाने रेडियोकर्मी, टेलिभिजनकर्मी हुँदै राजनीतिमा लागेका व्यक्तित्व हुन्। उनले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा पाइला एफएम ९६.१ मा कार्यक्रममा चलाउन थालेका छन्। लामिछानेले आफू धेरै दिनपछि विशेष परिस्थितिमा रेडियोमा फर्किएको बताए। हेलो रवि नाम दिइएको उक्त कार्यक्रम केही दिनसम्म सञ्चालन हुने उनको भनाइ छ। उक्त रेडियो जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा सुनिन्छ।

शनिबार पहिलो दिन लामिछानेले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग भूकम्पमा भएको क्षति, उद्धार र राहतका विषयमा कुराकानी गरेका छन्।

उनले समस्यामा परेका भूकम्प प्रभावितसँग पनि टेलिफोनमा कुराकानी गर्ने बताए।  केन्द्र सरकार, प्रदेश सरकार र सरोकारवालासँग भूकम्प पीडितको समस्या पुर्‍याउन रेडियो कार्यक्रम रोजेको उनको भनाइ छ। सभापति लामिछानेले भने, ‘म पार्टी सभापति, पूर्वउपप्रधानमन्त्री र प्रतिनिधिसभा सदस्यका रूपमा नभएर पूर्व रेडियोकर्मीका रूपमा कार्यक्रम चलाउन आएको हाे। यसलाई अन्यथा नलिनुहोला। राजनीतिक लाभ लिन खोज्यो भनेर नभनिदिनुहोला।’ उनले आफूले रेडियो कार्यक्रमलाई हेल्प सेन्टरका रूपमा लिन भूकम्प प्रभावितहरूसँग अनुरोध गरेका छन्।

उनले आफ्नो उद्देश्य राजनीतिक विषयमा कुरा गर्नु नरहेको बताए। उनले भनेका छन्, ‘डा. मुकुल ढकाल, डा. तोसिमा कार्की लगायतको चिकित्सकको टोली उपचारमा संलग्न हुनुहुन्छ। मैले विगतमा गरेको, जानेको र अहिले आवश्यक, एउटा महत्त्वपूर्ण काम भनेको आवाजविहीनको आवाज, आम जनताका पिर, मर्का र समस्याहरू सरोकारवालाहरूसम्म पुर्‍याउने हो।’

प्रकाशित: १८ कार्तिक २०८० २२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =