बौद्ध शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन

हिमाल प्रेस १४ मंसिर २०८० २०:३१
6
SHARES
बौद्ध शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन

लुम्बिनी- लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बौद्ध शिक्षाको महत्त्व नेपालमा मात्रै नभएर विश्वभर भएको बताएका छन्। लुम्बिनी बौद्ध विश्व विद्यालयले स्थापनाको १९ औँ वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले यस्तो बताएका हुन्।

बुद्ध धर्ममा आस्था मात्रै नभएर यो एउटा दर्शन र सिद्धान्तसमेत भएको बताए। एउटा राजाको सन्तानको रूपमा जन्मिएका बुद्धले मानव कल्याण र विश्वको कल्याणका लागि गरेको गृह त्याग साँच्चिकै मानवले अनुशरण गर्नुपर्ने उनले बताए। विश्व शान्तिका लागि विश्वको जीव र जगतको भलो हुने गरी विकास गर्न जरुरी रहेको उनले बताए।

विश्वमा २/३ महिनामा मात्रै हजारौंले ज्यान गुमाउनु परेको बताउँदै उनले युद्धको बाटो सही नभएको जिकिर गरे। यस्तै उनले अबको शिक्षा दर्शनसँगै प्रतिफलमा आधारित शिक्षा रहेको बताउँदै प्राविधिक ज्ञान, सीप र धारणाको विकास गर्नुपर्ने धारणा राखे।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले विश्वविद्यालयको शैक्षिक विकासमा प्रदेश सरकारले काम गरिरहेको बताए। उनले प्रदेशका दुई लाख युवालाई रोजगार बनाउन प्रदेश सरकारले चार  अर्ब बजेट विनियोजन गरेको भन्दै त्यसका लागि सबै नियकाले सहकार्यमा काम गर्नुपर्ने बताए।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नका लागि उच्च शिक्षामा गुणस्तरववृद्धि आवश्यक रहेको बताए। बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गरी विदेशी विद्यार्थीलाई आकर्षण गर्ने गरी योजना अघि बढाइएको बताए।

विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले सातै प्रदेशमा अनुसन्धान केन्द्र निर्माण गरी विश्वविद्यालयलाई अनुसन्धानमै केन्द्रित बनाउने योजनाअनुरूप काम भइरहेको बताए। वार्षिकोत्सवकै अवसरमा विश्वविद्यालयले बिहीबार बिहान स्वास्थ्य शिविर आयोजना गरेको थियो। शिविरमा करिब ३ सय जनाले सेवा लिएका छन्।

प्रकाशित: १४ मंसिर २०८० २०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + fourteen =