केही सहकारीको बेइमानीका कारण यो क्षेत्र नै बदनाम हुने अवस्था छ : प्रदेश प्रमुख शेरचन

हिमाल प्रेस २२ पुष २०७९ १९:१३
14
SHARES
केही सहकारीको बेइमानीका कारण यो क्षेत्र नै बदनाम हुने अवस्था छ : प्रदेश प्रमुख शेरचन फाइल तस्बिर।

बुटवल– लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सहकारीलाई उत्पादनमुखी बनाउनसकेमात्र वास्तविक प्रतिफल देशले पाउन सक्ने बताएका छन्।

शुक्रबार सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौँले बुटवलमा आयोजना गरेको ‘सुशासनको प्रवर्द्धनमा सहकारी संस्थाको सञ्चालन र व्यवस्थापन’ विषयक दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हु्न्। सहकारीले उत्पादनमा ध्यान दिएर ऋणको कारोबार बैंकबाट गर्नुपर्ने उनको भनाइ छ।

‘केही सहकारीको बेइमानी र गैरजिम्मेवारीका कारण बचतकर्ताको पैसा हिनामिना भयो भन्ने प्रचार-प्रसार भएको छ, यसले सहकारी क्षेत्रकै बदनाम हुनसक्ने अवस्था छ। बैंकबाट धेरै हिनामिना हुँदा पनि त्यसको प्रचार-प्रसार भएको छैन, सहकारीमा धेरैजनाको पैसा भएकाले बढी प्रचार-प्रसार भएको हो, गलत काम गर्ने सहकारीलाई कानुनी कारबाही गरेर सहकारीलाई मूल्य, मान्यताका आधारमा अघि बढाउनुपर्छ,’ प्रदेश प्रमुख शेरचनले भने।

सहकारीका माध्यमबाट अर्थतन्त्रको जग बलियो बनाउन स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने भएकाले त्यसअनुसार काम गर्न प्रदेशअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई उनले निर्देशन दिए।

प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र सुवेदीले नियामक निकायले उजुरी आएपछिमात्र नभई सधैं सक्रिय हुनुपर्ने बताए। सहकारीलाई सबै सदस्यको हित हुने गरी उत्पादनमा जोड्नुपर्ने उनको भनाइ छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बिहीबार ३ सहकारीका बचतकर्ता बचत फिर्ता पाउन नसकेको भनी गुनासो दर्ता गराउन आएको कार्यक्रममा सुनाए। सहकारीप्रति जनविश्वास गुमेर असहज अवस्था आउन नदिन सबै मिलेर काम गर्न उनले आग्रह गरे।

प्रकाशित: २२ पुष २०७९ १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =