सहकारी अपचलनमा १९ जना दोषी ठहर

हिमाल प्रेस २७ पुष २०८० १२:१५
24
SHARES
सहकारी अपचलनमा १९ जना दोषी ठहर बाँके जिल्ला अदालत

बाँके- बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम सजाय र जरिवाना तोकेको छ। कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन्।

अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले बिहीबार १९ जनालाई एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी हेमन्त भट्टराईले बताए।

उनका अनुसार अदालतले साबिकको मुलुकी ऐन ठगीको महलका साथै मुलुकी अपराधसंहिता २०७४ बमोजिम अभियुक्तबाट बिगो भराउने, जरिवाना गर्ने र कैद सजाय गर्ने आदेश गरेको छ।

अदालतले सहकारीको रकम हिनामिनामा संलग्न मुख्य अभियुक्त कर्जा फाँटका प्रमुख अरुण पाठकबाट २४ करोड ९१ लाख रुपैयाँ बिगो भराई पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने आदेश दिएको छ।

सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारीबाट चार करोड ४८ लाख नौ सय ५९ बिगो भराउन, ५० हजार जरिवाना र पाँच वर्ष कैद सजाय तोकिएको सूचना अधिकारी भट्टराईले जानकारी दिए।

सहकारीको व्यवस्थापकीय भूमिकामा रहेका कर्मचारी गंगाधर सुवेदीबाट दुई करोड ८३ लाख ७३ हजार दुई सय ९५ बिगो भराउन, ५० हजार जरिवाना र पाँच वर्ष कैद सजाय गर्ने अदालतले आदेश गरेको छ।

लिला भन्ने लिलाप्रसाद वलीबाट ८९ लाख २९ हजार सात सय २५ बिगो भराउन ५० हजार रुपैयाँ जरिवाना र पाँच वर्ष कैद सजाय तोकिएको छ।

सहकारीका कर्मचारी किरण श्रेष्ठबाट ८६ लाख ३५ हजार चार सय ५४ बिगो, ५० हजार जरिवाना गर्न र पाँच वर्ष कैद सजाय गरेको छ।

गौरवकुमार श्रेष्ठबाट १ लाख २९ हजार चार सय ९१ बिगो भराउन ४० हजार जरिवाना गर्न र ४ वर्ष कैद सजाय गर्न आदेश दिएको अदालतका सूचना अधिकारी भट्टराईले बताए।

त्यसैगरी सहकारीका कर्मचारी सुरतराम खटिकबाट ९८ लाख ४८ हजार दुई सय ७४ बिगो भराउन ५० हजार जरिवाना गर्न र पाँच वर्ष कैद, बलराम यादवबाट ५३ लाख ६९ हजार छ सय ५२ बिगो ५० हजार जरिवाना र पाँच वर्ष कैद सजाय गर्न आदेश दिएको छ।

सहकारीका खजुरा शाखाका प्रमुख सूर्यबहादुर बिकबाट ३३ लाख ६० हजार छ सय ८१ बिगो, ५० हजार जरिवाना र पाँच वर्ष कैद सजाय गर्न आदेश दिएको छ।

सहकारीको लेखा समितिमा कार्यरत स्थिरमणि बज्राचार्य, सन्दीप शर्मा र लिला शाहलाई एक वर्ष कैद र पाँच हजार जरिवाना, तुषार शाह र ओमप्रकाश चौधरीलाई दुई वर्ष कैद र पाँच हजार जरिवाना गर्ने अदालतले आदेश गरेको छ।

सहकारी संस्थाका पूर्वअध्यक्षहरू सिद्धिकुमार महर्जनलाई दुई वर्ष छ महिना कैद, पाँचहजार जरिवाना, अम्बरबहादुर खड्का र हरदेवबक्स चौधरीलाई पाँच/पाँच वर्ष कैद र ५०/५० हजार जरिवाना गर्ने आदेश दिएको अदालतलका सूचना अधिकारी भट्टराईले जानकारी दिए।

त्यसैगरी, सहकारीका उपाध्यक्ष रवीन्द्र थापालाई तीन वर्ष कैद र पाँच हजार जरिवाना गरिएको छ। सहकारीकी कर्मचारी शारदाकुमारी थापा मगरलाई एक वर्ष कैद र पाँच हजार जरिवानाको आदेश भएको छ।

पीडित संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाले अदालतको आदेशले पीडितलाई केही खुसी तुल्याएको बताए। उनले भने,‘अब अदालतले तोकेको जरिवाना र बिगो रकम तिर्न आएमा सहमति हुनसक्छ।’

सहकारीको रकम अपचलन मुद्दामा बाँके जिल्ला अदालतले स्वागतयोग्य आदेशले पीडितले न्यायको महसुस गरेको जाहेरवालाका तर्फबाट पैरवी गरेका नेपालगन्जका वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ताले बताए।

बाँकेको बहुचर्चित यो सहकारी घोटालामा ४१ जनालाई प्रतिवादी बनाइएको थियो। ४३ करोड घोटालामा अन्यले सफाइ पाएका छन्। सातजना अहिले पनि कारागारमा छन्। अरू धरौटीमा छुटेका थिए।

११ हजार ८ सय चारजना निक्षेपकर्ता रहेको सहकारी ठूलो रकम हिनामिना भएपछि निक्षेपकर्ताले २०७६ असोजमा मुद्दा दायर गरेका थिए। त्यसयता पीडित निरन्तर सडकमा रहेका छन्। सहकारीमा ठगिएका एक दर्जन पीडितको यो बीचमा मृत्यु भइसकेको छ। रासस

प्रकाशित: २७ पुष २०८० १२:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =