कोरोनाबाट मृत्यु भएकी चालिसेको छोरालाई स्वास्थ्यमन्त्रीले पढाउने

हिमाल प्रेस ११ मंसिर २०८० ११:५७
4
SHARES
कोरोनाबाट मृत्यु भएकी चालिसेको छोरालाई स्वास्थ्यमन्त्रीले पढाउने

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमल्सिना चालिसेको छोरालाई निःशुल्क पढाउने भएका छन्।

कोरोना महामारीबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रवीसे नगरपालिका वडा नं ९ राम्चेकी सुत्केरी महिला चालिसेको छोरालाई मन्त्री बस्नेतले निजी खर्चमा पढाउन लागेका हुन्।

विस २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल ९ दिनका मात्र थिए। अहिले तीन वर्ष नाघेसँगै मन्त्री बस्नेतले आज काठमाडौँको टोखा नगरपालिका वडा नं ९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरेका छन्।

उनले चालिसेको छोरा सफलको पठनपाठनको खर्चस्वरूप आज ६० हजार रुपैयाँ विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरे। रकम हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाई खर्च आफूले बेहोर्ने बताए।

‘कोरोनाका कारण सावित्रिको दुःखद निधन भएपछि मैले घोषणा गरेको थियाँ, उनको ९ दिनको बच्चा सफलको पढाईमा लाग्ने सम्पूर्ण खर्च म आफै व्यहोर्छु, अहिले उनको भर्ना गर्न पाउँदा म ज्यादै खुशी छु, कक्षा १२ सम्म पढाएर जागिरको व्यवस्थासमेत मैले गर्नेछु,’ मन्त्री बस्नेतले भने।

मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 2 =