सहरमा आज : तेस्रो हप्तामा ‘दिमाग खराब’, ‘गाउँ फर्किरहेको परदेशी’को विमोचन

सुस्मिता बजगाईं ९ मंसिर २०८० ७:१४
26
SHARES
सहरमा आज : तेस्रो हप्तामा ‘दिमाग खराब’, ‘गाउँ फर्किरहेको परदेशी’को विमोचन

काठमाडौँ- आज शनिबार, बिदाको दिन।  फुसर्दमा हुनुहुन्छ भने पुस्तक प्रदर्शनी मेला तथा विमोचन कार्यक्रममा उपस्थिति जनाउन सक्नुहुन्छ। त्यस्तै हलमा प्रदर्शनरत फिल्म हेरेर पनि बिदाको सदुपयोग गर्न सक्नुहुनेछ। उपत्यकामा केकस्ता मनोरञ्जन गतिविधिहरु भइरहेका छन् त?

भृकुटीमण्डपमा पुस्तक प्रदर्शनी

मंसिर ५ गतेदेखि भृकुटीमण्डपमा दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी जारी छ। प्रदर्शनीको आज अन्तिम दिन हो। प्रदर्शनीमा दक्षिण एसियाली क्षेत्रका राष्ट्रसहित चीन, अमेरिकालगायत १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकहरू सहभागी छन्।

प्रदर्शनी नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरले आयोजनामा गरेको हो।

मण्डलामा ‘गाउँ फर्किरहेको परदेशी’

थापागाउँस्थित मण्डला नाटकघरमा सयपत्री थुलुङको कविता संग्रह ‘गाउँ फर्किरहेको परदेशी’ विमोचन हुँदैछ। बिहान साढे ११ बजे सुरु हुने कार्यक्रममा वक्ताहरू श्रवण मुकारुङ, ज्योति जंगल, उत्तम गुरुङ रहनेछन्।

पुस्तकमा प्रवासबाट देश फर्किरहँदाको हर्षित अनुभव र अनुभूतिहरू समेटिएको छ। कार्यक्रम सम्भव समूहले आयोजना गरेको हो।

हलमा ‘दिमाग खराब’ र ‘टाइगर ३’को प्रतिस्पर्धा

दिमाग खराब

कात्तिक २४ देखि फिल्म ‘दिमाग खराब’ प्रदर्शन भइरहेको छ। जनता र शक्तिको कथामा बनेको फिल्मका निर्देशक निश्चल बस्नेत हुन्।

फिल्ममा कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, रमा थपलिया, दयाहाङ राई, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, नविन खड्कालगायतको अभिनय छ।

मनोज पण्डित स्क्रिप्ट डाइरेक्टर रहेको फिल्ममा आकाश बरालले पटकथा लेखेका छन्। फिल्मका निर्माता रौनक विक्रम कँडेल हुन्। आज उपत्यकामा क्यूएफएक्स अन्तर्गत सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर र दरबार सिनेम्याक्समा फिल्मको शो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, एफक्यूब सिनेमाज, क्यूज सिनेमाज, बीएसआर मुभिज, सीडीसी सिनेमाजमा फिल्म ‘दिमाग खराब’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, सीके सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘दिमाग खराब’ चलिरहेको अन्य हल हुन्।

टाइगर ३

बलिउड फिल्म ‘टाइगर ३’ कात्तिक २६ देखि प्रदर्शन भइरहेको छ। थ्रिलर एक्सन र एडभेन्चर जनरामा बनेको फिल्मका निर्देशक मनिष शर्मा हुन्। आदित्य चोपडाले निर्माण गरेको फिल्ममा सलमान खान, कट्रिना कैफ, इमरान हासमीलगायत कलाकारको अभिनय छ। फिल्म सन् २०१२ मा प्रदर्शन भएको ‘एक था टाइगर’ र सन् २०१७ को ‘टाइगर जिन्दा है’ को तेस्रो सिक्वेल हो।

आज उपत्यकामा क्यूएफएक्स सिनेमा अन्तर्गत सिभिल मल, लबिम मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर र दरबार सिनेम्याक्समा फिल्मको शो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, बिग मुभिज, क्युज सिनेमाज, बीएसआर मुभिज, सीडीसी सिनेमाज, सीके सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा बलिउड फिल्म ‘टाइगर ३ प्रदर्शन भइरहेको छ।

‘पशुपति प्रसाद २ः भष्मे डन’

कात्तिक ४ गतेदेखि फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ प्रदर्शन भइरहेको छ। यो फिल्म ‘पशुपति प्रसाद’को पात्र ‘भष्मे डन’ (विपिन कार्की) को कथामा केन्द्रित छ। पशुपति प्रसादको मृत्युपछि भष्मे डन कुन रूपमा अघि बढ्छ भन्ने फिल्मको कथावस्तु हो।

फिल्ममा अन्य कलाकार सौगात मल्ल, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, सजन थापा मगर, प्रकाश दाहाल, माओत्से गुरुङ, लोकेन्द्र लेखक, विशाल पहारी, घनश्याम जोशीलगायत कलाकारको अभिनय छ। शनिबार वान सिनेमाजअन्तर्गत आइप्लेक्स मलमा फिल्मको एक शो छ।

बासेन्जी

असोज २६ देखि फिल्म ‘बासेन्जी’ प्रदर्शन भइरहेको छ। यो नेपालमा पहिलोपटक भिडियो गेम शैलीमा बनेको फिल्म हो। यसको निर्देशन अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टले गरेका हुन्। फिल्ममा मिथिला शर्मा, सरिता गिरी, असीम निरौला, सुप्रिम राई, मोक्ष अधिकारी, अंकित खड्का, प्रवेश उप्रेती, प्रतिक दुलाल, सुदीपा पाठक, निरु खड्कालगायत कलाकारको अभिनय छ। फिल्म गौरीशंकर इन्टरटेनमेन्टले निर्माण गरेको हो। उपत्यकामा शनिबार रञ्जना सिनेप्लेक्समा यो फिल्म प्रदर्शन भइरहेको छ।

द हंगर गेम्सः द बालाड अफ सङ्बड्र्स एण्ड स्नेक्स

मंसिर १ गतेदेखि नेपाली हलहरूमा हलिउड फिल्म ‘द हंगर गेम्सः द बलाड अफ सङ्बड्र्स एण्ड स्नेक्स’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक फ्रान्सिस लरेन्स हुन्। एडभेन्चर र ड्रामा जनरामा बनेको फिल्मको कथावस्तु सुजैन कलिन्स लिखित सन् २०२० को उपन्यास ‘द बालाड अफ सङ्बड्र्स एण्ड स्नेक्स’मा आधारित छ।

यो फिल्म सन् २०१२ मा प्रदर्शन भएको ‘हंगर गेम्स’को प्रिक्वेल हो भने ‘हंगर गेम्स’ श्रृंखलाको फिल्म हो। फिल्ममा टम ब्लिथ, रेचेल जेगलर, हन्टर स्याफरलगायत कलाकारको अभिनय छ। आज उपत्यकामा क्यूएफएक्स अन्तर्गत दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल र छाया सेन्टरमा फिल्मको शो छ।

प्रकाशित: ९ मंसिर २०८० ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =