नेपाल प्रहरीको ७ एसपीका लागि १२ डीएसपी प्रतिस्पर्धामा

हिमाल प्रेस ४ मंसिर २०८० १६:३१
38.8k
SHARES
नेपाल प्रहरीको ७ एसपीका लागि १२ डीएसपी प्रतिस्पर्धामा

काठमाडौँ- नेपाल प्रहरीमा ७ प्रहरी उपरीक्षक (एसपी) पद रिक्त छ। गत शुक्रबार पाँच एसपी बढुवा भएर (प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भएसँगै रिक्त पद संख्या ७ पुगेको हो। यतिबेला प्रहरी प्रधान कार्यालय रिक्त एसपी पद पूर्तिको तयारीमा लागेको छ। ७ एसपी बन्नका लागि एक दर्जन प्रहरी नायब उपरीक्षक (डीएसपी) बीच प्रतिस्पर्धा चलेको छ।

बढुवाका लागि मापदण्ड पनि बनाइएको छ। तर, प्रहरीमा बढुवाका लागि कहिले काहीँ मापदण्डभन्दा बढी राजनीतिक चलखेलले पनि काम गर्ने गरेको विगत छ। नियमावलीअनुसार कार्यदक्षता, कार्यसम्पादन, यसअघिको बढुवा, भर्ना वरीयता, नेतृत्व क्षमता, कार्य अनुभवलगायतका मापदण्डअनुसार बढुवा हुनुपर्ने हो। गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि अहिले यो मापदण्ड नपछ्याएको आरोप पनि लागेको छ। एसपीबाट एसएसपी बढुवा निकाल्दा उनीमाथि यस्तो आरोप लागेको हो।

वरीयताअनुसार प्रदीप क्षेत्री, अंगुर जीसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे (क)सहित १२ जना डीएसपीहरू एसपी बन्न प्रतिस्पर्धामा छन्।

वरियतामा क्षेत्री, जीसी, खतिवडा, ढकाल, ओलिया, रञ्जितकार, भट्ट अघिल्लो सात नम्बरमा छन्। तर केही अधिकारीले अहिले वरीयतामा पछाडि रहे पनि बढुवाका लागि चलखेल गरिरहेको बताएका छन्। ‘प्रहरीको बढुवा मापदण्ड बनेको छ तर गृहमन्त्रीको ‘प्रेसर’ले गर्दा आईजीपीले पनि आँखा चिम्लिने प्रथा अझै निमिट्यान्न भइसकेको छैन। एसएसपी बढुवामा पनि यो प्रष्ट भइसकेको छ’ बढुवाप्रति सन्तुष्ट नरहेका प्रहरीका एक उच्च अधिकारीले भने।

प्रकाशित: ४ मंसिर २०८० १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 16 =