सिग्देल रथीमा बढुवा सिफारिस, १० महिनापछि बन्लान् त सेनाका कमाण्डर?

हिमाल प्रेस ८ मंसिर २०८० २०:३३ | Friday, November 24, 2023
सिग्देल रथीमा बढुवा सिफारिस, १० महिनापछि बन्लान् त सेनाका कमाण्डर?

काठमाडौँ- जंगी अड्डाले नेपाली सेनाका वरिष्ठ उपरथी अशोक सिग्देललाई रथीमा बढुवा सिफारिस गर्दै सातदिने सूचना जारी गरेको छ।

सैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार रथी सीताराम खड्काको अध्यक्षतामा गठित बढुवा समितिको बैठकले सिग्देललाई रिक्त रथी पदमा बढुवाका लागि सिफारिस गर्दै सूचना जारी गरेको हो।

समितिले उपरथी सिग्देलको बढुवा सिफारिस गरेसँगै उनी केही दिनमा रथी हुनेछन्। अहिले हुने रथीलाई भावि प्रधानसेनापतिको रूपमा लिइएको छ। उनले १० महिनापछि नेपाली सेनाको कमाण्ड सम्हाल्न पर्ने हुन्छ। बलाधिकृत रथी सरोजप्रताप राणाले अवकाश पाएपछि उनको स्थानमा वरिष्ठ उपरथी सिग्देललाई बढुवा सिफारिस गरिएको हो।

जंगी अड्डामा बसेको बढुवा समितिको बैठकले रथीमा बढुवाका लागि सिफारिस गर्दै सातदिने सूचना जारी गरेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। सेनामा रथीको दरबन्दी कात्तिक ११ देखि रिक्त छ।

प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वमा आएपछि सेनामा पहिलोपटक रथीको दरबन्दी रिक्त भएको हो। यसअघि सिफारिस भएका ताराध्वज पाण्डे जन्म मिति विवादमा परेपछि राजीनामा दिएका थिए। उनको राजीनामा मन्त्रिपरिषद्को बैठकले बिहीबार स्वीकृत गरेपछि सिग्देललाई उक्त स्थानमा बढुवा गर्ने प्रक्रिया सुरु भएको हो।

सिग्देलविरुद्ध कुनै उजुरी भएमा सात दिनभित्र दिन सूचना जारी गरिएको पनि जनाइएको छ। यस अवधिमा उजुरी परेर सिफारिस बदर नभए सिग्देल १० महिनापछि प्रधानसेनापति बन्न सक्नेछन्। नेपाली सेनामा वरिष्ठताको आधारमा नै प्रधानसेनापति बन्ने हुनाले उनी नै मुख्य दाबेदार हुनेछन्।

किनकि आगामी पुस ३ गतेबाट अर्को रथी पद पनि खाली हुँदैछ। त्यो स्थानमा आउने व्यक्ति उनी भन्दा कनिष्ठ हुनेछन्। हालका एक मात्र रथी सीताराम खड्का उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। त्यसको १५ दिनअघि अनिवार्य बिदामा बस्नुपर्छ। त्यसैले यही मंसिर १८ गतेभित्र पदपूर्ति हुने गरी नै सूचना प्रकाशित गरिएको सैन्य स्रोतले बतायो।

प्रधानसेनापति शर्मा २०८१ भदौ २४ गते कार्यकाल पूरा गरेर अवकाश हुने हुनाले त्यसको एक महिना अघि बिदा बस्ने र भावी प्रधानसेनापतिलाई कमाण्ड दिने चलन छ। सिग्देल भ्याली पृतना प्रमुख भएर चलाएका व्यक्ति हुन् भने उनी नेपाली सेनामा सामान्य दाग समेत नलागेको व्यक्तिको रूपमा चिनिन्छन्। उनी अध्ययनशील, अध्यात्मिक र शालीन सैन्य अधिकारीको छवि बनाएका व्यक्ति हुन्।

प्रकाशित: ८ मंसिर २०८० २०:३३ | Friday, November 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast