भारतसँग हारेपछि इंग्ल्यान्डका प्रशिक्षकले भने : ड्रेसिङ रुम विभाजित भएको दाबी सत्य होइन

हिमाल प्रेस १३ कार्तिक २०८० ७:४६
10
SHARES
भारतसँग हारेपछि इंग्ल्यान्डका प्रशिक्षकले भने : ड्रेसिङ रुम विभाजित भएको दाबी सत्य होइन

काठमाडौँ- विश्वकप क्रिकेटमा लगातार चौथो पराजय भोगेको इंग्ल्यान्डका प्रशिक्षक म्याथ्यु मोटले आफ्नो टिम एकबद्ध रहेको र ‘ड्रेसिङ रुम’ मा कुनै समस्या नरहेको बताएका छन्।

इंग्ल्यान्डका पूर्वकप्तान इयोन मोर्गानले हालै टिम विभाजित रहेको दाबी गरेपछि मोटको यस्तो प्रतिक्रिया आएको हो। ‘खेलकुदको इतिहासमा मैले यस्तो खराब खेल्ने टिम सायदै देखेको छु। इंग्ल्यान्डले यत्तिको खराब खेल्नुको कारण छ। कारण भनेको टिमभित्रको विभाजन हो,’ सन् २०१९ मा इंग्ल्यान्डलाई विश्वकप जिताएका मोर्गानले भनेका थिए।

चार वर्षअघि च्याम्पियन बनेको इंग्ल्यान्ड भारतमा जारी विश्वकपको अंकतालिकाको पुछारमा छ। हालसम्म एक खेल जितेको इंग्ल्यान्ड आइतबार पाँचौँ पटक पराजित भयो। इंग्ल्यान्ड घरेलु टिम भारतसँग एक सय रनले हारेको हो।

मोर्गानको दाबीलाई मोटले खारेज गरिदिएका छन्। उनले आफ्ना सबै खेलाडी एक रहेको र टिममा कुनै किसिमको समस्या नरहेको जिकिर गरेका हुन्। ‘हामी सही नतिजा निकाल्न सकिरहेका छैनौँ, यो सत्य हो। तर टिममा कुनै समस्या छैन। क्याम्पमा हामी जति जना छौँ, हामी सबै यो कुरामा सहमत छौँ,’ प्रशिक्षक मोटले भने।

मोर्गान वा अन्य जोकोहीलाई पनि आआफ्नो विचार राख्न छुट रहेको पनि मोटको भनाइ थियो। ‘हालै उनको बच्चा जन्मिएको छ। यसकारण केही सातायता उनी क्रिकेटबाट टाढा छन्। फेरि उनी हामी बसेको होटलमा पनि छैनन्, ताकि यहाँ के भइरहेको छ उनले थाहा पाऊन्। जे होस् म यो विषयमा उनीसँग कुरा गर्नेछु,’ मोटले भनेका छन्।

भारतीय भूमिमा फेरि एकपल्ट इंग्लिस ब्याटिङ चलेन

इंग्लिस बलरहरूले भारतलाई २२९ रनमा सीमित गरेका थिए। तर खराब ब्याटिङका कारण इंग्ल्यान्ड १२९ रनमा अलआउट भयो। इंग्लिस इनिङ्स तहसनहस पार्न भारतका मोहम्मद सामी र जसप्रित बुमराहको बलिङ पर्याप्त भयो।

इंग्ल्यान्डका बेन स्टोक्स र जो रुट जस्ता भरपर्दा ब्याटर शून्यमा आउट हुन पुगे। लखनऊमा यी दुईलाई रन बनाउन नदिने क्रमशः बुमराह र सामी थिए। ओपनरद्वय जोनी बेरस्टो र डाविड मालानले पहिलो विकेटका लागि मात्र ३० रनको साझेदारी गर्नसके। बेरस्टो १४ रन बनाएर सामीको बलमा पभेलियन फर्किएका थिए। मालानको विकेट बुमराहले लिए।

न्युजिल्यान्डमाथिको जितमा पाँच विकेट हात पारेका सामीको नाममा यसपालि चार विकेट रह्यो। उनले २२ रन खर्चिए। बुमराहले भने ३२ रन दिएर तीन विकेट लिए। त्यसैगरी कुलदीप यादवले कप्तान जोस बट्लर (१०) र लियाम लिभिङस्टोन (२७) को विकेट लिए। लिभिङस्टोनले बनाएको २७ रन इंग्ल्यान्डका लागि सबैभन्दा बढी व्यक्तिगत स्कोर रह्यो।

इंग्ल्यान्डको ब्याटिङ पहिलो पटक धरमराएको होइन। पछिल्लो खेलमा श्रीलंकाको सामना गरेको इंग्ल्यान्डले १५६ रन मात्र बनाउन सकेको थियो। सेमिफाइनल सम्भावना न्यून भएको इंग्ल्यान्डले अब बाँकी तीन खेलमा भने ब्याटिङ सुधार्ने मोटको आशा छ।

‘यो परिस्थिति कठिन छ। अब मैले पनि के भन्ने? सधैँ एउटै कुरा भइरहेको छ। एउटै विषयमा जवाफ दिँदा दिँदा म पनि वाक्क भइसकेँ,’ मोटले भने, ‘तर खेलमा यस्तै हो। आउँदा खेलमा हामी सुध्रिनैपर्छ। हामीसँग राम्रो ब्याटिङ गर्ने क्षमता छ। हामीसँग केही यस्ता ब्याटर छन् जोसँग भनेजति रन बनाउने क्षमता छ। तर दुर्भाग्यवश रन बनिरहेको छैन।’

हालको अंक समीकरणले इंग्ल्यान्डलाई सेमिफाइनलमा पुर्‍याउन त गाह्रो छँदैछ, च्याम्पियन्स ट्रफीमा छनोट गराउन पनि सजिलो छैन। विश्वकपका शीर्ष सात टिम मात्र पाकिस्तानमा सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा छानिनेछन्।

‘खासमा मलाई पनि यसबारे थाहा थिएन। फेरि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् पनि नियम फेरिरहन्छ। हामीले अहिले गतिलो खेलेको पनि छैन। यसकारण च्याम्पियन्स ट्रफीबारे सोच्नु बेकार हो,’ मोटले निराशा पोखे।

प्रकाशित: १३ कार्तिक २०८० ७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =