जबाफविहीन इंग्ल्यान्ड

हिमाल प्रेस २० कार्तिक २०८० १४:५५
10
SHARES
जबाफविहीन इंग्ल्यान्ड

काठमाडौँ-  यसपालिको क्रिकेट विश्वकपबाट चाँडै बाहिरिएपछि इंग्ल्यान्डमाथि निकै प्रश्न उठेका छन्। तर जबाफ कम छन्। शनिबार परिचित प्रतिद्वन्द्वी अस्ट्रेलियासँग ३३ रनले हारेपछि गत संस्करणको विजेता इंग्ल्यान्डको बहिर्गमन पक्का भएको हो। भारतीय सहर अहमदाबादमा अस्ट्रेलियासँग पराजित भएसँगै समूह चरणमा इंग्ल्यान्डको हार संख्या ६ पुग्यो।

लगातार पाँच खेल हारेपछि इंग्ल्यान्ड अंकतालिकाको पुछारमा छ। इंग्ल्यान्डले हालसम्म एक खेल मात्र जितेको छ। जबकि टेस्ट नखेल्ने नेदरल्यान्ड्स दुई खेलमा विजयी भएको छ। भारतीय भूमिमा इंग्ल्यान्डको प्रदर्शन किन यत्तिको खराब? धेरैले दिने जबाफ यही हो, ब्याटिङ चल्न नसकेर। कतिसम्म भने इंग्ल्यान्डले पछिल्लो खेलमा २८७ रनको लक्ष्य पनि भेट्न सकेन। सामान्यतया इंग्ल्यान्ड जत्तिको टिमको उपल्लो क्रमले नै यति रन बनाउन सक्नुपर्ने हो।

यसपल्टको विश्वकपमा इंग्ल्यान्डका ब्याट्सम्यानले जम्मा एक शतक मात्र प्रहार गर्न सकेका छन्। डाविड मालानले बंगलादेशविरुद्ध शतक हिर्काएका थिए। अस्ट्रेलियासँगको खेलमा उनले अर्धशतक बनाए। तर अर्का स्टार ब्याट्सम्यान जोनी बेरस्टो भने शून्यमा आउट भए। आशा गरिएका ब्याट्सम्यान नचल्नु इंग्ल्यान्डका लागि दुर्भाग्य साबित भएको छ। तर इंग्ल्यान्डको समस्या यतिमै सीमित छैन।

सन् २०१९ को च्याम्पियन इंग्ल्यान्डले सुरुवाती दुई खेलमा न्युजिल्यान्ड र अफगानिस्तानसँग पराजय भोगेको थियो। यी दुई खेलमा इंग्ल्यान्डले अलराउन्ड बाहुल्य टिम मैदान उतारेको थियो। तर लगातारको पराजयपछि इंग्ल्यान्डले रणनीति परिवर्तन गर्‍यो।

रणनीति परिवर्तन भएपछि इंग्ल्यान्डका ब्याट्सम्यान रनभुल्लमा परेका थिए। आक्रामक ब्याटिङ गर्ने रणनीति भए पनि उनीहरुले चाहिए जति रन बटुल्न सकेनन्। जबकि यही रणनीतिले इंग्ल्यान्डलाई यसअघि विश्वकप जिताएको थियो। त्यसबेला कप्तान थिए, इयोन मोर्गान।

अब बहस फेरि एकपल्ट ह्वाइट बल कप्तान जोस बट्लर र प्रशिक्षक म्याथ्यु मोटमाथि केन्द्रित हुनेछ। के यी दुवै जिम्मेवारीमुक्त हुनेछन्? तर यी दुवै निर्णय लिन सजिलो छैन। किनभने ट्वान्टी२० विश्वकप आउनै लागेको छ। छोटो ढाँचाको यो विश्वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ। फेरि कप्तान र प्रशिक्षक परिवर्तनले टिम पुनःनिर्माणमा पनि असर गर्नेछ। यसो किन भनिएको हो भने हालको टिममा जम्मा चार खेलाडी मात्र ३० वर्ष कटेका छन्।

बिर्सन नमिल्ने अर्को तथ्य, इंग्ल्यान्ड तथा वेल्स क्रिकेट संघ (ईसीबी) ले केही समयअघि मात्र खेलाडीसँगको नयाँ सम्झौता सूची निकालेको छ। जसमा विश्वकप खेलिरहेका बहुमत खेलाडीलाई नयाँ करार दिइएको छ। यी खेलाडीसँग यसपल्ट बहुवर्षीय सम्झौता गरिएको छ।

ईसीबीले मार्क उडलाई पनि करार दिएको छ। यी ३३ वर्षीय बलर विश्वकपमा महँगो साबित भएका छन्। तीन वर्षको सम्झौता पाएका उनले भारतमा जारी विश्वकपमा मात्र ५ विकेट लिन सकेका छन्।

इंग्ल्यान्डका पूर्वकप्तान माइकल भन खेलाडीलाई बहुवर्षीय करार दिने निर्णयमाथि प्रश्न उठाउँछन्। खासमा किन इंग्ल्यान्डले आफ्ना खेलाडीसँग बहुवर्षीय सम्झौता गरेको हो? राष्ट्रिय टिमसँग महँगो सम्झौता गरे खेलाडीहरूले फ्रेन्चाइज लिगलाई प्राथमिकतामा राख्दैनन् भन्ने आशासहित।

‘खेलाडीलाई फ्रेन्चाइज लिगमा जान दिनुपर्छ। त्यहाँ बहुवर्षीय अनि महँगा सम्झौता गर्न दिनुपर्छ। फ्रेन्चाइज लिगतर्फ आकर्षित हुनेबित्तिकै उनीहरू राष्ट्रिय टिमबाट खेल्न लालयीत हुँदैनन् भने होइन। फेरि एउटा खेलाडी राष्ट्रिय टिममा आउन नखोजे, उसको स्थनामा अर्को खेलाडी ल्याउन सकिन्छ,’ भन भन्छन्।

के पनि भनिँदैछ भने इंग्ल्यान्डको क्रिकेटलाई ‘द हन्ड्रेड लिग’ ले नकारात्मक असर गरेको छ। अनि यो लिगका कारण इंग्ल्यान्डमा ५० ओभरका खेलाडीको उत्पादनमा पनि असर पुगेको छ। त्यसमाथि पहिलेभन्दा थोरै एक दिवसीय खेल खेल्ने इंग्ल्यान्डको निर्णयले पनि फाइदा गरेको छैन। विश्वकप २०२३ अघि इंग्ल्यान्डले केवल ४२ एकदिवसीय खेलेको थियो। जबकि विश्वकप २०१९ अघि इंग्ल्यान्डले ८८ एकदिवसीयमा प्रतिस्पर्धा गरेको थियो।

इंग्ल्यान्डले विश्वकपमा आउनुअघि जति एकदिवसीय खेल्यो, ती धेरैजसो खेल आफूभन्दा कमजोर टिमविरुद्ध थिए। बलिया टिमसँग खेल्दा पनि इंग्ल्यान्डले पहिलो रोजाइको टिम उतार्न सकेको होइन। किनभने इंग्ल्यान्डका धेरैजसो खेलाडी फ्रेन्चाइज लिगमा व्यस्त भए। यस्तोमा इंग्ल्यान्डले सोचेको यही थियो, जेजे भए पनि भारतमा हामी राम्रो खेल्नसक्छौँ।

घर फर्कनुअघि इंग्ल्यान्डले अब दुई खेल्न बाँकी छ। यी खेलमा ब्याट्सम्यान ह्यारी ब्रुकलाई अवसर दिने सम्भावना बलियो छ। बलियो सम्भावना यो पनि छ कि इंग्ल्यान्ड शीर्ष आठमा अट्दैन। यसो भए इंग्ल्यान्डले सन् २०२५ को च्याम्पियन्स ट्रफी गुमाउनेछ।

शीर्ष आठमा रही च्यानम्पियन्स ट्रफीका लागि छनिन इंग्ल्यान्डले अबका दुई खेलमा पाकिस्तान र नेदरल्यान्ड्सलाई पराजित गर्नैपर्छ। नत्र इंग्ल्यान्ड आफ्नो इतिहासमा पहिलो पटक आईसीसीको प्रतियोगिता खेल्नबाट वञ्चित हुनेछ।

इंग्ल्यान्डलाई च्याम्पियन्स ट्रफीका लागि छनोट गराउनु नै हालका निर्देशक रब कीको तत्कालको चुनौती हो। उनी यो पदमा रहेको १८ महिना भयो। यस बीचमा उनले जेजति प्रशंसा बटुलेका छन्, त्यसको कारण टेस्टमा प्राप्त सफलता हो।

यहीबीच इंग्ल्यान्डका प्रभावशाली ब्याट्सम्यान बट्लरले आफूहरूले समर्थकलाई निराश तुल्याएको अभिव्यक्ति दिएका छन्। ‘हामी आफैँले आफैँलाई निराश बनाएका हाैँ। हाम्रो प्रदर्शनका कारण समर्थक निराश छन्। हामीलाई हरेका अप्ठ्यारामा साथ दिएका ती समर्थकलाई यो विश्वकपमा खुसी हुने मौका नदिनु हाम्रो कमजोरी हो,’ बट्लरले भनेका छन्।

प्रकाशित: २० कार्तिक २०८० १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 11 =