इजरायलबाट थप एक शव ल्याइयो, पाँचवटा शव ल्याउन बाँकी, एकजना अझै बेपत्ता

हिमाल प्रेस ९ कार्तिक २०८० १०:०६
2
SHARE
इजरायलबाट थप एक शव ल्याइयो, पाँचवटा शव ल्याउन बाँकी, एकजना अझै बेपत्ता इजरायलमा हमास समूहको आक्रमणमा परी मारिएका नेपालीको शव त्रिभुवन विमानस्थलमा। फाइल तस्बिर

काठमाडौँ– इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव बिहीबार नेपाल ल्याइएको छ।

नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए। उनका अनुसार फ्लाई दुबईको विमानमार्फत बिहान ७ बजे शव ल्याइएको हो।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको छ भने पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डीएनए संकलन गरी पठाइएको छ।

हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ-३ का आशिष चौधरीको शव ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा दस नेपाली विद्यार्थीको मृत्यु भएको थियो। सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् उनीहरु इजरायल गएका थिए।

उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही-६ का आनन्द साह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, डोटी लामीखाल-८ का पदम थापा र सल्यान सारदा-३ का प्रवेश भण्डारी रहेका छन्। सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कविहीन रहेका छन्। केही समय अघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो। रासस

प्रकाशित: ९ कार्तिक २०८० १०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =