इजरायलमा आक्रमणप्रति विश्व समुदाय

समर्थक को, कसले गर्‍यो निन्दा?

हिमाल प्रेस २१ असोज २०८० १६:३१
56
SHARES
समर्थक को, कसले गर्‍यो निन्दा?

काठमाडौँ- विद्रोही समूह हमासले इजरायलमा रकेट हमला गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गाजा सहरबाट निरन्तर आक्रमण भइरहेको छ। प्यालेस्टिनी समूह हमासले आक्रमणको जिम्मेवारी लिएको छ।

हमासका सैन्य शाखाका नेता मोहम्मद डेफले इजरायलविरुद्ध ‘अप्रेसन अल–अक्सा स्टोर्म’ सुरु भएको बताएका छन्। अक्टोबर ७ मा आफ्ना लडाकुले पाँच हजारभन्दा बढी रकेट हमला गरेको दाबी उनको छ।

गाजा सहरबाट स्थानीय समयअनुसार शनिबार बिहान करिब साढे ६ बजेदेखि आक्रमण सुरु भएको हो। आक्रमणमा तीन सयभन्दा बढी इजरायलीले ज्यान गुमाएका छन्।

इजरायलस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्विटरमा जानकारी सेयर गरेअनुसार १८ सयभन्दा बढी घाइते भएका छन्। एक सय इजरायली नागरिक र सैनिक अपहरणमा परेका छन्।

सन् २००७ मा हमास सत्तामा आएपछि इजरायलले गाजामा प्रतिबन्ध लगाउँदै आएको छ। त्यसयता प्यालेस्टिनी लडाकु र इजरायलबीच पटकपटक युद्ध भएका छन्। इजरायलले सेप्टेम्बरमा गाजाका कामदारमाथि दुई साताका लागि सीमा बन्द गरेको थियो। त्यसपछि तनाव बढ्दै जाँदा आक्रमणको अवस्थामा पुगेको हो।

इजरायलमाथि भएको आक्रमणको कसैले निन्दा त कुनै देशले समर्थन गरिरहेका छन्। अमेरिकाले आक्रमणको कडा निन्दा गरेको छ। अमेरिकाले भनेको छ, ‘अमेरिका इजरायली नागरिकमाथि भएको आक्रमणको कडा निन्दा गर्दछ।’

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सोलिबनले इजरायली अधिकारीहरूसँग सम्पर्क गरिरहेको ह्वाइट हाउसले जनाएको छ। ‘हामी इजरायल सरकार र जनताको पक्षमा छौँ। यस आक्रमणमा परी ज्यान गुमाउने इजरायलीप्रति संवेदना प्रकट गछौैँ,’ ह्वाइट हाउसले भनेको छ।

इरानले चाहिँ हमासको समर्थन गरेको छ। इरानका सर्वोच्च धार्मिक नेता अयातोल्लाह अली खमेनेईका एक वरिष्ठ सल्लाहकारले आक्रमणलाई ‘गौरवशाली अप्रेसन’ भनेका छन्।

साउदी अरबको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुवै पक्षबीचको तनावलाई तुरुन्तै रोक्नुपर्नेमा जोड दिएको छ। ‘इजरायली नागरिकको रक्षा र स्वनियन्त्रणका लागि आग्रह गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

युरोपिय संघले इजरायलमाथि हमासले गरेको आक्रमणको कडा आलोचना गरेको छ। विभत्स आक्रमणविरुद्ध इजरायललाई आत्मरक्षाको पूरा अधिकार रहेको संघको भनाइ छ।

जर्मन चान्सलर ओलाफ सोल्सले पनि हमासको आक्रमणको निन्दा गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज इजरायलबाट अचम्मको खबर आएको छ। गाजाबाट रकेट हमला र बढिरहेका हिंस्रक घटनाले हामीलाई विचलित बनाएको छ। जर्मनी हमासद्वारा गरिएको आक्रमणको निन्दा गर्दछ। हामी इजरायलका पक्षमा छौँ।’

भारतले पनि इजरायलको समर्थन गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, ‘यो अप्ठ्यारो समयमा भारत इजरायलसँग काँधमा काँध मिलाएर उभिएको छ।’

रुसले प्यालेस्टिनी लडाकु र इजरायल दुवै पक्षलाई अन्तर्राष्ट्रिय समुदायको मद्दतले हिंसा खारेज गर्न र संघर्ष विराम लगाउने अपिल गरेको छ। रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोवाले भनेकी छन्, ‘दीर्घकालीन शान्तिका लागि आवश्यक सम्झौताको प्रक्रिया अगाडि बढाउन हिंसामा विराम लगाउनुपर्छ। त्यसका लागि दुवै पक्षले अन्तर्राष्ट्रिय समुदायको सहयोग लिनुपर्छ।’

२४ फेब्रुअरी २०२२ यता रुसी आक्रमण झेलिरहेको युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले इजरायलको आत्मरक्षाको अधिकार रहेको बताएका छन्। ‘आतंक सधैँ एक अपराध हो,’ उनले भनेका छन्, ‘यसले एउटा देश वा पीडित विशेषलाई मात्र नभई सम्पूर्ण मानवतालाई असर गर्छ।’

फ्रान्सका राष्ट्रपति इमानुअल माक्रोँले आफू र आफ्नो देश इजरायलको पक्षमा रहेको बताएका छन्। ‘फ्रान्स इजरायल र पीडितको पक्षमा रहेको छ,’ उनले भनेका छन्, ‘हामी आतंकवादलाई अस्वीकार गर्छौँ। इजरायलको सुरक्षाका लागि वचनबद्ध छौँ।’

संयुक्त राष्ट्रसंघले दुवै पक्षलाई युद्धविरामको आग्रह गरेको छ। ‘आक्रमणले इजरायली नागरिकमाथि भयानक असर पार्नेछ। आमनागरिकमाथि हिंसा हुनु हुँदैन। तुरुन्दै हिंसा बन्द गर्ने माग गर्छौँ।’

-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित: २१ असोज २०८० १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 6 =