आईसीसी क्रिकेट विश्वकप

पूरा भएन अफगानिस्तानको ‘जायन्ट किलर’ बन्ने चाहना

हिमाल प्रेस २ कार्तिक २०८० ८:२८
12
SHARES
पूरा भएन अफगानिस्तानको ‘जायन्ट किलर’ बन्ने चाहना

काठमाडौँ- भारतमा जारी क्रिकेट विश्वकपमा इंग्ल्यान्डलाई हराएपछि उत्साहित बनेको अफगानिस्तानलाई न्युजिल्यान्डले बुधबार राति १४९ रनले पराजित गरेको छ। एकपटक फेरि बलियो टिमलाई स्तब्ध बनाएर जायन्ट किलर बन्न चाहेको अफगानिस्तानका लागि न्युजिल्यान्डसँगको खेल कठिन परीक्षा बन्यो।

चेन्नाईको एमए चिदाम्बरम् रंगशालामा न्युजिल्यान्डका तीन ब्याट्सम्यानले अर्धशतक प्रहार गरे। अफगानी खेलाडीले पटकपटक क्याच छाडेको फाइदा उठाएको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा २८८ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङ गरेको अफगानिस्तान भने ३४.४ ओभरमा १३९ रनमा सीमित भयो।

‘मलाई लाग्छ हामीले आफ्नो स्तरको प्रदर्शन गर्‍यौँ। यो टिममा सबैले मेहनत गरिरहेका छन्। वातावरण यस्तो बनेको छ कि एकले अर्कोलाई साथ दिन्छन्,’ विजयी टिमका लागि ७१ रन बनाएका ग्लेन फिलिप्पसले भने।

पछिल्ला दुई विश्वकपमा उपविजेता बनेको न्युजिल्यान्ड यसपालि पनि दाबेदार हो। लगातार चार खेल जितेपछि न्युजिल्यान्डको दाबेदारी थप बलियो बनेको छ। अफगानिस्तानबाहेक इंग्ल्यान्ड, नेदरल्यान्ड्स र बंगलादेशलाई पराजित गरेको न्युजिल्यान्ड अब सेमिफाइनल नजिक पुगेको छ। १० टिम सम्मिलित विश्वकपको अंक तालिकामा न्युजिल्यान्ड हाल शीर्षस्थानमा छ।

अफगानिस्तानलाई लक्ष्य भेट्नबाट रोक्न अनुभवी लोकी फर्गुसन र स्पिनर मिचेल सान्टनेरले तीन-तीन विकेट लिए। त्यसैगरी सिमर ट्रेन्ट बौल्टको नाममा दुई विकेट रह्यो।

चार खेलमध्ये एकमा जित हात पारेको अफगानिस्तानका कप्तान हस्मतुल्लाह साहिदीले न्युजिल्यान्डसँगको हारले निराश बनेको प्रतिक्रिया दिए। ‘हामीले निकै पटक क्याच छाड्यौँ। यो स्तरको खेलमा त्यसरी क्याच छाड्नु हुँदैन। क्याच छाडेकै कारण न्युजिल्यान्डबाट दण्डित भयौँ,’ साहिदीले भने।

यसपालि अफगानिस्तानका ओपनर रहमानुल्लाह गुर्बाजको ब्याटिङ चलेन। इंग्ल्यान्डविरुद्ध ८० रन बनाएका उनी बुधबारको खेलमा ११ रनमा समेटिए। उनलाई माट् हेनरीले आउट गरेका थिए।

अर्का ओपनर इब्रहिम जार्दान ९१४० ट्रेन्ट बौल्टको सिकार बने। त्यसैगरी ट्रेन्ट बौल्टकै बलमा अज्मतुल्लह ओमरजाई २७ रन बनाएर बाहिरिए। रचिन रविन्द्रले रहमत शाहको विकेट लिए। उनले बनाएको रन पराजित टिमका तर्फबाट बनेको सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो।

सान्टनेरले यही खेलबाट एक सय विकेट पूरा गरे। उनका लागि यो ९८ औँ एकदिवसीय खेल थियो। उनले मोहम्मद नाबीलाई सात रन बनाएको स्थितिमा पभेलियन फर्काए। सान्टनरले मार्क चापमनसँग मिलेर अविजित ३३ रनको साझेदारी गरेका थिए।

त्यसअघि फिलिप्सले ८० बलमा ७१ रन जोडे। अर्का अर्धशतकधारी टोम लाथमले ६८ रन बनाए। ओपनर विल योङको नाममा ५४ रन रह्यो। ११०-४ को अवस्थामा रहेको न्युजिल्यान्ड योङको ब्याटिङका कारण उकासिएको थियो।

थोरै रन बन्ने बन्ने भनिएको चेन्नाईको पिचमा चापमने १२ रनमा २५ रन जोडे। यस क्रममा उनले दुई चौका र एक छक्का प्रहार गरे। न्युजिल्यान्डले अन्तिम पाँच ओभरमा ६२ रन जोडेको थियो।

अफगानिस्तानका फिल्डरले पाँच पटक क्याच छाडेका थिए। त्यसमध्ये रहमत साहले योङ र कप्तान साहिदीले रवीन्द्र अनि लाथमको क्याच छुटाएका थिए।

टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डको सुरुवात उति बलियो थिएन। सातौँ ओभरको समाप्तिमा ३० रन बनाएको न्युजिल्यान्डले पहिलो विकेट स्वरुप डेभोजन कोन्वेलाई २० रनमा गुमाएको थियो। नियमित कप्तान केन विलियम्सनलाई प्रतिस्थापन गरेका योङले त्यसपछि रवीन्द्रसँग दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गरे। रवीन्द्रले व्यक्तिगत ३१ रनको योगदान गरे।

तर अफगानिस्तानका बलरले सजिलै हार मानेनन्। उनीहरूले नौ बलमा तीन विकेट लिए। जसमा ओमारजाईले लिएको रवीन्द्र र योङको विकेट पनि सम्मिलित थिए। रसिद खानले मिचेललाई आउट गरेसँगै न्युजिल्यान्ड कमजोर स्थितिमा पुगेको थियो।

त्यसपछि न्युजिल्यान्डको इनिङ्स उकास्ने जिम्मेवारी फिलिप्सले पूरा गरे। चार छक्का र त्यति नै चौका प्रहार गरेका उनले लाथमसँग मिलेर १४४ रनको साझेदारी खडा गरे। लाथमले तीन चौका र दुई छक्का हिर्काए।

जितपछि न्युजिल्यान्डका फिलिप्सले अफगान बलरहरूको खुलेर तारिफ गरे। ‘अफगानिस्तानका स्पिनरहरू प्रतिभावान् छन्। उनीहरूले हामीलाई हम्मेहम्मे बनाए। बीचमा लगातार विकेट लिएपछि हामी अप्ठ्यारोमा पर्यौँ। आखिरमा मैले र लाथम मिलेर इनिङ्स उकास्यौँ,’ फिलिप्सले भने, ‘पछिल्ला खेलहरूमा हाम्रो उपल्लो क्रमले राम्रो खेलेको हो। आज मध्यक्रमले परीक्षा दियो। टिमका लागि यो राम्रो हो।’

प्रकाशित: २ कार्तिक २०८० ८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 5 =