ध्वस्त हुँदै गाजा, इजरायल पुग्दै बाइडन

हिमाल प्रेस ३० असोज २०८० २०:३४
8
SHARES
ध्वस्त हुँदै गाजा, इजरायल पुग्दै बाइडन

काठमाडौँ– अमेरिकी राष्ट्रपति बुधबार इजरायल पुग्दैछन्। उनको भ्रमणको उद्देश्य हो, हमाससँग लडाइँमा रहेको इजरायललाई समर्थन दर्शाउनु। यो भ्रमण यस्तो बेला हुँदैछ, जतिबेला वासिङ्टनको आह्वानलाई स्वीकार गर्दै इजरायलले राहत सामग्री गाजा जान बाटो खुला गर्ने बताएको छ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार राहत सामग्री बोकेका ट्रक यति बेला इजिप्टको राफातिर लागेका छन्। हाल गाजा छिर्न इजिप्टको राफाह खुला रहेको एकमात्र सीमा नाका हो। यद्यपि ती ट्रक राफाबाट अगाडि बढ्न पाउँछन् कि पाउँदैनन्, प्रस्ट छैन।

रोयटर्सले प्रत्यक्षदर्शीलाई उदृत गर्दै लेखेको रिपोर्टमा एक सय ६० ट्रक राफातिर लागेको उल्लेख छ। ती ट्रक इजिप्टकै सहर एल अरिसबाट राहत सामग्री बोकेर राफातिर जाँदै गरेका हुन्। राफाबाट गाजा प्रवेश गर्न दिन कूटनीतिक पहल हुँदै आएको छ।

इजरायलले यति बेला हमासलाई नष्ट गर्ने भन्दै गाजामाथि हमला गरिरहेको छ। गत अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलका विभिन्न बस्तीमा आक्रमण गरेको थियो। जसमा १३ सयभन्दा बढीले ज्यान गुमाएका थिए। यो आक्रमणलाई इजरायलको ७५ बर्से इतिहासकै सर्वाधिक घातक भनिँदैछ।

हमास आक्रमणको जवाफ दिन इजरायली वायु सेनाले गाजामाथि बमबारी गरिरहेको छ। जसमा परेर २८ सय प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्। जसमध्ये एकतिहाइ बालबालिका छन्। करिब २३ लाख जनसंख्या रहेको गाजामा आधाभन्दा धेरै प्यालेस्टिनीले घर छाडेका छन्। इजरायलले गाजामा कडा नाकाबन्दी पनि लगाएको छ। नाकाबन्दीका कारण खाद्यान्न, तेल र स्वास्थ्य सामग्री अभाव सुरु भएको छ।

गाजामा समस्या गहिरिँदै जाँदा बाइडन इजरायल पुग्न लागेका हुन्। इजरायलमा त्यहाँका राष्ट्रपति बेन्जामिन नेतान्याहुलाई भेटेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाइडन भ्रमणबारे सूचना सार्वजनिक गरेका हुन्।

‘राष्ट्रपतिले नेतान्याहुलगायतका इजरायली नेतासँग भेटघाट गर्नु हुनेछ। इजरायल कसरी इजरायली नागरिकको सुरक्षा गरिरहेको छ भन्ने जानकारी बटुल्नु हुनेछ। साथै गाजामा इजरायलले कसरी प्यालेस्टिनी नागरिकको कम हताहतीमा कारबाही अगाडि बढाउँछ र गाजामा राहत सामग्री कसरी पुग्छ भन्ने जानकारी पनि माग्नु हुनेछ,’ ब्लिन्केनले भनेका छन्।

यहीबीच अमेरिका खाडीका देशहरूसँग निरन्तर छलफलमा छ। अमेरिकालाई डर छ, कतै इजरायल–हमास लडाइँ क्षेत्रीय युद्धमा रूपान्तरण हुने हो कि? यो डर किन पनि पैदा भएको हो भने इरानले सार्वजनिक रूपमै इजरायलविरुद्ध कदम चाल्ने चेतावनी दिएको छ। हेजबुल्लालगायतका शक्तिसँग मिलेर इजरायलमाथि प्रतिक्रियात्मक कदम चालिने धम्की इरानले दिइरहेको हो।

क्षेत्रीय युद्धको खतरा टार्न सक्रिय रहेका अमेरिकी राष्ट्रपति बाइडन इजरायलको भ्रमण सकेर जोर्डन जानेछन्। जहाँ उनको भेट त्यहाँका राजा अब्दुल्लाहसँग हुनेछ। त्यसपछि इजिप्टका राष्ट्रपति अब्देल फातेह अल सिसी र प्यालेस्टाइनकै अर्को हिस्सा वेस्ट ब्यांकमा सरकार चलाउने मोहम्मद अब्बाससँग पनि बाइडेनले छलफल गर्नेछन्।

वेस्ट ब्यांक इजरायलकै नियन्त्रणमा छ तर त्यहाँ प्यालेस्टिनी एथोरिटी नामक निकाय छ। जो त्यहाँको सरकारसरह हो। यसको नेतृत्व अब्बासको दल प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनले गरिरहेको छ।

बाइडन र उनको देश सम्भावित क्षेत्रीय युद्धको चिन्तामा रहिरहँदा गाजा भने ध्वस्त भइरहेको छ। मंगलबार गाजाको उत्तरी क्षेत्र जाबालियामा स्थानीयहरू कुनै उपकरणबिना ढलेका पर्खाल पन्छाइरहेका थिए। पर्खालमुनि इजरायली बमबारीमा परी मारिएका प्यालेस्टिनीका शव थिए। त्यहाँ कैयौँलाई घाइते रहेकै अवस्थाबाट उद्धार गरिएको थियो।

त्यहीँ एक व्यक्ति भत्किएको भवनबाट एक बालक बोकेर बाहिर निस्किएका थिए। बाहिर निस्किरहँदा उनी खुट्टा खोच्याइरहेका थिए। गाजा क्षेत्रकै अर्को सहर खान युनिसमा बमबारीमा परेर ४९ प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन्। त्यहाँका एक स्थानीय अमिन नेइदेकले बिहान सबेरै आफ्नो घरनजिकै बम खसेको सुनाउँछन्। उनको छोरीको टाउकोमा चोट लागेको छ।

नेइदेकको छिमेकी घर भने बमका कारण ध्वस्त भएको थियो। त्यस घरमा आश्रय लिइरहेका सबै मारिएको उनको भनाइ छ। पीडादायी त के छ भने ती दक्षिणी इजरायलबाट त्यहाँ पुगेका थिए। ‘इजरायली सेनाले उत्तरी गाजामा रहेकालाई घर छाड्न भनेको थियो। त्यहाँबाट उनीहरू यहाँ आइपुगे। आखिरमा इजरायलले यहाँ पनि बम खसाल्यो,’ नेइदेक भन्छन्।

बमबारीको सिकार बनेको खान युनिसमा आधारभूत सुविधा नष्ट भइसकेका छन्। पिउने पानीको अभाव छ। प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय निकाय यूएनआरडब्लूएले सोमबार तीन घण्टा पानी वितरण गरेको थियो। यो पानीमा गाजाको करिब १४ प्रतिशत जनसंख्याको मात्र पहुँच थियो।

‘पानी अभावका कारण गाजामा रहेका प्यालेस्टिनीहरू विभिन्न किसिमका स्वास्थ्य समस्यामा फस्ने खतरा बढेको छ। सरसफाइ सम्भव छैन। यसरी त प्यालेस्टिनीले ज्यान गुमाउन थाल्नेछन्,’ यूएनआरडब्लूएले भनेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन।

अमेरिका इजिप्टको सीमा हुँदै गाजामा राहत सामग्री पुर्‍याउन चाहन्छ। यति मात्र होइन, राफा हुँदै अमेरिकी मूलका प्यालेस्टिनी गाजाबाट बाहिर निस्किन सकून् भन्ने पनि अमेरिकाको चाहना हो। अमेरिकाको समेत नागरिकता लिएका प्यालेस्टिनीहरू राफा पुग्ने कोसिसमा रहेको बताइँदैछ। तर इजरायली सेनाको निरन्तर हवाई आक्रमणका कारण उनीहरूको प्रयास सफल भइरहेको छैन।

इजिप्टले राफाको बाटो हुँदै गाजातिर स्वास्थ्य सामग्री पठाउन सकिने बताएको छ। तर यो बाटोबाट प्यालेस्टिनीहरूलाई बाहिर निकाल्न सम्भव नरहेको इजिप्टले प्रस्ट पारिसकेको छ। फेरि ठूलो संख्यामा प्यालेस्टिनीले गाजा छाडे प्यालेस्टिनी भूमिमाथिको अधिकार कमजोर हुने डर खाडीका देशहरूलाई छ। उसै पनि बहुमत प्यालेस्टिनी प्यालेस्टाइन छाड्न चाहँदैनन्, उनीहरूसँग दोहोरो नागरिकता पनि छैन।

इजरायलले हवाई आक्रमणलाई जारी राख्दै स्थल सेना पनि गाजा परिचालन गर्ने योजना बनाएको छ। स्थल सेना परिचालन गरेर हमासलाई तहसनहस पार्न सकिने इजरायली बुझाइ छ। यहीबीचमा लेबनानको सशस्त्र तथा राजनीतिक समूह हेजबुल्लाहसँग पनि इजरायली सेना भिडिरहेको छ। हेजबुल्लासँगको भिडन्त सुरु हुनु भनेको इजरायल दोस्रो युद्धमोर्चामा फस्नु हो।

इजरायली सेनाको गोलीबाट मंगलबार लेबनानसँगको सीमामा चार जनाको मृत्यु भएको थियो। इजरायली सेनाको दाबीअनुसार ती चार व्यक्ति विस्फोटक सामग्री बोकेर इजरायल प्रवेश गर्न खोजिरहेका थिए। घुसपैठको आशंकामा इजरायली सेनाले लेबनानी सीमासँग जोडिएको २८ गाउँमा खोजतलास गरेको थियो।

हेजबुल्लाहलाई सधैँ सहयोग गर्दै आएको इरानले इजरायलमाथिको आक्रमणको खुसीयाली मनाएको छ। आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको बताइरहेको इरानले गाजामा भएको इजरायली दमनको कुनै न कुनै स्वरूपमा जवाफ दिने बताएको छ।
‘सबै विकल्प खुला छन्। गाजामा इजरायलले गरिरहेको दमनलाई नजरअन्दाज गर्न सकिँदैन। म के पनि भन्न चाहन्छु भने इजरायली सेनाविरुद्ध लडिरहेको फौज क्षमतावान् छ। यो युद्ध लामो हुनेछ,’ इरानी विदेशमन्त्री अमिराबदोल्लहाहियनले भनेका छन्।

इरानको यस्तो चेतावनीको जवाफ इजरायली प्रधानमन्त्रीले दिइसकेका छन्। सोमबार इजरायली संसद्लाई सम्बोधन गर्दै उनले इरानलाई आफूहरूको धैर्य बारम्बार परीक्षण नगर्न चेतावनी दिएका थिए। ‘फेरि उही गल्ती नदोहोर्‍याऊ। फेरि गल्ती गरे त्यसको मूल्य अहिलेको भन्दा ठूलो हुनेछ,’ नेतान्याहुको चेतावनी थियो।

इजरायली स्थल सेना उत्तरी गाजासँगको सीमानातर्फ लम्किँदै गर्दा करिब १० लाख प्यालेस्टिनीहरूलाई सुरक्षित स्थानतर्फ सर्न भनिएको छ। हमासले भने कसैले पनि घर छाड्न नहुने बताइरहेको छ। हमासको त्यस्तो उर्दी भए पनि दसौँ हजार प्यालेस्टिनी दक्षिणी गाजा पुगेका छन्।

हालको लडाइँका करण करिब १० लाख प्यालेस्टिनीले घर छाडिसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ। बमबारी जारी रहँदा घर छाड्ने प्यालेस्टिनीको संख्या निरन्तर बढिरहेको छ। तिनको अवस्था असाध्यै खराब छ। यतिबेला गाजामा विद्युत् आपूर्ति मात्र होइन खानेपानी र तेलको पनि अभाव छ।

रोयटर्सको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =