हमासको धम्की : पूर्वसूचनाबिना प्यालेस्टिनीको घरमा बम खसालिए बन्धक इजरायली मारिनेछन्

हिमाल प्रेस २३ असोज २०८० ८:२४
14
SHARES
हमासको धम्की : पूर्वसूचनाबिना प्यालेस्टिनीको घरमा बम खसालिए बन्धक इजरायली मारिनेछन् इजरायली सेनाको आक्रमणमा परेको गाजा क्षेत्र। तस्बिर रोयटर्सबाट।

काठमाडौँ- इजरायलले पूर्वसूचना नदिइकनै प्यालेस्टिनी नागरिकका घरमा बम खसाले बन्धक बनाइएका इजरायली मारिने धम्की हमासले दिएको छ। इजरायलले तीन लाखको संख्यामा रहेका रिजर्भ फोर्स समेत परिचालन गरेर गाजामाथि हमला सुरु गरेपछि हमासले यस्तो चेतावनी दिएको हो।

इजरायलले गाजामाथि पूर्णरुपमा नाकाबन्दी लगाएको छ। नाकाबन्दी कडा गरेसँगै इजरायली सेना गाजाभित्र पस्न लागेको शंका गरिँदैछ।

शनिबारबाट सुरु नयाँ द्वन्द्वका कारण इजरायल र प्यालेस्टिनीतर्फ गरेर १५ सयको ज्यान गइसकेको छ। हमासको हमलाबाट सुरु भएको द्धन्द्धको नयाँ शृंखलामा पश्चिमा विश्व इजरायलको पक्षमा उभिएको छ।

इजरायली सञ्चारमाध्यमहरुका अनुसार हमासको हमलाका कारण करिब नौ सय इजरायली मारिएका छन्। त्यसैगरी २६ सय घाइते छन् भने दर्जनौँलाई हमासले बन्धक बनाएको छ। मारिएका इजरायलीमध्ये दुई सय ६० भन्दा बढी ‘म्युजिक फेस्टिभल’ मा सहभागी थिए। हमासले धेरैजसोलाई त्यहीबाट बन्धक बनाएको बताइँदैछ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले बालबालिकाको समेत हत्या गरेको आरोप लगाएका छन्। आक्रामक देखिएका उनले हमासले युद्ध चाहेकाले उसलाई युद्ध नै दिने बताएका छन्।

उता गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलको बमबारीका कारउा ६ सय ८७ प्यालेस्टिनीले ज्यान गुमाएको जनाएको छ। उसका अनुसार तीन हजार ७ सय २६ प्यलेस्टिन घाइते छन्। गाजाका स्थानीयका अनुसार इजरायली युद्धक विमानले खसाएका बमले गाजाका अर्पाटमेन्ट, मस्जिद र अस्पतालमा समेत क्षति पुगेको छ।

इजरायलले प्यालेस्टिनीको निजी सञ्चार कम्पनी प्यालेस्टिन टेलिकम्युनिकेसनको मुख्य कार्यलयमा पनि बम खसालेको छ। जसकारण गाजामा टेलिफोन, इन्टरनेट र मोबाइल सेवामा पनि अवरोध उत्पन्न भएको बताइएको छ।

इजरायली वायु सेनाले सोमबार राति पनि बमबारी जारी राख्यो। इजरायली जल सेना पनि गाजामाथिको हमलामा संलग्न छ। हमला मुख्यगरी हमास र अन्य सशस्त्र समूहको हतियार भण्डारणमाथि लक्षित भएको इजरायली सेनाको भनाइ छ।

यसैबीच हमासले इजरायली बन्धकहरुको हत्या गर्ने धम्की दिएको छ। हमासका प्रवक्ता अबु उबैदाले सोमबार राति इजरायली सेनाले चेतावनी नदिई प्यालेस्टिनी घरहरुमाथि बम खसाले इजरायली बन्धकहरुको हत्या गरिने र हत्याको भिडियो टेलिभिजनमा प्रशारण गर्ने धम्की दिएका हुन्।

हमासले दिएको ताजा धम्कीबारे इजरायलले केही प्रतिक्रिया दिएको छैन।

घर छाड्दै प्यालेस्टिनी

प्यालेस्टिनीहरुले आफूहरुलाई इजरायली सेनाले टेलिफोन र एसएमएसमार्फत आआफ्ना घर छाडेर सुरक्षित स्थानतिर सूचना दिइरहेको बताएका छन्। गाजाको पूर्वी तथा उत्तरी क्षेत्रमा यस्तो सूचना दिइँदै गरेको रोयटर्सको रिपोर्टमा उल्लेख छ। यी क्षेत्रमा इजरायलले सेना परिचालन गर्न लागेको सूचनामा दिइएको हो।

‘हामीलाई आफ्नो हेरचाह आफैँ गर्नुपर्ने बाध्यता छ। छोराछोरी, नातिनातिना, बुहारी सबै भागिसके। हामी एक्लो भएका छौँ। हाम्रो सुरक्षा छैन। यो कस्तो जीवन होरु यो त कुनै जीवन नै होइन,’ गाजाका ७३ वर्षीय स्थानीय सलाह हानौनेहले रोयटर्ससँग भनेका छन्।

यहीबीच इजरायली सेनाले हमासको हमलामा परेको दक्षिण इजरायल अब आफ्नो नियन्त्रणमा आएको बताएको छ। केही स्थानमा भने अझैँ पनि गोलीबारी भइरहेको इजरायली सेनाका प्रवक्ताले जानकारी दिएका छन्।

इजरायली सेनाले इजरायल र गाजा सीमामा क्षेप्यास्त्र प्रहारको पूर्वसूचना स्वरुप साइरन बजाइरहेको छ। हमासविरुद्धको हमला थप बलियो बनाउन इजरायलले तीन लाख रिजर्भ सैनिकलाई परिचालन गर्ने निर्णय गरिसकेको छ। रिजर्भ फौजलाई दुई दिनभित्र युद्ध मोर्चामा पुग्न निर्देशन दिइएको छ।

इजरायली रक्षा विश्लेषकहरुले इजरायल गाजाभित्र छिर्ने तयारीमा रहेको अनुमान गरिरहेका छन्। इजरायली सेना दुई दशकअघि आफ्नो कब्जामा रहेको गाजाबाट फिर्ता भएका थिए।

‘हामीले यसअघि यत्तिको ठूलो संख्यामा रिजर्भ सैनिक परिचालन गरेका थिएनौँ। यसपालि हामी आक्रामक रणनीतिमा छौँ, त्यसकारण उनीहरुलाई युद्ध मोर्चामा बोलाइएको हो,’ इजरायली सेनाका मुख्य प्रवक्ता रियर–एडमाइरल डानियल हागारीले भनेका छन्।

नयाँ द्वन्द्वको प्रभाव फगत इजरायल र प्यालेस्टिनीलाई मात्र परेको छैन। इटाली, युक्रेन र थाइल्यान्ड जस्ता देशले आआफ्ना नागरिक मारिएको बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले करिब ११ जना अमेरिकीको मृत्यु भएको र बन्धक बनाइएकामध्ये अमेरिकी पनि हुनसक्ने जनाएका छन्। बाइडनले बन्धकको उद्धारमा इजरायललाई सहयोग गर्न आफ्नो देशबाट विज्ञहरु खटिने जानकारी पनि दिएका छन्।

इजरायली रक्षामन्त्री योआभ गालान्टले गाजामाथि हमला सुरु भएको घोषणा गरेसँगै इजरालयको आलोचना सुरु भएको छ। ‘पहिलेबाटै नियन्त्रित क्षेत्रमा खाना र विजुलीको आपूर्ति रोकिनु युद्ध अपराध हो,’ ह्युमन राइट्स वाचमा इजरायल र प्यालेस्टिनी हेर्ने ओमार शाकिरले भनेका छन्।

२३ लाख प्यालेस्टिन बसोबास् गर्ने गाजामा इजरायली आक्रमणका कारण सोमबार मात्र २० जना मारिएको हमासनिकट सञ्चारमाध्यमले जनाएका छन्। प्यालेस्टिनीका मूलधारे सञ्चारमाध्यमका अनुसार गाजा सहरमा दुई स्थानीय पत्रकारको पनि मृत्यु भएको छ भने एक गम्भीर घाइते छन्।

अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले करिब एक लाख ३७ हजार प्यालेस्टिनी शरणार्थी यूएनआरएको क्याम्पमा बसिरहेको जनाएका छन्। यूएनआरएले उनीहरुको हेरचाह गरिरहेको गुटेरेसको भनाइ छ।

अमेरिकाले भने इजरायललाई हमासविरुद्धको युद्धका लागि थप सैन्य सामग्री पठाउने घोषणा गरेको छ। अमेरिकाले इजरायललाई वर्षेनी तीन अर्ब ८० करोड अमेरिकी डलर बराबरको सैन्य सहायता गर्दै आएको छ।

अमेरिकाले बेलायत, फ्रान्स, जर्मनी र इटालीसँग मिलेर संयुक्त विज्ञप्ति पनि जारी गरेको छ। जसमा भनिएको छ, ‘हामी प्यालेस्टिनी नागरिकको अधिकारलाई सम्मान गछौँ। जसरी इजरायलीलाई न्याय र स्वतन्त्रताको आवश्यक छ, त्यसैगरी प्यालेस्टिनी नागरिकलाई पनि तिनको आवश्यकता छ।’

इजिप्टका राष्ट्रपति अब्देल फतेह अल सिसी र टर्कीका राष्ट्रपति तायिप एर्दोगनले हमास तथा इजरायललाई तत्काल युद्ध रोक्न आह्वान् गरेका छन्। कतारले हमासले बन्धक बनाएका इजरायलीको रिहाका लागि तत्काल मध्यस्थता गर्ने बताएको छ। हमासले बनाएको बन्धक र इजरायली जेलमा रहेका ३६ महिला तथा बालबालिकाको आदानप्रदानका लागि आवश्यक पर्ने वार्ताको मध्यस्थता गर्ने कतारी अधिकारीहरुले बताएका छन्।

इजरायल र हमासबीच सुरु भएको यो द्वन्द्व खाडीका अन्य क्षेत्रमा पनि विस्तार हुने डर बढ्दै गएको छ। किनभने लेबनानको हेज्जबुल्लाहले उत्तरी इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ।

इजरायली सेनाको गोलीबाट आफ्ना तीन कार्यकर्ता मारिएकाले क्षेप्यास्त्र प्रहार गरिएको हेज्जबुल्लाहको जिकिर छ। उता इजरायलले हेज्जबुल्लाहसँगको गोली हानाहानमा परी आफ्ना एक कमाण्डरले ज्यान गुमाएको बताएको छ।

इजरायल–गाजाको यो द्वन्द्व खाडीका अन्य भागमा सर्ने डरको प्रभाव तेल बजारमा पनि देखिएको छ। कच्चा तेलको मूल्य चार प्रतिशतले बढेको छ। विश्वका मुख्य वायु सेवा कम्पनीहरुले इजरायली सहर तेल अभिभतर्फको उडान स्थगन गरेका छन्।

हमासको आक्रमणमा परी ज्यान गुमाएका इजरायलीको तस्बिर यतिबेला सामाजिक सञ्जालमा छरपस्ट पारिएका छन्। इजरायली सहरका सडक सडकमा इजरायलीका लास अझैँ नउठेको बताइँदैछ। एक ‘डान्स पार्टी’ मा भएको आक्रमण, गोलीबारी, त्यहाँबाट इजरायलीलाई बन्धक बनाइँदै गरिएको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सेयर भइरहेका छन्।

‘म गाजासँगको सीममा बस्छु। यसकारण गोलीबारी मेरा लागि नयाँ कुरा होइन। तर यत्तिको घातक हमला मैले कहिल्यै देखेको थिइनँ,’ म्युजिक फेस्टिभलमा भएको हमलाबाट बचेका २४ वर्षीय जोहार मारिभले रोयटर्ससँग भनेका छन्।

रोयटर्सको सहयोगमा

प्रकाशित: २३ असोज २०८० ८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =