अस्तित्वको संकटमा एमालेभित्रका पूर्वमाओवादी

किरण पौडेल २८ असोज २०८० ७:०८
14
SHARES
अस्तित्वको संकटमा एमालेभित्रका पूर्वमाओवादी एमाले नेताहरू रामबहादुर थापा, मणि थापा र लेखराज भट्ट। यी तीनै नेता पूर्वमाओवादी हुन्।

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रायः भाषणमा आफ्नो द्वन्द्वकालीन संघर्षको स्मरण गर्छन्। व्यवहार जस्तो देखिए पनि सशस्त्र द्वन्द्व (जनयुद्ध) कै कारण नेपालमा लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षता स्थापना भएको भन्दै गौरव गर्नु प्रचण्डको विशेषता हो।

‘अहिलेको परिवर्तनको जग जनयुद्ध हो’, प्रचण्ड भन्ने गर्छन्, ‘तर पछिल्लो समय परिवर्तनमाथि प्रहार भइरहेछ।’ कसले कसरी प्रहार गरेको छ भनेर चाहिँ उनी व्यक्त गर्न सक्दैनन्।

कार्यकर्ता र समर्थकले ताली बजाएर समर्थन जनाएपछि उनले आफूले के बोल्दैछु भनेर हेक्कासमेत राखेको पाइँदैन। सोही कारण त बेलाबेला उनले आफ्नै बोलीमा स्पष्टीकरण दिनुपरेको छ।

पछिल्लोपटक उनले भारत भ्रमणमा व्यक्त गरेको अभिव्यक्ति विवादमा परेको थियो। त्यसपछि उनले स्पष्टीकरण दिएका थिए। यस्तै ‘अब शाकाहारी आन्दोलनले पुग्दैन’ र ‘जनयुद्धमा मारिएका पाँच हजारको जिम्मेवारी मै लिन्छु’ जस्ता अभिव्यक्तिले विवादमा तानिएका थिए।

जनयुद्धको नेतृत्वकर्ता प्रचण्डमाथि १७ हजार मारेको आरोप लाग्छ। तर प्रचण्ड जनयुद्ध ‘ऐतिहासिक’ भएकाले हेग गए पनि ‘नायक’ बन्ने दाबी गर्छन्। २०५० पछि जन्मिएको पुस्ता जनयुद्धबारे त्यति जानकार छैन। प्रचण्ड भने अझै पनि जनयुद्ध भजाएर राजनीतिको सिँढी चढिरहेका छन्।

जानकारहरूचाहिँ सत्ताको उन्मादका कारण पनि प्रचण्डले जनयुद्धको धरातल उहिल्यै बिर्सिएको टिप्पणी गर्छन्। त्यसैले पनि उनी विवादमा तानिइरहने उनीहरूको बुझाइ छ। उनको त्यही गलत प्रवृत्तिले गर्दा उनीबाट अलग भएका नेताहरूले पनि राजनीतिक रूपमा उँचो छवि बनाउन सकेका छैनन्।

जनयुद्धको प्रशंसा गर्ने प्रचण्ड एक्ला नेता होइनन्। विद्रोहताकाको माओवादी विभिन्न चिराचिरामा परेको छ। ती समूह र नयाँ बनेका दल आमजनता पार्टी (आजपा), नेपाल समाजवादी पार्टी (नेसपा) का नेताहरू पनि जनयुद्ध ‘गौरव भएको’ सुनाउँछन्।

जनयुद्ध लडेकै कतिपय नेता अहिले यसैबारे मौन छन्। उनीहरू न जनयुद्धको समर्थन गर्न सक्छन् न त विरोध। ती यस्ता नेता हुन् जो कुनै न कुनै पद ओगटिरहेका छन्, सांगठनिक गतिविधिमा निष्कृय नै किन नहोऊन्। एमालेभित्र यस्ता नेता बढी छन्। जस्तै- रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी आदि।

एमालेभित्र रहेका पूर्वमाओवादीहरू जनयुद्धका विषयमा प्रश्न उठ्दा विरोध गर्नुको सट्टा खुसी भएको संकेत गरिरहेका छन्। तर एमाले नेतृत्व भने जनयुद्धको कट्टर विरोधी छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बेलाबेलामा जनयुद्धको कडा आलोचना गर्दा बादल, भट्ट र थापाहरू मुन्टो निहुराएर बसेको देखिन्छ। त्यसैले यी नेताहरूमाथि धरातल बिर्सेको आरोप लाग्ने गरेको छ।

त्यसो त माओवादी शक्तिहरू पनि अहिले विभाजित छन्। सशस्त्र विद्रोहताकाको माओवादी अहिले माओवादी केन्द्रका रूपमा स्थापित छ। त्यसबाट विभाजित भएर अन्य सानासाना समूह सक्रिय छन्।

यस्ता समूहमा अधिकांश नेता भने कार्यकर्ताविहीन छन्। अर्थात् उनीहरू मुलुकको सत्ता राजनीतिमा निकै टाढा छन्। उदाहरणका लागि बाबुराम भट्टराई नेतृत्वको नेसपा, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, प्रभु साह नेतृत्वको आजपा।

खुला राजनीतिमा आएपछि पदीय टकरावले झुन्ड झुन्ड बनेका माओवादी समूह बेलाबेला एकताको कुरा गर्छन्। तर त्यत्तिकै सेलाएर जान्छ।
एमालेभित्र पूर्वमाओवादीहरूको समूह सक्रिय छ। कम्युनिस्ट शक्ति एक बनाउने भन्दै कुनै बेला केपी शर्मा ओली (एमाले) र प्रचण्ड (माओवादी) बीच एकता भएको थियो।

दुई पार्टीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बने पनि सर्वोच्च अदालतको फैसलाले पूर्ववत् फर्किए। एमाले र माओवादीमै फर्किँदा माओवादीभित्रका केही नेता एमालेतिर गए। जुन अहिले एमालेमा पूर्वमाओवादी भनेर चिनिन्छन्।

माओवादी नेता बादल, रायमाझी, भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरीहरू एमाले प्रवेश गरेका थिए। यसमध्ये कतिपय नेताहरू ओलीकै छत्रछायामा बसेर केही पाइला कि भन्ने आसमा बसेका छन्। सोही आसका कारण ओलीले जनयुद्धविरुद्ध कडा अभिव्यक्ति दिँदा पनि उनीहरू नसुनेझैँ गर्छन्।

केही दिनअघि ओलीले जनयुद्धमाथि ठूलै प्रहार गरे। प्रतिनिधिसभाको रोस्ट्रम प्रयोग गर्दै ओलीले जनयुद्ध ‘हिंसा’ सुरु भएको दिन भनेका थिए। यति मात्र होइन, उनले जनयुद्ध दिन दिइँदै आएको सार्वजनिक बिदा नसच्याए विरोध गर्ने बताए। त्यसो त ओली कहिल्यै जनयुद्धप्रति सकारात्मक छैनन्। २०५२ देखि ६२ सम्म भएको माओवादीको हिंसात्मक राजनीतिलाई विध्वंसको संज्ञा दिने नेता हुन् ओली।

ओलीले भन्ने गरेका छन्, ‘मान्छे मार्ने दिनलाई गौरवको दिन मान्न सकिन्न। मान्छे मारेर परिवर्तन आउँदैन।’ माओवादीसँग एकतापछि भने ओली सकारात्मक हुने अनुमान थियो। एउटै पार्टी भएकाले माओवादीको पृष्ठभूमि बिर्सने कतिपयको बुझाइ थियो। तर ओलीले आफ्नो बोली सच्याएनन्। बरु आफू सत्ताबाट बाहिरनुपर्दा उनले प्रचण्ड र जनयुद्धविरुद्ध कडा अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एमाले अध्यक्ष केपी शर्मा ओली। फाइल तस्बिर

माओवादीले फागुन १ जनयुद्ध दिवस मनाउँछ। एमाले र माओवादीसँगै रहँदा पनि दिवसको अवसरमा ओली सहभागी हुँदैनथे। प्रचण्डले आमन्त्रण गरे पनि अन्य कार्यक्रममा व्यस्त भएजस्ता बन्थे। ‘जनयुद्धलाई ओलीले सधैँ नकारात्मक भनिरहनुभयो। जसको चरमा सबै उपलब्धि हासिल भएको छ। त्यो गलत भन्नु राम्रो होइन नि’, पूर्वमाओवादी नेता एवं आजपाका अध्यक्ष प्रभु साह भन्छन्, ‘अध्यक्ष ओली जनयुद्धलाई नकारात्मक दृष्टिले मात्र बुझ्नुहुन्छ।’ ओली जनयुद्धलाई गलत साबित गर्न खोजिरहेका छन्।

यति हुँदा पनि एमालेभित्र पूर्वमाओवादीहरू भने ओलीलाई गलत भन्दैनन्। एमालेभित्र रहेका पूर्वमाओवादी नेताहरू पनि प्रचण्ड जत्तिकै युद्ध लडेका आएका नेताहरू छन्। जनयुद्धमा बादल प्रचण्डजत्तिकै खटिएका नेता हुन्। लामो समय रोल्पा बसेर सशस्त्र युद्ध चलाएका बादल फौजी योजना बनाई प्रहरी चौकी, सैनिक ब्यारेक तथा जिल्ला सदरमुकाम आक्रमण प्रमुख योजनाकारसमेत हुन्। हाल एमाले उपाध्यक्ष रामबहादुर थापाको जनयुद्धकालीन नाम पनि मेटिएको छ। एमालेको बेसाइटमा उनको नाम रामबहादुर थापा मात्रै छ। बादल हटाइएको छ।

एमाले सचिव लेखराज भट्ट पनि सशस्त्र द्वन्द्वका क्रममा धेरै सक्रिय थिए। सुदूरपश्चिम क्षेत्रबाट जनयुद्धलाई उचाइमा पुर्‍याउन भट्टको भूमिका प्रभावकारी थियो। जनयुद्धकै क्रममा उनी पक्राउ परेका थिए। ६ महिनाजति जेल परेका भट्टको आवाज एमालेमा त्यति सुनिँदैन।

एमालेभित्र कति छन् पूर्वमाओवादी?

एमालेभित्र पूर्वमाओवादी कति संख्यामा छन्, हालसम्म एमालेले खुलाएको छैन। तर कुनै बेला ओली माओवादीको मुख्य शक्ति आफूसँगै रहेको दाबी गर्थे। उनी प्रचण्डले माओवादी आन्दोलन समाप्त पारेको र अब आफूले नेतृत्व गर्ने बताउँथे।

त्यसबेला ओलीको बोलीसँग सहमत भएर एमाले बनेका पूर्वमाओवादीहरू अहिले मौन छन्। कतिपयले समयान्तरमा एमाले छाडे भने कोही एमालेभित्र ‘छुट्टी’मा बसेका छन्। मौन रहनेमध्येमा प्रमुख हुन् उपाध्यक्ष रामबहादुर थापा।

उनी पार्टीको बैठकमा बाहेक अन्य कुनै पनि कार्यक्रममा सहभागी छैनन्। १० औँ महाधिवेशनबाट उपाध्यक्षबाट निर्वाचित थापा एमालेको कार्यकारी जिम्मेवारीमै छैनन्। कम बोल्ने स्वाभावका कारण पनि थापा एमालेभित्र सन्तुष्ट छन् वा छैनन् बुझ्न नसकिएको एमाले नेताहरूको भनाइ छ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्ने इच्छा नदेखाएका थापाकी पत्नी नैनकला थापा प्रतिनिधिसभाकी समानुपातिक सांसद छन्।

थापासँगै एमाले बनेका अर्का नेता हुन्, लेखराज भट्ट। सुदूरपश्चिममा एमालेका तत्कालीन उपाध्यक्ष भीम रावलको ठाउँ लिन ओलीले एमाले बनाएका भट्ट अहिले पार्टीमा खास सक्रिय छैनन्। एमाले सचिव भट्ट अहिले ओलीको विश्वासिला पात्र छन्। भट्ट २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कैलाली-४ बाट कांग्रेसका वीरबहादुर बलायरसँग पराजित भएका थिए। एमालेको १० औँ अधिवेशनबाट सचिवबाट निर्वाचित भट्ट हाल कर्णाली प्रदेशका एमाले इन्चार्ज छन्।

थापा र भट्टसँग एमाले प्रवेश गरेका मणि थापा बिदामा बसेका छन्। एमाले स्थायी कमिटी सदस्य थापामाथि ओलीविरुद्ध अभिव्यक्ति दिएका कारण एमालेले कारबाही प्रक्रिया अघि बढाएको थियो। त्यो संकेत पाएका उनी आफैँ बिदामा बसेको एमालेका एक नेताले जानकारी दिए। पार्टी कार्यक्रममा सहभागी हुन नसक्ने भन्दै उनी थापा बिदामा बसेका हुन्। ओलीविरुद्ध संघर्ष जारी रहेको अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका थिए। सोही कारण थापा पार्टीमा सक्रिय नभएको नेताहरूको बुझाइ छ।

अर्का पूर्वमाओवादी प्रभु साहले निर्वाचन ताका नै एमाले छाडिसकेका छन्। उनले एमालेले रौतहट-२ बाट उठ्न दिएको चुनावी टिकट ‘ल्याप्स’ बनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए। त्यसपछि एमालेले उनलाई अनुशासनको कारबाही गर्‍यो।

साहले ओली शैलीका कारण आफू विद्रोही बनेका बताएका थिए। अहिले आफ्नै नेतृत्वमा आमजनता पार्टी (आजपा) गठन गरेका छन्। स्वतन्त्र रूपमै चुनाव जितेका साह मधेशमा शक्ति विस्तारमा लागेका छन्।

यस्तै माओवादीबाट एमाले बनेका अर्का नेता हुन्, टोपबहादुर रायमाझी। महाधिवेशनबाट सचिव बनेका रायमाझी प्रतिनिधिसभा सदस्यसमेत हुन्। पछिल्लो समय उनी नक्कली शरणार्थी प्रकरणमा जोडिएपछि बन्दी जीवन बिताइरहेका छन्। उनको सचिव पद निलम्बनमा छ।

टोपबहादुर रायमाझी। उनको एमाले सचिव पद निलम्बनमा छ।

माओवादीबाट एमाले प्रवेश गरेका अर्का केन्द्रीय नेता गौरीशंकर चौधरी पनि अहिले निष्कृय छन्। एमालेको केन्द्रीय सदस्य भए पनि प्रतिनिधिसभा निर्वाचन हारेका हुन्। कैलाली-३ बाट निर्वाचन हारेपछि उनी राजनीतिबाट पछि हटेका हुन्।

जानकारहरूका अनुसार माओवादी र त्यो आन्दोलनमा सहभागी नेताहरू कमजोर बन्नुमा प्रचण्ड नै जिम्मेवार रहेको बताउँछन्। उनीहरूका अनुसार एमाले पार्टीमा गएका पूर्वमाओवादीहरू कमजोर बन्नुमा अध्यक्ष ओलीको कुनै भूमिका छैन। माओवादी आन्दोलनलाई नजिकबाट बुझेका राजनीतिक विश्लेषक मुमाराम खनाल प्रचण्ड स्वयंले जनयुद्धको मर्मलाई त्याग्दै गएको बताउँछन्। त्यसैले प्रचण्डको आयुसँगै माओवादीको आयु पनि सकिने बुझाइ उनको छ।

‘माओवादीले सत्तामा पुगेपछि सबै बिर्सिएको छ। यही कारण माओवादी आन्दोलन विभाजित छ,’ खनाल भन्छन्, ‘जनयुद्ध भने पनि नभने पनि एमाले र माओवादीबीच केही फरक छैन। एमालेको आयु अलि लामो छ तर माओवादीको आयु प्रचण्डसँगै सकिन्छ।’

एमाले पोलिटब्युरो सदस्यसमेत रहेकी पूर्वमाओवादी नेतृ ज्वालाकुमारी साह पनि खनालको भनाइमा सहमति छिन्। ‘हिजोको जनयुद्ध प्रचण्डजीको पेवा जस्तो भयो। सबै अवसर उहाँकै लागि मात्र जस्तो भयो,’ साह भन्छिन्, ‘जनयुद्धबाट आएका उपलब्धि प्रचण्डकै कारण कमजोर बनिरहेका छन्। उहाँ आफैँले ती उपलब्धिलाई बिगारिरहनुभएको छ।’ प्रचण्डको व्यक्तिकेन्द्रित राजनीतिक गतिविधिका कारण ओलीले जनयुद्ध गलत भनेको बुझाइ साहको छ।

कुन अवस्थामा छ पूर्वमाओवादी?

एमाले पदाधिकारीमा तीन जना पूर्वमाओवादी नेताहरू परेका थिए। रामबहादुर थापा (उपाध्यक्ष), लेखराज भट्ट (सचिव), टोपबहादुर रायमाझी (सचिव) छन् भने केन्द्रीय नेतृत्वमा १२ जना छन्। रायमाझी, थापाद्वय, भट्ट र  गौरीशंकर चौधरी माओवादीबाटै मन्त्री भइसकेका नेता हुन्।

एमाले केन्द्रीय कमिटीमा रहेका पूर्वमाओवादीहरूमा टंक आम्बुहाङ, ज्वालकुमारी साह, रामचन्द्र मण्डल, धर्मराज रेग्मी, गौरीशंकर चौधरी, कृष्णबहादुर केसी, झपट बोहोरा, चूडाबहादुर खड्का, दिनेश पन्थी, दधिराम न्यौपाने हुन्। महाधिवेशनमा पूर्वमाओवादीबाट २२ जनाले आकांक्षा देखाएकोमा १२ जनाले चुनाव जितेका थिए।

प्रतिनिधिसभातर्फ अहिले पूर्वमाओवादीबाट दुईजना (ज्वाला साह र टोपबहादुर रायमाझी) मात्र प्रत्यक्ष निर्वाचित सांसद छन्। २०७९ को स्थानीय तहको निर्वाचनमा पनि केही पूर्वमाओवादीले चुनाव जितेका थिए।

प्रकाशित: २८ असोज २०८० ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =