राष्ट्रपति पौडेल विवादमा मुछिएका चार घटना

हिमाल प्रेस १८ असोज २०८० १७:२६
58
SHARES
राष्ट्रपति पौडेल विवादमा मुछिएका चार घटना राष्ट्रपति रामचन्द्र पौडेल।

काठमाडौँ- फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेलले २९ गतेदेखि पद बहाली गरेका थिए। पदभार ग्रहण गरेको झन्डै सात महिनामा राष्ट्रपति पौडेल चारवटा घटनामा विवादित बनेका छन्। चारमध्ये तीन घटनाका विरुद्धमा पीडितहरू न्यायालय गुहार्न पुगेका छन्। एउटा घटना भने पौडेललाई विवादमा तानेर सामसुम भएको छ।

दुईवटा घटना जेलमा रहेका व्यक्तिलाई दिइएको माफी मिनाहासँग सम्बन्धित छ। अर्कोचाहिँ नागरिकता विधेयक प्रमाणीकरण हो। यस्तै उनी आफ्नै उपचार खर्चको विषयलाई लिएर पनि विवादमा तानिएका छन्। माफी मिनाहा र नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रपति पौडेलले संविधानअनुसार सरकारको सिफारिसमा सदर गरेका हुन्। यद्यपि विवादमा भने राष्ट्रपतिलाई नै तानेको छ।

रिगलको कैद मिनाहा

रिगल भनिने योग ढकाल नेपालगन्जस्थित गगनगन्जनिवासी चेतन मानन्धरको हत्या मुद्दामा अदालतले ‘सर्वस्वसहित जन्मकैद’को फैसला सुनाएका व्यक्ति हुन्। उनलाई सरकारको सिफारिसमा संविधान दिवसमा असोज ३ गते राष्ट्रपति पौडेलले सजाय माफी मिनाहा गरेका थिए। त्यस दिन ६ सय ७० जनाको कैद मिनाहा भएको थियो।

चेतन हत्याको अभियोगमा जिल्ला अदालत बाँकेले २०७५ वैशाखमा रिगलसहित १४ जनालाई दोषी ठहर गरेको थियो। २०७२ असार २८ गते नेपालगन्जको सुर्खेतरोडमा उक्त हत्याकाण्ड भएको थियो। चेतनकी पत्नी भारती मानन्धरले कैद मिनाहाको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी छन्। उनको मुद्दामा सर्वोच्चले बिहीबार सरकारसँग जबाफ माग गरेको छ।

रेशमलाई माफी

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलबाट पाँच सय एकजना कैदीले आममाफी पाएका थिए। तीमध्ये टीकापुर घटनाका मुख्य अभियुक्त पूर्वसांसद रेशम चौधरीको कैद मिनाहालाई लिएर सर्वत्र आलोचना भएको थियो।

२०७२ भदौ ७ मा कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच भएको हिंसात्मक झपडमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात प्रहरी र एक नाबालकको हत्या भएको थियो। उक्त घटनामा दोषी ठहर भई जन्मकैद भोग्दै आएका चौधरीलाई मुक्त गर्ने सरकारको निर्णय र त्यसलाई सदर गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वत्र आलोचना भएको थियो। कानुनमा रहेको आममाफीको व्यवस्थालाई दुरुपयोग गरिएको आरोप सरकार र राष्ट्रपतिमाथि लागेको हो।

रेशम चौधरीको मुद्दासँग सम्बन्धित सर्वोच्चको पूर्ण पाठमा पनि टीकापुर घटनालाई ‘क्रूर, अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरिएको छ।  रेशमलाई माफी मिनाहा गर्ने निर्णयविरुद्ध टीकापुर घटनामा मारिएका एक सुरक्षाकर्मी परिवारले सर्वोच्चमा रिट दिएका थिए। उक्त मुद्दामा सर्वोच्चले जेठ २३  गते कारण देखाऊ आदेश जारी गरेको थियो।

नागरिकता विधेयक

अघिल्ला राष्ट्रपति विद्यादेवी भण्डारीकै कार्यकालदेखि थाती रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेपछि पौडेल आलोचित बनेका थिए। संसद्‌बाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयक तत्कालीन राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि संसद्‌मै फिर्ता पठाएकी थिइन्। त्यसमा सदनले कुनै परिवर्तन नगरी फेरि शीतल निवास पठाएको थियो। राष्ट्रपति पौडेलले जेठमा त्यसलाई प्रमाणीकरण गरेका थिए।

प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो। दुवै पक्षलाई जवाफका लागि बोलाउँदै सर्वोच्च अदालतले उक्त कानुन कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो।

उपचार खर्च

राष्ट्रपति पौडेल गत वैशाखमा बिरामी परे। उनी थप उपचारका लागि चिकित्सक टोली र परिवारका सदस्यसहित एअर एम्बुलेन्समार्फत भारतको नयाँदिल्लीतर्फ गएका थिए। राष्ट्रपति पौडेल उपचारका लागि ११ दिनसम्म नयाँदिल्लीमा बसेका थिए।

आतेजाते भाडा, भ्रमण भत्तासहित औषधोपचारमा लाग्ने लाखौँ रुपैयाँ राज्यकोषबाट खर्च हुने भनेर व्यापक आलोचना भयो। त्यसपछि राष्ट्रपतिको सचिवालयले उपचार खर्च राष्ट्रपति आफैँले बेहोर्न चाहेको बेहोरासहित विज्ञप्ति जारी गरेको थियो। त्यो घोषणा धेरै समय टिक्न सकेन।

प्रकाशित: १८ असोज २०८० १७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =