ढोरपाटनको यात्रा : सिकार खेल्न विदेशी, घुमफिर गर्न नेपाली

खेमराज गौतम/रासस १८ असोज २०८० १६:४९
22
SHARES
ढोरपाटनको यात्रा : सिकार खेल्न विदेशी, घुमफिर गर्न नेपाली

गलकोट- कुनै समय ढोरपाटनमा सिकार खेल्नमात्रै पर्यटक आउने चलन थियो. तर सडकमार्गको पहुँच र प्रचारप्रसारका कारण ढोरपाटन घुम्नसमेत पर्यटक आउने गरेका छन्।

आरक्षमा सिकार खेल्न विदेशी र घुम्नका लागि नेपाली आउने गरेका छन्। सिकार खेल्न अनुमति लिन महंगो पर्ने भएकाले नेपालीले धेरै खर्च गर्ने गरेका छैनन्।

विश्वका धनाढ्य सिकारी हेलिकप्टरमार्फत ढोरपाटन पुगेर लाखौँ राजस्व तिरेर सिकार खेल्ने गरेका छन्। सिकारका लागि विदेशी पर्यटकमात्रै आउने ढोरपाटन क्षेत्रमा घुम्नका लागि भने नेपाली पर्यटक आउने गरेका छन्।

गत आर्थिक वर्ष २०७९/८० मा ७ हजार ६ सय ४५ पर्यटक ढोरपाटन घुम्न आएका छन्। त्यसमध्ये जम्मा ७८ जनामात्रै विदेशी पर्यटक रहेको र अन्य सबै नेपाली पर्यटक रहेको ढोरपाटन सिकार आरक्षले जानकारी दिएको छ।

उक्त तथ्यांकका आधारमा समेत ढोरपाटन सिकार आरक्षमा सिकार खेल्नकै लागि मात्र विदेशी पर्यटक आउने गरेका छन्। नेपाली पर्यटक भने ढोरपाटन अवलोकनका लागि आउने गर्छन्।
पछिल्लो ४ वर्षयता पर्यटक बढेसँगै राजस्व पनि बढेको छ।

गत वर्षको जनैपूर्णिमा मेलामा ढोरबराह दर्शनका लागि आउने धार्मिक पर्यटकको संख्यामा कमी आएका कारण समग्र पर्यटक संख्या तथ्यांकमा कम देखिएको ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए। ‘ढोरबराह मन्दिरमा ठूलो जनैपूर्णिमा मेला लाग्ने गर्दछ, गत वर्ष मौसमी प्रतिकुलताका कारण त्यहाँ आउने धार्मिक पर्यटक घटेका थिए, त्यसैले तथ्यांकमा घटेको देखिन्छ, तर ढोरपाटन भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि नै भएको पाइन्छ,’ उनले भने, ‘चालु आर्थिक वर्षमा १० हजार पर्यटक आउने अनुमान गरिएको छ। यस वर्षको जनैपूर्णिमा मेला भर्नका लागि आउने धार्मिक पर्यटकको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ।’

उनका अनुसार ढोरपाटन उपत्यकामा आन्तरिक पर्यटक घुम्न आउने र विदेशी पर्यटक सिकार खेल्नका लागि आउने गरेका छन् ।

उनका अनुसार सोझै हेलिकोप्टरमार्फत विदेशी सिकारी पर्यटकमात्रै ढोरपाटन सिकार आरक्ष पुग्ने भए पनि सडकको पहुँच, होटल सुविधा तथा प्रचारप्रसारसँगै आन्तरिक पर्यटकसमेत त्यहाँ पुग्न थालेका छन्।

ढोपाटनमा सिकार खेल्न, उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र सिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटक आउने गर्छन्। नाउर र झारलको वैधानिक सिकार खेल्न पाइने उक्त क्षेत्रमा विदेशी पर्यटक लाखौँ खर्च गरेर सिकार खेल्न त्यहाँ पुग्ने गरेका छन्।

मनोरम ढोरपाटन उपत्यकालाई चिरेर बगेको उत्तरगंगा, हरियाली र फुलैफूलको फाँटले पर्यटक आकर्षित हन्छन्। ढोरपाटनमा विशेषगरी असोज, कात्तिक, मंसिर, चैत, वैशाख र जेठमा बढी पर्यटक आउने गर्दछन्।

बागलुङ, म्याग्दी र पूर्वीरुकुमसम्म फैलिएको आरक्षको मुख्य कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा पर्छ। ढोरपाटन उपत्यकामा ढोरपाटन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी २१ साना ठूला होटल तथा घरबास सञ्चालनमा आएका छन्। ढोरपाटनमा पहिलो याम असोजदेखि मंसिर र दोस्रो याम फागुनदेखि वैशाखसम्म सिकार खेल्न अनुमति दिइन्छ। रासस

प्रकाशित: १८ असोज २०८० १६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =