ढुवानी र यात्रामा एउटै गाडी

हिमाल प्रेस ३ पुष २०८० १६:०२
2
SHARE
ढुवानी र यात्रामा एउटै गाडी

ढोरपाटन– बागलुङका दूरदराजका गाउँ मोटर बाटोले जोडिएका छन्। कतिपय गाउँ डेढ दशकअगाडि नै सडकले जोडिएका थिए भने कतिपय हालसालै जोडिएका छन्। कति गाउँ भने जोडिने क्रममा छन्। तर गुणस्तरीय सडक भने कतै छैन।

जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब ६२ किलोमिटर पश्चिममा रहेको पाण्डबखानी गाउँ मोटरबाटोले जोडिएको १७ वर्ष भयो। तर अहिलेसम्म पनि यो सडकको स्तरोन्नति हुन सकेको छैन।

दुर्गम गाउँ त्यसमाथि साँघुरो र जोखिमपूर्ण सडकका कारण दुर्घटनाको जोखिम उच्च छ। जहाँबाट पालिकाको केन्द्र गलकोट हटिया पुग्न दुई घण्टा लाग्छ भने जिल्ला सदरमुकाम पुग्न गाडीमा पाँच घण्टा।

पाण्डबखानीभन्दा १४ किलोमिटर पश्चिम पर्छ, रमुवा गाउँ। गलकोट नगरपालिका–१० मै पर्ने रमुवा गाउँ मोटरबाटोले जोडिएको धेरै भएको छैन। रमुवाबाट पालिका केन्द्र करिब ३५ किलोमिटर पूर्व छ। जहाँबाट पालिकाको केन्द्र हटिया पुग्न पाँच घण्टा बढी लाग्छ। जिल्ला सदरमुकाम पुग्न आठ घण्टा यात्रा गर्नुपर्छ। कच्ची र अव्यवस्थित सडकका कारण पाण्डवखानी र रमुवाका नागरिक कष्टकर यात्रा गर्न बाध्य छन्।

वर्षौदेखि हिँडेर पाण्डवखानीसम्म पुगेर गाडीमा यात्रा गर्ने रमुवावासी अहिले गाउँमै गाडी गुड्न थालेपछि हर्षित छन्। डेढ दशक अगाडि नै मोटर बाटोले जोडिएको पाण्डवखानी अहिलेसम्म स्तरोन्नति नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले यात्रा असहज हुने गरेको छ। स्थानीयबासीले सडकको स्तरोन्नतिको माग गर्दै आए पनि अहिलेसम्म सुनुवाइ भएको छैन। उक्त सडक एक निर्वाचन क्षेत्र, एक रणनीतिक आयोजनाका रूपमा परेको छ।

आर्थिक वर्ष २०७८/७९ मा केन्द्र सरकारले ४० करोड बजेट विनियोजन गरेको थियो। ठेक्का सम्झौता भएर गत वर्षदेखि काम सुरू भए पनि अहिले भने निर्माण कम्पनीले काम गरेको छैन। यही सडक भएर पाण्डवखानी क्षेत्रमा करिब आधा दर्जन जिप तथा पिकअप सञ्चालन हुन्छन्।

सडकको दुरवस्थाका कारण स्थानीयवासी जोखिम मोलेरै यात्रा गरिरहेका छन्। गतिला सवारी साधन छैनन्। गाउँमा सीमित सवारी साधन चल्ने हुँदा स्थानीय जोखिम मोल्न बाध्य भएको गलकोट नगरपालिका–१० का पूर्ववडाध्यक्ष तिलक घर्ती मगरले बताए। डेढ दशक अगाडि नागरिकको सुविधाको लागि सडक खुले पनि स्तरोन्नतिमा सरोकारवाला निकायको ध्यान नपुगेको उनको भनाइ छ। सडक अप्ठ्यारो हुँदा सहज र समयमै गन्तव्यमा पुग्न नसकिने समस्या ज्युँका त्युँ छ। ‘सडक राम्रो हुन्थ्यो भने यात्रा गर्न सहज हुन्थ्यो, यतिका वर्षसम्म पनि सडकको हालत खराब छ, नगरपालिकामा सामान्य काम गर्न आउँदा पनि दिनभरी यात्रा गर्नुपर्ने स्थिति छ,’ उनले भने।

‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक भनेर योजना परे पनि प्रभावकारी रूपमा काम हुन सकेको छैन। सडक अप्ठ्यारो हुँदा गाउँमा कोही बिरामी परे तत्काल अस्पताल पुर्‍याउन बढी समस्या हुने गरेको छ। एम्बुलेन्स आए पनि सडकको खाल्डाखुल्डीका कारण समयमै पुग्न समस्या हुन्छ।

स्थानीयबासी सुरेश छन्त्यालले पाण्डवखानी तथा रमुवा क्षेत्रको मुख्य व्यापारिक केन्द्र गलकोटको हटिया र जिल्ला सदरमुकाम बागलुङ बजार भएको भन्दै सडकको स्थिति खराब हुँदा ढुवानीमा समस्या हुने गरेको बताए।

हिउँदमा जसोतसो गाडी सञ्चालन भए पनि बर्खामा निकै समस्या हुने छन्त्यालको भनाइ छ। सडक स्तरोन्नति भएको भए उपभोक्ता महँगीको मारमा नपर्ने भन्दै अहिले ढुवानी नै महँगो तिर्नु परेको उनले बताए।

गुणस्तरीय सडक नहुँदा गाउँमा उत्पादन हुने कृषि उपज वस्तु पनि बजार पुर्‍याउन समस्या छ। गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले नगरपालिकाले दुई वर्ष अगाडिसम्म मर्मत सम्भारका काम गर्ने गरेको भन्दै अहिले एक निर्वाचन, एक रणनीतिक सडकको आयोजना सञ्चालनमा आएपछि नगरपालिकाले काम नगरेको बताए। ‘नगरपालिकाले सुरु–सुरुमा सडकमा लगानी गरेको थियो, जब केन्द्र सरकारले यहाँ लगानी गर्‍यो त्यसपछि नगरपालिकाबाट बजेट पर्न छोडेको छ, दोहोरो बजेट पर्ने हुँदा यो सडकमा हामीले काम गरेका छैनौँ,’ प्रवक्ता भण्डारीले भने। निर्माण कम्पनीलाई काम गर्ने वातावरण मिलाएको र समयमै काम सक्न खबरदारी गरिरहेको उनको दाबी छ।

-रासस

प्रकाशित: ३ पुष २०८० १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 7 =