सहर मोहले रित्तिँदैछन् बागलुङका गाउँ

गाउँमा युवा भेटिन्नन्, खेतियोग्य जमिन बनमाराले ढाकिए

हिमाल प्रेस २७ जेठ २०८० ८:५७
6
SHARES
सहर मोहले रित्तिँदैछन् बागलुङका गाउँ बागलुङस्थित ढोरपाटन गाउँ। तस्बिर- रासस

बागलुङ– काठेखोला गाउँपालिका-३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई अहिले दिन बिताउन गाह्रो छ। बूढेसकाल लागेपछि उनी गाह्रो काम गर्न सक्दिनन्। घरको सामान्य काम गरेर दिन बिताउनै मुस्किल पर्छ।

दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएपछि उनले एक्लो महसुस गरेकी छन्।छि

मेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसुस गरेकी हुन्। अब गाउँमा मान्छेनै नहुने हुन् कि भन्ने उनलाई चिन्ता छ। एक दशक अगाडिसम्म गाउँबाट बसाइँसराइ गरेर बजार झर्नेको संख्या न्यून थियो तर अहिले दिनप्रति दिन गाउँ छोड्नेको संख्या बढ्दो छ।

उनका जवानीमा सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश गाउँ छोरेर बसाइँ सरेका छन्। पहिले गाउँमा विकास पुगेको थिएन, स्थानीय दुःख गरेर पनि गाउँमै बस्थे। अहिले गाउँ-गाउँमा टोल-टोलमा विकास पुगेको छ मान्छे छैनन्।

गाउँमा ढुंगा, माटो र काठले चिटिक्क बनेका घर रित्तिएर सुनसान बन्दै गएका छन्। खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन्। दशक अगाडिसम्म निकै रमाइलो थियो धम्जा गाउँ तर अहिले बसाइँसराइका कारण चहलपहल हराउन थालेको छ।

०६६ सालमा सडकले जोडिएको धम्जा गाउँमा अहिले विकासले गति लिदै गएको छ तर उपभोग गर्ने स्थानीय थप सेवा सुविधा खोज्दै गाउँ छोड्दै छन्।

पहिले गाउँमा एकै परिवारले सयौं वस्तुभाउ पाल्ने खेती किसानी गर्ने गर्थे। सामान्य सेवा लिनका लागि दिनभरि लगाएर बजार धाउनुपर्ने अवस्था थियो तर अहिले त्यो अवस्था हटे पनि गाउँमा मान्छे बस्न छोड्दै छन्।

स्थानीय महत्त्वकांक्षी बन्दै गएपछि गाउँ रित्तिन थालेको चन्द्रकुमारी बताउँछिन्। आफ्नो पालामा अहिलेको जस्तो यातायात, खानेपानी, विद्युत र स्वास्थ्यको सहज पहुँच नभए पनि गाउँमा मान्छेको चाप बढी भएको भन्दै अहिले सुविधा भएर पनि बसाइँसराइ गरिरहेको उनको बुझाइ छ।

‘उतिबेला अहिलेको जस्तो मोटर गाडी आउँदैनथे, बाटोनै बनेको थिएन, हामी एक साता लगाएर थाकखोला पुगेर ढिके नुन बोकेर आँथ्यौं, स्याङ्जा पुगेर चामल लिएर खान्थ्यौं, चप्पल लगाउने चलन थिएन, खाली खुट्टा हिँड्थ्यौं, अहिलेको जस्तो फेसन-फेसनका लुगा थिएनन् भोटो लगाउँथ्यौं,’ उनले भनिन्,’बिजुली पनि थिएन, दियालो, टुकी बालेर रात बिताउनुपर्‍थ्यो, अहिले यस्तो विकास होला भन्ने त सोचेका थिएनौं, गाउँ पनि धेरै फेरिएको छ, गाउँमा विकास आएर के गर्ने, मान्छे सबै सहर बजारतिर झर्न थाले।’

स्थानीय ६२ वर्षीय नगेन्द्र भण्डारीले रोगार र विदेश हुने अधिकांश युवाको परिवार सहर बजारमा सुविधा खोज्दै झरेको बताए। पछिल्लो १० वर्षमा धम्जाबाट बसाइँसराइ गर्नेको संख्या बढ्दै गएको उनले सुनाए। १४ वर्षअघि गाउँमा सडक नआउँदासम्म स्थानीय गाउँमै दुःख गरेर बसेको भन्दै गाउँमा विकास आउन थालेपछि बजार भर्न थालेको उनले जनाए।

युवा विदेश जना थलेपछि उनीहरूमा महत्त्वकाक्षां बढी हुँदै गएपछि बसाइँसराइ गर्न थालेको भण्डारी बताउँछन्।

‘विदेश जाने संख्या पहिला कम थियो, गाउँमा खेतीपाती, कामधन्दा गर्थे। सरकारले विदेश जाने बाटो सहज बनाई दिएपछि धेरै विदेश जान थाले, पैसा कमाउन थाले त्यसले गर्दा उनीहरूलाई गाउँभन्दा सहर बजार मन पर्न थाल्यो, त्यही भएर अहिले गाउँमा मान्छे कम हुँदै गएका छन्,’ उनले भने।

सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सके र गाउँमा स्वरोजगार सिर्जना गर्नसके मात्रै बसाइँसराइ रोकिने भण्डारीले बताउँछन्। गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। बसाइँसराइका कारण यस वडामा रहेका विद्यालयमा विद्यार्थीको संख्या पनि दिनदिनै घट्दै गइरहेको छ।

काठेखोला गाउँपालिका-३ धम्जाका अध्यक्ष कुलबहादुर विकले बसाइँसराइका कारण जनशक्ति अभाव हुँदा विकास निर्माणमा समस्या हुने गरेको बताए। गाउँमा एकै पटक धेरै आयोजानका काम गर्नु परे उपभोक्ता समितिमा बस्ने मान्छे नहुने उनको भनाइ छ।

उनले जनसंख्या बढी भएको ठाउँमा विकास पनि धेरै हुने र आयआर्जन पनि बढी हुने भन्दै यहाँ विकास र आयआर्जन पनि कम हुने गरेको बताए। धम्जाबाट सबैभन्दा बढी पोखरा, बागलुङ, बुटवल र चिवतनमालगायतका सहरमा बसाइँसराइ गरेर जानेको संख्या ठूलो रहेको अध्यक्ष विकको भनाइ छ।

‘मान्छेहरू अलिअलि पैसा कमाउन थाले भने बजारनै झर्ने गरेका छन्, बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्ने, पर्यटन प्रवद्र्धन गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने, स्रोत साधानको पहिचान गरेर उपयोग गरी स्वरोजगार बनाउने कामतर्फ ध्यान दिएका छौं,’ अध्यक्ष विकले भने, ‘हामीले गर्ने प्रयास गर्छौं, हिजो स्वास्थ्य, शिक्षा, विद्युतलगायतका विकासका पूर्वाधारले नजोडिँदा गाउँमा बस्ने अहिले सबै पुग्दा पनि बजार झर्ने गरेका छन्, बजारको जस्तो सेवा सुविधा गाउँमा नल्याएसम्म बसाइँसराइ रोक्न गाह्रो देखिन्छ।’

वडा कार्यालयको अनुसार चालु आर्थिक वर्षमा मात्रै धम्जा गाउँबाट १० परिवार बसाइँसराइ गरेर बाहिर गरेका छन्। वडामा दर्ता गराएका बाहेक अझै बढी बसाइँसराइ गरेर गाउँ छाड्नेको संख्या बढी रहेको स्थानीयको भनाइ छ। -रासस

प्रकाशित: २७ जेठ २०८० ८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 17 =