एकै दिन हलमा तीन नेपाली र दुई बलिउड फिल्म

हिमाल प्रेस २७ पुष २०८० ९:५५
44
SHARES
एकै दिन हलमा तीन नेपाली र दुई बलिउड फिल्म

काठमाडौँ– तीन साताअघिदेखि नेपाली हलमा नेपाली फिल्म प्रदर्शन भएका थिएनन्। शुक्रबारदेखि भने हलमा तीन नेपाली र दुई बलिउड फिल्म भिड्दैछन्। नेपालीमा ‘चित्रा’, ‘पर्खि बसेँ तिमीलाई’ र ‘ढोरपाटन’ छन् बलिउडमा भने ‘क्याप्टेन मिलर’ र ‘मेरी क्रिसमस’।

घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ पारिवारिक कथामा आधारित छ। फिल्ममा सन्तोष अधिकारी, प्रमोद अग्रहरि, अर्पण थापा, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको अभिनय छ। अधिकारी यसै फिल्मबाट डेब्यु गरेका हुन्।

फिल्म मनीष गौतमको पटकथा एवं संवाद लेखनमा बनेको छ। महेश पौडेलको छायांकन र बनिश शाह र सन्देश शाहको सम्पादन रहेको फिल्मको गीतमा राजनराज शिवाकोटीले संगीत भरेका छन्। ‘चित्रा’ का निर्माता आशिष थापा मगर हुन् भने कलाकार सन्तोष अधिकारी कार्यकारी निर्मातामा छन्।

फिल्मले उपत्यकाका क्यूएफएक्स सिनेमाज, आईएनआई सिनेमाज, वान सिनेमाज, एफक्यूब सिनेमाजलगायत हलमा सीमित सो पाएको छ।

फिल्म ‘पर्खि बसेँ तिमीलाई’ को मुख्य भूमिकामा कलाकार किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकी छन्। दीपक श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा रंगकर्मी श्रेष्ठले डेब्यु गरेका छन्।

फिल्ममा अन्य कलाकार शिव श्रेष्ठ, विल्सनविक्रम राई, रक्षा बुढाथोकी, अनिशा रसाइली, सुनिता श्रेष्ठलगायतको अभिनय छ। फिल्ममा परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको संयुक्त लेखन छ।

नेपालसहित सिक्किममा छायांकन गरिएको फिल्मका छायाकार संकल्प भुजेल हुन्। राजाराम बुढाथोकीले लगानी गरेको फिल्म भूपेन्द्र अधिकारीको सम्पादन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशनमा बनेको छ।

फिल्मले उपत्यकाका क्यूएफएक्स सिनेमाज, आईएनआई सिनेमाज, वान सिनेमाज, एफक्यूब सिनेमाजलगायत हलमा सीमित सो पाएको छ।

वृत्तचित्र फिल्म ‘ढोरपाटन’ शुक्रबारदेखि उपत्यकाको सीडीसी सिनेमाजमा फिल्म प्रदर्शन हुँदैछ। फिल्म जलवायु परिवर्तन र बुढेसकालमा महिलाको एक्लोपनको विषयमा आधारित छ। युरोप र एसियाको फिल्म फेस्टिभलमा ‘नो विन्टर होलिडेज’ को नामले चर्चित फिल्ममा रतिमा विश्वकर्मा र कलिमा विश्वकर्मा मुख्य भूमिकामा छन्।

फिल्म राजन कठेत र सुनिर पाण्डे संयुक्त निर्देशनमा बनेको छ। निर्देशक कठेत नै फिल्मका निर्माता हुन्। साथै फिल्ममा बबिन दुलालको छायांकन र किरण श्रेष्ठको सम्पादन छ।

पहिलो अल्टरनेटिभ फिल्म अवार्डमा ‘नेटिभा’ श्रेणीमा पुरस्कृत भएको थियो। नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि यसले सर्वोत्कृष्ट वृत्तचित्रको पुरस्कार जितिसकेको छ।

दक्षिण भारतीय फिल्म ‘क्याप्टेन मिलर’मा बलिउड अभिनेता धनुषको मुख्य भूमिकामा छन्। फिल्म बेलायती साम्राज्यविरुद्ध संघर्षको कथामा आधारित छ। अरुण माथेश्वरनद्वारा निर्देशित फिल्ममा धनुषका अतिरिक्त प्रियंका मोहन, शिवराज कुमार, निवेदिता सतीश, विनायकन, सन्दीप किशनलगायतको अभिनय छ।

फिल्मले उपत्यकाका क्यूएफएक्स सिनेमाज, आईएनआई सिनेमाज, वान सिनेमाज, एफक्यूब सिनेमाजलगायत हलमा सो पाएको छ।

अर्को बलिउड फिल्म ‘मेरी क्रिसमस’ पनि उपत्यकाका हलमा प्रदर्शन भइरहेको छ। ड्रामा र थ्रिलर जनरामा बनेको फिल्ममा निर्देशक श्रीराम राघवन हुन्। फिल्ममा विजय सेतुपति, कट्रिना कैफ, राधिका आप्टेलगायत कलाकारले अभिनय गरेका छन्। यसबाहेक हलमा सलार, डंकी, एनिमल र ड्रिम सिनारियो प्रदर्शन भइरहेका छन्।

प्रकाशित: २७ पुष २०८० ९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =