एफएनसीसीआईले देशभर लगानी सम्मेलन गर्ने

हिमाल प्रेस १७ असोज २०८० १२:५४
एफएनसीसीआईले देशभर लगानी सम्मेलन गर्ने

ढोरपाटन- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आर्थिक संकट समाधानका लागि ‘रोडम्याप’ बनाउने भएको छ।

एफएनसीसीआईले सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहकार्यमा वृहत राष्ट्रिय विमर्श गरि अर्थतन्त्र संकटमोचनको ‘रोडम्याप’ बनाउने निर्णय गरेको हो।

बागलुङको ढोरपाटनमा सम्पन्न महासंघको कार्यकारिणी समितिको तेस्रो बैठकले सबै पक्ष मिलेर समस्याको समाधान खोज्न आग्रह गर्दै अहिलेको संकटको निकास निकाल्ने गरि असोजको अन्तिम साता राष्ट्रिय विमर्शको आयोजना गर्ने निर्णय गरेको हो।

सरकार तथा नियामक निकायले निजी क्षेत्रले उठाएका विषय गम्भीरतापूर्वक नलिने र अर्थतन्त्र तथा व्यवसायका विषय निजी क्षेत्रका मात्र समस्या हुन् भन्ने गरेको महासंघको गुनासो रहेको छ। त्यसैले अहिलेको संकट समाधानका लागि अर्थतन्त्रका सबै सरोकारवाला एक हुनुपर्ने निजी क्षेत्रको धारणा छ।

कार्यकारिणी समितिको निर्णय सार्वजनिक गर्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमण वर्ष, २०२५ लाई सफल बनाउनेसहित ४ वटा महत्त्वपूर्ण निर्णय गरेको जानकारी दिए।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण दशकलाई सफल बनाउने गरी निजी क्षेत्रले भ्रमण वर्षभर महासंघको केन्द्र, प्रदेश र जिल्ला/नगरमा पर्यटन पवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्नुका साथै महासंघ तथा यसका सदस्य संघ/संस्थाका लेटर प्याडमा भ्रमण वर्षको लोगो राख्ने उनले बताए।

त्यसैगरी महासंघले सातवटै प्रदेश सरकारसँगको सहकार्यमा लगानी सम्मेलन गर्ने, भारत तथा चीनको लगानी भित्र्याउन केन्द्र सरकारसँगको सहकार्यमा भारत तथा चीन केन्द्रित राष्ट्रियस्तरका सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ।

महासंघले ७७ वटै जिल्लाका व्यवसायीको सहभागितामा वृहत लगानी कम्पनी स्थापना गरि ठूला तथा बहुआयामिक आयोजनामा लगानी गर्ने निर्णय गरेको ढकालले बताए।

महासंघका सदस्यमा संस्थाप्रति अपनत्वको भावना विकास गर्दै स्थानीय सम्भावनालाई पहिचान गरी लगानी अभिवृद्धि गर्न महासंघले मुलुकभित्रका सम्भावनायुक्त विभिन्न स्थानमा महासंघका बैठक आयोजना गर्न सुरु गरेको छ।

यसै क्रममा महासंघको कार्यकारिणी समितिको तेस्रो वैठक अध्यक्ष ढकालको गृह जिल्ला बागलुङ जिल्लाको ढोरपाटनमा सोमबार सम्पन्न भएको छ। ढोरपाटन बागलुङ जिल्लाको ऐतिहासिक र पर्यटकीय क्षेत्र हो।

प्रकाशित: १७ असोज २०८० १२:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 19 =