कोरियाका व्यवसायीलाई नेपालमा लगानी बढाउन अध्यक्ष ढकालको आग्रह

हिमाल प्रेस २२ कार्तिक २०८० १५:५६
4
SHARES
कोरियाका व्यवसायीलाई नेपालमा लगानी बढाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र दक्षिण कोरियासँगको बढ्दो व्यापार असन्तुलन कम गर्न लगानी साझेदारीका लागि आग्रह गरेका छन्। नेपाल–कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोरियाबाट हुने आयातको तुलनामा नेपालबाट हुने निर्यात नगण्य रहेकाले व्यापार सन्तुलन मिलाउन जरुरी भइसकेको बताएका हुन्।

अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी गरि मुख्य चार क्षेत्रमा लगानी साझेदारी बढाउन सकिने बताएका हुन्। यी क्षेत्र नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको र यही क्षेत्रमै कोरियाली विशेषज्ञता र लगानी विस्तार भइरहेकोले दुवै देशलाई ‘विनविन’को अवस्था सिर्जना हुने पनि अध्यक्ष ढकालले उल्लेख गरे।

नेपालमा ठूलो लगानीका ३५० भन्दा बढी कोरियाली उद्यम भएकाले पनि नेपाल कोरियाका लागि आकर्षक लगानी गन्तव्य भइसकेको छ। यसरी बढ्दो साझेदारीलाई थप विस्तार गरी अत्याधुनिक कोरियाली प्रविधि र नेपालको प्राकृतिक स्रोत तथा जनशक्तिको मेल गराउने समय आएकोमा पनि अध्यक्ष ढकालले जोड दिए।

नेपालले विकासोन्मुख देशको रूपमा अर्थतन्त्रलाई विविधीकरण गर्न पनि कोरियासँगको साझेदारी महत्त्वपूर्ण रहने अध्यक्ष ढकालले उल्लेख गरे। उनले कोरियाली लगानी विस्तार हुँदा नेपाललाई दक्षिण एसियामा व्यापार र वाणिज्यको केन्द्र बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

केही नेपाली बैंक कोरियामा शाखा सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा रहेको उल्लेख गर्दै त्यसलाई सकेसम्म छिटो टुंग्याउन पनि अध्यक्ष ढकालले आग्रह गरेका छन्। औपचारिक र सहज बैंकिङ कारोबारले व्यापार र लगानी बढाउन सहयोग पुग्ने उनको भनाइ छ।

ग्रिन फाइनान्समा कोरियाको अनुभव र नेतृत्वबाट नेपालले फाइदा लिनुपर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले निजी इक्विटी र नयाँनयाँ उद्यममा यस्तो पुँजी परिचालनमा कोरियाले सघाउनुपर्ने बताए। कोरियामा धेरै नेपाली काम गर्ने भएकाले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा संयुक्त लगानीका अवसरहरूमा पनि काम गर्नुपर्ने अध्यक्ष ढकालले बताए। त्यसका लागि कोरियाली लगानीकर्तालाई नेपाल आउन, अवसर खोज्न र लगानीको सहज वातावरण बनाउन महासंघले सहयोग गर्न तत्पर रहेको ढकालले दाबी गरेका छन्।

प्रकाशित: २२ कार्तिक २०८० १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 2 =