नेपालमा लगानी बढाउन एसिया–प्रशान्त क्षेत्रका लगानीकर्तालाई ढकालको आग्रह

हिमाल प्रेस २० कार्तिक २०८० १५:४२
12
SHARES
नेपालमा लगानी बढाउन एसिया–प्रशान्त क्षेत्रका लगानीकर्तालाई ढकालको आग्रह

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन, आईसीटी, औषधि र जडीबुटी क्षेत्रमा लगानी बढाउन एसिया–प्रशान्त क्षेत्रका लगानीकर्तालाई आग्रह गरेका छन्।

एसिया–प्रशान्त चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (क्यासी) परिसंघको आज काठमाडौँमा सुरु ३७औँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन आग्रह गरेका हुन्।

नेपाली अर्थतन्त्रले ठूला प्राकृतिक प्रकोप र विश्वव्यापी आर्थिक धक्कालाई थेगेर वृद्धितर्फ उन्मुख रहेको बताउँदै अध्यक्ष ढकालले आत्मविश्वासका साथ लगानी बढाउन सकिने समय आएको बताएका हुन्। पर्याप्त विदेशी मुद्रा सञ्चिति र बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेकाले लगानीकर्ताका लागि जोखिम कम हुँदै गएको पनि अध्यक्ष ढकालले उल्लेख गरे।

नेपालको जलविद्युतलाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णय र बंगलादेशको आर्थिक वृद्धिले जलविद्युतको प्रचुर बजार सृजना भएको उल्लेख गर्दै अध्यक्ष ढकालले जलविद्युत् परियोजनामा लगानीका अवसर छोप्नुपर्ने समय आएको बताएका हुन्।

नेपालमा विश्वस्तरीय होटल र विमानस्थललगायत पर्यटन पूर्वाधार बनिसकेकोले पर्यटन बजारले थप निजी लगानी खोजिरहेको पनि अध्यक्ष ढकालले बताए। बढ्दो पर्यटन बजारका लागि केबलकार, रिसोर्ट, थिम पार्क, हिल स्टेसन र ठूला होटललगायतका पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे।

नेपालले निर्यात बजार विस्तार गरिरहेको र विभिन्न मुलुकसँग सहुलियतपूर्ण व्यापार सम्झौतासमेत भएकाले निर्यात केन्द्रित लगानी बढाउन पनि अध्यक्ष ढकालले आग्रह गरेका छन्।

नेपालले दक्षिण एसिया, एसिया प्यासिफिक क्षेत्र र त्यसभन्दा बाहिर भौतिक पूर्वाधार र डिजिटल कनेक्टिभिटी विस्तार गरिरहेको उल्लेख गर्दै ढकालले डिजिटल अर्थतन्त्रको विकासमा साझेदारीका लागिसमेत आग्रह गरेका छन्।

महासंघले लगानीका अवसरहरूको खोजी गर्न र लगानीमा हुने अवरोध हटाउन लगानीकर्ताहरूलाई सहयोग गर्न तयार रहेको पनि अध्यक्ष ढकालले विश्वस्त रहन आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nineteen =