विद्युत् महसुल नबुझाउने ग्राहकको तीनपुस्ते विवरण संकलन गर्न कर्मचारी परिचालन

हिमाल प्रेस १४ असोज २०८० ९:३८
8
SHARES
विद्युत् महसुल नबुझाउने ग्राहकको तीनपुस्ते विवरण संकलन गर्न कर्मचारी परिचालन

वीरगञ्‍ज- लामो समयदेखि विद्युत् महसुल नबुझाउने १ हजार ८ सय २३ ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अघि बढाइएको छ। विद्युत् उपभोग गरे पनि लामो समयसम्म महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर बक्यौता असुल गर्न विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्‍जले कारबाही अघि बढाएको हो।

कार्यालय प्रमुख अवधेश दुबेका अनुसार कालोसूचीमा रहेका ग्राहकको तीनपुस्ते विवरण यकिन गर्न कर्मचारीको टोली परिचालन गरिएको छ। टोलीले यकिन गरेपछि ग्राहकमाथि थप कारबाही अघि बढाइने प्रमुख दुबेले बताए।

कालोसूचीमा रहेका ग्राहकबाट ७ करोड ६५ लाख ५६ हजार ७ सय ६३ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको कार्यालय प्रमुख दुबेको भनाइ छ। लामो समयदेखि वर्षा नहुनु, बढ्दो गर्मी र पर्सा–बारा करिडोरका औद्योगिक क्षेत्रका उद्योगमा विगतको भन्दा कम विद्युत्को उपयोग हुनुजस्ता कारणले आर्थिक वर्ष २०७९/८० मा विद्युत् चुहावट ०.५ प्रतिशतले बढेको छ।

गत आव २०७८/७९ मा विद्युत् चुहावट ४.९८ प्रतिशत रहेकामा आव २०७९/८० मा ५.०३ प्रतिशत विद्युत् चुहावट भएको प्रमुख दुबेले जानकारी दिए। उनका अनुसार आव २०७९/८० मा विद्युत् महसुल नबुझाउने २ हजार ४ सय ६८ ग्राहकको विद्युत् लाइन काट्दा १ हजार ९ सय ६ ग्राहकबाट ११ करोड ४० लाख ७२ हजार ६ सय १५ रुपैयाँ बाँकी बक्यौता रकम असुली भएको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्‍जका इन्जिनीयर निर्मल फौजदारले बताए।

त्यस्तै सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ७१ जनालाई पक्राउ गरी जरिवानाबापत १२ लाख २४ हजार ७ सय २४ रुपैयाँ राजस्व संकलन भएको इन्जिनीयर फौजदारले जानकारी दिए।

आव २०७९/८० मा २ हजार ४ सय ४२ नयाँ ग्राहक थपिएका छन्। योसँगै वीरगञ्‍ज क्षेत्रमा ग्राहकको संख्या ५४ हजार २ सय ३ पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्‍जले बताएको छ। रासस

प्रकाशित: १४ असोज २०८० ९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =