पर्यटकलाई अचार कोसेली

हिमाल प्रेस १४ असोज २०८० ८:४२
8
SHARES
पर्यटकलाई अचार कोसेली rbt

झापा- गौरादह नगरपालिका-५ मा रहेको नमूना एकीकृत सहकारी खेती बीउ उत्पादन समूहमा आबद्ध महिलाले अचार, पापडलगायत ६ वटा नमूना उद्योग सञ्चालन गरेका छन्।

सहकारीमा आबद्ध महिलाले आफू स्वरोजगार बन्ने र स्थानीय क्षेत्रमा उत्पादित सामग्री अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्देश्यले उद्योग सञ्चालन गरेको बताएका छन्। यसमध्ये अचार उद्योग भने राम्रैसँग फस्टाएका छन्।

आचार बिक्रीबाटमात्रै महिलाले वार्षिक ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। सहकारीमा आबद्ध सेयर सदस्यले उत्पादन गरेका अर्गानिक कृषिजन्य वस्तु कागती, आँप, गाँजर, तामा, जलपाई र चारपाटे, अकबरे खुसार्नीलगायत विभिन्न प्रकारका आचार चार वर्ष अघिदेखि उत्पादन गर्दै आएको नमूना आचार उद्योगकी अध्यक्ष सकुन्तला प्याकुरेलले बताइन्।

उनले अकबरे खुर्सानी भने इलाम, पाँचथरबाट खरिद गरेर ल्याउने गरेको बताइन्। महारानी झोडा साना किसान कृषि सहकारी र एकीकृत नमूना सहकारी खेतीमा दैनिकजसो मुलुकका विभिन्न स्थानका संघसंस्थाबाट भ्रमणमा आउन थालेपछि पर्यटकलाई यस क्षेत्रको कोसेली हुने र आम्दानीको स्रोत पनि बन्ने देखेर नमूना अचार उद्योग सञ्चालन गरेको उनले बताइन्।

सुरुमा ६ जना महिला मिलेर १८ हजार रुपैयाँबाट सुरु गरेको आचार उद्योगको हाल आफ्नै भवनसहित सुविधा सम्पन्न ल्याब र अचार बनाउने औजारसहित ३५ लाख रुपैयाँ बराबरको सम्पत्ति छ।
उनले वार्षिक आचार बिक्रीमार्फत ६ लाख रुपैयाँ आम्दानी हुने गरेको बताइन्।

महिलाहरूको जाँगर र पौरख देखेपछि उद्योगलाई भवन बनाउनका लागि गौरादह नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय झापाले आर्थिक सहयोग गरेका थिए।

घरायासी कामधन्दा सकेर बचेको समय महिलाहरूले आचार उद्योगलाई दिँदै आएको उनको भनाइ छ । ‘नाफा बाँडेका छैनौँ, जति कमाउँछौँ त्यही उद्योगमा लगानी बढाइरहेका छौँ,’ अध्यक्ष प्याकुरेलले भनिन्, ‘यहाँ उत्पादित अचारलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ। जब लक्ष्यमा पुग्छौँ अनि मात्र मुनाफा बाड्छौँ।’

महिलाहरूको मेहनत र परिश्रम देखेर एक वर्षका लागि सिट कन्ट्याक्ट नामक विदेशी एनजीओले सहज नेपालमार्फत आर्थिक सहयोग गरिरहेको छ। नेपालले बजारीकरण, प्रयोगशाला सञ्चालन र कर्मचारीलगायत विभिन्न कार्यमा लाग्ने खर्चको ५५ प्रतिशत सहयोग गरिरहेको अध्यक्ष प्याकुरेलको भनाइ छ।

नेपालले अचार, पापड र दुग्ध परिकार उद्योगलाई नै जम्मा लगानीको ५५ प्रतिशतले आर्थिक सहयोग गरिरहेको छ। सहकारीले हाल चिप्स उद्योग, माछापालन, नमूना कडटम हाइरिङ, बागबानी खेती, गाई फार्म, नमूना फुड्स् उद्योग, नमूना घरबास र नमूना खाद्य उद्योग सञ्चालन गरिरहेको छ।

यहाँ उत्पादित सामग्री बिक्री वितरणका लागि कोसेली घर स्थापना गरिएको छ। सहकारी क्षेत्रका भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकले दैनिक १० देखि १५ हजारसम्मको आचार कोसेली घरबाट खरिद गरेर लैजाने गरेका छन्।

उद्योगमा उनीहरूले आफूमात्र नभएर, गाउँका अन्य महिलालाई समेत रोजगारी दिँदै आएका छन्। ‘यहाँ सञ्चालित उद्योग व्यवसायले हामी सदस्यलाई मात्र फाइदा गरेको छैन, उद्योगमा काम गर्ने सबैलाई आर्थिक उपार्जनको बाटो खोलेका छौँ।’ यहाँ उत्पादित सामान झापा, मोरङ, सुनसरी, इलाम, हेटौँडा र काठमाडौँसम्म पुग्ने गरेको छ। रासस

अचार उद्योगमा भ्याइनभ्याइ, ६ जनालाई रोजगारी

प्रकाशित: १४ असोज २०८० ८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =