पर्यटकले भरिभराउ घलेगाउँका होमस्टे

हिमाल प्रेस २० मंसिर २०८० २०:३५
30
SHARES
पर्यटकले भरिभराउ घलेगाउँका होमस्टे

लमजुङ-  लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण क्व्होलासोथार गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा यतिबेला पर्यटक चहलपहल हुन थालेको छ।

तिहारपछि यहाँ दैनिक सयदेखि चार सय जनासम्म पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताए। उनले भने, ‘पर्यटक वृद्धि हुँदा घरबास सञ्चालक यतिबेला उनीहरूको सेवामा व्यस्त भइरहेका छन्।

पर्यटक आगमन हुँदा आम्दानीसमेत भइरहेको घरबास सञ्चालकको भनाइ छ। यहाँ पर्यटकीय याममा प्रतिघरबासले ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन्। घरबास सञ्चालक हेमकुमारी गुरुङले भनिन्, ‘यतिबेला पर्यटक आगमन हुँदा यहाँका घरबास सञ्चालकलाई दुई चार पैसासमेत दैनिकजसो आम्दानी हुन थालेको छ। पर्यटकले भरिभराउ हुन थालेसँगै घलेगाउँ घरबासका सञ्चालक हर्षित भएका छन्।’

२०५७ देखि सञ्चालनमा आएको यस घरबासमा यतिबेला ४४ घरमा घरबास (होमस्टे) सञ्चालनमा रहेका छन्। तीन सय जना पर्यटक एक रातमा बास बस्न सक्ने छन्, साथै यहाँ दुई वटा होटलसमेत सञ्चालनममा रहेका छन्। घरबासमा पुगेका पर्यटकका लागि सत्कार सँगसँगै आफ्ना कला, वेशभूषा संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरुको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ।

२०६२/०६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो। नेपाल आदिवासी जनजातिमध्ये गुरुङको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ हो। यस गाउँमा करिब एक सय ३५ घरधुरी रहेको छ।

यहाँबाट आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमाल, सात हजार आठ सय ३५ मिटरमा रहेको ङादीचुली (डा. हर्क हिमाल), सात हजार नौ सय ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), ६ हजार ९ सय ६३ मिटर उचाइको माछापुच्छ्रे हिमाल, सात हजार आठ सय ९३ मिटर उचाइको हिमालचुली, ६ हजार ९ सय ८६ मिटर उचाइको लमजुङ हिमाल र ६ हजार ६ सय ७२ मिटर उचाइको बुद्ध हिमाल देखिन्छ।

यहाँ अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको सालिकसमेत देख्न सकिन्छ। यस ठाउँमा आउने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाइएका अर्गानिक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुलगायतको परिकार खुवाउने गर्दछन्।

घरबासमा आएका पर्यटकलाई सत्कार सँगसँगै आफ्ना कला संस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायतका लोपोन्मुख सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ।

गाउँमा आएका पर्यटकलाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फूल, फूलको माला, गुच्छा र खादा चढाइन्छ। पर्यटकलाई गुन्द्रुक, मकै, भटमास, कोदोको सेलरोटी, चियालगायतका परिकार खुवाइन्छ। पर्यटकका लागि गुरुङ संस्कृति झल्किने गीत तथा नाच प्रस्तुत गरी भरपुर मनोरञ्जन दिलाइन्छ।

पाहुना तथा पर्यटकलाई समाज घरमा लगेर गुरुङ संस्कारमा आधारित कृष्णचरित्र नाच, घाँटु, घ्याब्रे, लामा, सोरठीलगायत विभिन्न परम्परागत नृत्य प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो। घलेगाउँमा प्रतिव्यक्ति एक रातको १ हजार २ सय ५० शुल्क लिइन्छ। सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ।

साथै बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन्। यस गाउँमा पैदलयात्रा गरेमा करिब ६ घण्टा समय लाग्दछ भने, काठमाडौँबाट तनहुँको डुम्रे बजार हुँदै बेँसीसहरसम्मको एक सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेँसीसहरसम्म एक सय १० किमीको दूरीमा रहेको छ। त्यस्तै बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ। घलेगाउँसम्म पुग्ने सडक पूर्वाधार विकास भइरहेको छ।

प्रकाशित: २० मंसिर २०८० २०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + thirteen =