गोरखा- बूढीगण्डकी नदीमा आइतबार बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्याउँदा गोरखाको मनास्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बीचैमा रोकिएका छन्।
मनास्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार सबै पर्यटक सुरक्षित स्थानमा रहेको र उद्धारका लागि पहल भइरहेको छ।
मनास्लु संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुमनुब्री गाउँपालिका-३ जगतमा १०० भन्दा बढी विदेशी पर्यटक रोकिएको उनको भनाइ छ।
‘शनिबार ९८ जना विदेशी पर्यटक संरक्षण क्षेत्रमा प्रवेश गर्नुभएको थियो, रातिसम्म जगत आइपुगेका अन्य पर्यटक त्यहीँ सुरक्षित रूपमा रहनुभएको छ’, संरक्षण अधिकृत ओझा भन्छन्,‘हेलिकप्टरबाट उद्धारका लागि पहल भइरहेको छ।’
बाढीले मनास्लु जाने मुख्य पदमार्ग, झोलुंगे पुललगायतमा क्षति पुर्याएका कारण पर्यटकको आवातजावत रोकिएको हो। चुमनुब्री-६ लोक्पामा पनि १७ जना पर्यटक उद्धारको पखाईमा छन्।
यस्तै चुम उपत्यका क्षेत्रको छेकम्पारमा ४० जना पर्यटक रहेको संरक्षण अधिकृत ओझाले बताए।
विदेशी पर्यटकसहित भरिया, पथप्रदर्शक पनि बीचैमा रोकिएकाले उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भइरहेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए।
‘मनास्लु संरक्षण क्षेत्रमा कति पर्यटक छन् भनेर तथ्यांक लिने र उनीहरूको उद्धार तथा सुरक्षित आवागमनको सुनिश्चितताका लागि पहल भइरहेको छ’, उनले भने,‘मुख्य पर्यटकीय याममा भइरहेका प्राकृतिक विपद्का घटनाले पर्यटन क्षेत्रमा असर पुगेको छ।’



