बूढीगण्डकी नदीमा बाढीपछि बाबुरामले गरे प्रभावित क्षेत्रको स्थलगत अवलोकन र मन्त्री लम्सालसँग कुराकानी

हिमाल प्रेस २५ असोज २०८३ १७:४९ | Sunday, October 11, 2026
10
SHARES
बूढीगण्डकी नदीमा बाढीपछि बाबुरामले गरे प्रभावित क्षेत्रको स्थलगत अवलोकन र मन्त्री लम्सालसँग कुराकानी

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बूढीगण्डकी नदीमा आइतबार आएको भीषण बाढीबाट प्रभावित गोरखाका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्दै पीडितको उद्धार, तत्कालीन व्यवस्थापन र दीर्घकालीन पुनर्स्थापनाका लागि सक्रियता देखाएका छन्।

भट्टराईले गोरखाको आरुघाट बजार, शान्तिबजारलगायत बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका हुन्। उनले प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्नुका साथै स्थानीय बासिन्दा, जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेका हुन्।

अवलोकनका क्रममा भट्टराईले गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटा, प्रमुख जिल्ला अधिकारी, आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङ, सडक विभागका महानिर्देशकलगायतसँग बाढीले पुर्‍याएको क्षति, प्रभावितको अवस्था र राहत तथा पुनर्स्थापनाका विषयमा जानकारी लिएका छन्।

उनले बाढीपीडितको तत्काल व्यवस्थापन र दीर्घकालीन पुनर्स्थापनाका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालसँग पनि फोनमा कुराकानी गर्दै बाढीपछि उत्पन्न परिस्थितिको व्यवस्थापन तथा आवश्यक पूर्वाधारसम्बन्धी कामका विषयमा छलफल गरेका छन्।

यसैबीच, भट्टराईले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामासँग पनि त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्।

बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक उद्धार, राहत र व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय तथा सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ।

प्रकाशित: २५ असोज २०८३ १७:४९ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast