जेनजी आन्दोलनमा घाइतेको अवस्था बुझ्न दुई मन्त्री अस्पतालमा

हिमाल प्रेस ९ मंसिर २०८३ २०:५० | Wednesday, November 25, 2026
जेनजी आन्दोलनमा घाइतेको अवस्था बुझ्न दुई मन्त्री अस्पतालमा

काठमाडौँ- जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा पुनर्स्थापनाबारे जानकारी लिन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता आज महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन्।

मन्त्रीहरूले उपचाररत ढकालसँग प्रत्यक्ष भेट गरी स्वास्थ्य अवस्था, हालसम्मको उपचार प्रगति र आगामी उपचारका आवश्यकताबारे जानकारी लिए। सो क्रममा उनीहरूले शान्तनुका बुबासँग समेत भेट गरी उपचारका क्रममा परिवारले भोग्नुपरेका कठिनाइ, आर्थिक तथा सामाजिक अवस्था र परिवारका आवश्यकताबारे जानकारी लिए।

भेटका क्रममा मन्त्री बादीले शान्तनुको उपचारसँगै उनको आगामी जीवन र परिवारको भविष्यलाई समेत राज्यको चासो र जिम्मेवारीको विषयका रूपमा हेरिनुपर्ने बताइन्। उपचारपछिको पुनर्स्थापना, परिवारको रोजगारी, शिक्षाको निरन्तरता तथा अन्य आधारभूत आवश्यकतामा मन्त्रालयका तर्फबाट आवश्यक समन्वय र सहजीकरण गरिने उनले बताइन्।

शान्तनु र उनको परिवारलाई आवश्यक परेको अवस्थामा मन्त्रालय सहयोगका लागि साथमा रहने उनको भनाइ थियो।

त्यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचारका क्रममा देखिन सक्ने स्वास्थ्यसम्बन्धी जटिलता, थप शल्यक्रिया तथा अन्य उपचार आवश्यकताका विषयमा स्वास्थ्य मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताइन्।

उपचार प्रक्रियालाई प्रभावकारी र सहज बनाउन सम्बन्धित स्वास्थ्य संस्था तथा चिकित्सकसँग आवश्यक समन्वय गरिने उनले बताइन्।

दुवै मन्त्रीले शान्तनुको अवस्थालाई केवल उपचारको विषयका रूपमा मात्र नहेरी स्वास्थ्योपचारपछि सम्मानजनक जीवनयापन, सामाजिक पुनर्स्थापना, शिक्षा र आर्थिक आत्मनिर्भरतासँग जोडेर सम्बोधन गर्नुपर्ने धारणा राखे।

प्रकाशित: ९ मंसिर २०८३ २०:५० | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast