लुम्बिनीमा १० लाख पर्यटक

विनोद परियार २३ पुष २०८० ११:५४
36
SHARES
लुम्बिनीमा १० लाख पर्यटक

सन् २०२३ मा ३ लाख ४२ हजार ७२० विदेशी र ६ लाख ५६ हजार २१८ नेपालीले लुम्बिनी भ्रमण गरेका छन्।

विश्व सम्पदा सूचीमा सूचीकृत अन्तर्राष्ट्रिय पर्यटकीय र धार्मिक स्थल लुम्बिनीमा पर्यटक आगमनको ग्राफ उकालो लाग्न थालेको छ। सन् २०१९ मा झन्डै १६ लाख आन्तरिक र बाह्य पर्यटकले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए। त्यसयता कोभिडका कारण सन् २०२२ सम्म ओरालो लागेको पर्यटकको आगमन सन् २०२३ देखि क्रमशः उकालो लाग्न थालेको हो।

सन् २०२३ मा भारतसहित तेस्रो मुलुकका ३ लाख ४२ हजार ७२० विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोष सूचना शाखाको तथ्यांकले देखाएको छ। २०२३ मा लुम्बिनीमा ६ लाख ५६ हजार २१८ जना नेपाली पर्यटक घुमेका छन्। यस हिसाबले लुम्बिनीमा गत वर्ष आन्तरिक र बाह्य गरी ९ लाख ९८ हजार ९३८ जनाले भ्रमण गरेका छन्। यो संख्या सन् २०२२ को तुलनामा ९.५ प्रतिशतले बढी हो। सन् २०२२ मा ९ लाख ३ हजार ८८३ जनाले लुम्बिनी भ्रमण गरेका थिए।

पुरानै लय समात्दै

लुम्बिनी आउने विदेशी पर्यटकमध्ये भारतबाट सबैभन्दा धेरै छन्। भारतबाट सन् २०२३ मा २ लाख ६६ हजार ५१० र तेस्रो मुलुक (पासपोर्टधारी) पर्यटक ७६ हजार २१० रहेका छन्। समग्रमा भारतसहित तेस्रो मुलुकका पर्यटकको आवागमन पुरानै लयमा आउन थालेको देखिन्छ। चार वर्षअघि सन् २०१९ मा १ लाख ७४ हजार १५ विदेशी पर्यटक लुम्बिनी आएका थिए। तथ्यांक हेर्दा लुम्बिनीमा अहिले विदेशी पर्यटकको सन् २००७ को अवस्थामा छ। २००७ मा तेस्रो मुलुकबाट ७१ हजार ५३ जना लुम्बिनी घुम्न आएका थिए। सन् २००८ मा ८२ हजारले ७५ जना, २००९ मा ८२ हजार ४७५ जना र सन् २०१० मा ९९ हजार ८०५ विदेशी लुम्बिनी भ्रमणमा आएको तथ्यांक छ।

सन् २०११ मा पहिलो पटक तेस्रो मुलुकका पर्यटक आगमन एक लाख नाघेको थियो। उक्त वर्ष १ लाख २८ हजार विदेशी पर्यटक लुम्बिनी आएका थिए। त्यसयता क्रमशः बढेर १ लाख ७५ हजारसम्म पुगेको थियो। कोभिडपछि लुम्बिनी घुम्ने पर्यटकको संख्या सन् २०२० मा ४५ हजारमा झरेको थियो। उक्त वर्ष जनवरी, फेब्रअरी र मार्चमा मात्र पर्यटक आएका थिए।

अप्रिलबाट लकडाउन भएपछिका महिना लुम्बिनीमा पर्यटकीय चहलपहल शूल्य बनेको थियो। सन् २०२१ मा १ हजार १९७ मात्र विदेशी पर्यटक आएको कोषले जनाएको छ। सन् २०२२ मा २३ हजार ९४२ तेस्रो मुलुकका पर्यटक आएका थिए। तर सन् २०२२ को तुलनामा विदेशी पासपोर्टधारी पर्यटकको संख्या उल्लेख्य बढेको छ।

लुम्बिनी भ्रमण गर्न आउने आन्तरिक पर्यटकको संख्या पनि उल्लेख्य छ। ‘आन्तरिक र बाह्य पर्यटक दुवै वृद्धि भएको देखिन्छ, यो उत्साहजनक हो’, लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले भने। तर उनले सन् २०१९ कै लयमा फर्कनका लागि अझै धेरै प्रयास गर्नुपर्ने देखिएको बताए। भारतीय टुर अपरेटरहरूले प्राथमिकता नदिने, नारायणग–बुटवल सडकखण्डको निर्माणाधीन सडकको दुरवस्थालगायतका कारणले पनि आन्तरिक र बाह्य पर्यटक अपेक्षाकृत नआएको बस्नेतको बुझाइ छ। उनले तुलनात्मक रूपमा कोभिडपछिको अवस्थामा निकै सुधार आए पनि पुरानै अवस्थामा फर्कन केही अवरोध रहेको बताए।

लुम्बिनी आउने भारतबाहेक तेस्रो मुलुकका नागरिकमध्ये श्रीलंकाका सबैभन्दा बढी १६ हजार १७२ जना छन्। दोस्रोमा थाइल्याण्डका १५ हजार ७२१ जना छन्। छिमेकी मुलुक चीनबाट ६ हजार ११३ जना लुम्बिनी भ्रमणका लागि आएका छन्।

तेस्रो मुलुकबाट लुम्बिनी आउनेको संख्या सन् २०२२ भन्दा उल्लेख्य बढेको हो। २०२२ मा तेस्रो मुलुकबाट लुम्बिनी आउनेको संख्या २३ हजार ९४२ रहेको थियो।  कोरानाअघि सन् २०१९ मा १ लाख ७४ हजार १५ जना तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेको तथ्यांक छ।

भारतीय पर्यटकको संख्या भने यस वर्ष पुरानै अवस्थामा फर्किएको छ। कोरोना महामारीअघि सन् २०१९ मा भारतबाट २ लाख ६ हजार १७१ नागरिक लुम्बिनी घुम्न आएका थिए। यो तथ्यांक सन् २०२३ को भन्दा ६० हजार ३३९ अर्थात् २२.६ प्रतिशतले कम हो। यसैगरी सन् २०२२ मा २ लाख ३० हजार ८६३ भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेको तथ्यांक छ।

लुम्बिनीमा बेलायत, ताइवान, सिंगापुर, रसिया, म्यानमार, मलेसिया, जापान, इटली, इन्डोनेसिया, फ्रान्स, क्यानडा, कम्बोडिया, अस्ट्रेलियाबाट आउने पर्यटकको संख्या धेरै हुन्छ। त्यस्तै अर्जेन्टिना, अर्मेनिया, बेल्जियम, बुल्गेरिया, ब्राजिल, चिली, कोस्टारिका, क्रोएसिया, साइप्रस, इजिप्ट, इस्टोनिया, इक्वेडर, घाना, ग्वाटेमाला, इरान, केन्या, लिबिया, लाओस्, उरूग्वे, स्विटजरल्यान्ड, स्विडेन, सुडान, स्लोभेनियालगायत मुलुकका पर्यटकसमेत आउने गर्छन्।

आशावादी निजी क्षेत्र

लुम्बिनीमा पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, संयुक्त राष्ट्रसंघका महासचिव एन्टिरियो गुटरेसलगायत विश्वका प्रभावशाली व्यक्तिले भ्रमण गरे। विभिन्न देशका राजदूतको भ्रमणले पनि अन्तर्राष्ट्रिय स्तरमा लुम्बिनीको प्रचारप्रसार भइरहेको छ।

प्रचारसँगै बाह्य पर्यटकको संख्या बढ्न थालेपछि निजी क्षेत्र पनि आशावादी देखिएको छ। कोभिडका कारण करिब २ वर्षसम्म बन्दकै अवस्थामा रहेका होटल सन् २०२३ मा आएका पर्यटरुको संख्याले केही आशा जगाएको होटल संघ लुम्बिनीका सल्लाहकार खिम श्रेष्ठले बताए।

उनले लुम्बिनीमा आएका पर्यटक अझै पनि लामो समय नबस्दा होटल व्यवसायीहरुले लाभ लिन नसकेको बताए।  ‘पर्यटकको क्वालिटी र लेन्थ अफ स्टे निकै कम छ, अहिले बिस्तारै युरोपेली देशका पर्यटक आएको देखिन्छ तर धेरै खर्च गरेको पाइँदैन’, श्रेष्ठले भने, ‘पर्यटक आवागमनसँगै बसाइ अवधि बढाउन पूर्वाधारको विकास र गुणस्तरीय निर्माणमा पनि ध्यान दिनुपर्ने देखिन्छ।’

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले सन् २०२३ मा करिब १० लाख पर्यटक ल्याउने लक्ष्य राखेकोमा त्यो पूरा भएको बताए। ‘लुम्बिनी विश्वकै बौद्धमार्गीको आस्थाको धरोहर हो, त्यसैले यहाँसम्म पर्यटक ल्याउने वातावरण सबैले बनाउनुपर्छ,’ भट्टराईले भने। उनले पर्यटकको आगमनसँगै यहाँ पर्यटकस्तरीय पूर्वाधार निर्माणको खाँचो औँल्याए।

प्रकाशित: २३ पुष २०८० ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nineteen =