नैनीतालमा मजदुरी गर्ने नेपालीहरू भन्छन् : दसैँमा घर गए गुजारा कसरी गर्नु?

हिमाल प्रेस २६ असोज २०८० २०:१३ | Friday, October 13, 2023
नैनीतालमा मजदुरी गर्ने नेपालीहरू भन्छन् : दसैँमा घर गए गुजारा कसरी गर्नु?

नैनीताल (भारत)- कालीकोटको खिना घर भएका दानसिंह विक दसैँको मुखमा भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोग्दै गरेको अवस्थामा भेटिए। उनी नैनीतालमा यसरी बोक्न थालेको १८ वर्ष भयो। विक साँझ बिहान नैनीतालस्थित एउटा होटलको नर्सरीमा काम गर्छन्। यसबाहेकको बाँकी समय भारी बोक्छन्।

‘भारी बोकेरै घरको खर्च धानेको छु, यो नगरे घरमा सबै ठप्प हुन्छ,’ ४७ वर्षीय विकले भने। उनी केही दिनअघि मात्रै कालीकोट गएर नैनीताल काममा फर्किएका हुन्। ‘घरमा छोरो बिरामी भएको खबर आयो, उपचारका लागि खर्च लगेर गएँ, अब घर ढिलै जान्छु, दसैँमा गइन्न,’ उनले भने।

नैनीतालमा मजदुरी गरेर विकले मासिक ३० हजार रूपैयाँसम्म कमाउँछन्। ‘स्वदेशमै काम पाएको भए विदेश आउन मन थिएन, काम पाइहाले पनि उचित ज्याला पाइँदैन,’ उनले भने, ‘यहाँ दुःख गरे अनुसारको पारिश्रमिक पाइन्छ।’

नैनीताललाई सुन्दर बनाउन धेरै नेपाली मजदुरको मिहिनेत छ। नैनीतालको तल्ली र मल्ली ताल क्षेत्रमा सयौँ नेपाली मजदुर दिनरात भारी बोक्दै गरेको अवस्थामा भेटिन्छन्। कोही होटल त कतिपय स्थानीय साहुमहाजनको घरमा काम गरेर जीविका चलाउँदै आएका छन्। पछिल्लो समय सडक पेटीमा पसल सञ्चालन गर्ने नेपालीको संख्या बढ्दै गएको छ। नेपालीहरूको सबैभन्दा ठूलो चाड दसैँको मुखमा समेत मजदुरी गर्नेको संख्या उत्तिकै छ।

‘दसैँमा घर परिवारसित बसेर पर्व मनाउने इच्छा कसको हुन्न र?,’ कैलालीको घोडाघोडी नगरपालिका–२ का १८ वर्षीय रमेश रावतले भने, ‘दसैँमा घर गए बाँकी समय गुजारा कसरी गर्नु?’

राजनीतिक परिवर्तन भए पनि स्वदेशमै रोजगारीका सम्भावना नदेखिनु दुःखद् भएको रावतको भनाइ छ। उनी कक्षा १२ कक्षाको परीक्षा दिएर मजदुरी गर्न नैनीताल आएका हुन्। रावतका बुबा पनि यतै मजदुरी गर्छन्। बुबाको साथले उनलाई मजदुरी गर्न सहज भएको छ।

दसैँ तिहारमा कतिपय नेपाली घर जाँदा सो समयमा भारी बोक्ने काम बढी पाइने आशामा रावत बाबुछोरा यसपालि नैनीतालमा बसेका छन्। यहाँ नेपाली मजदुर घरघरमा गएर तरकारी बेच्ने तथा होटलमा भाँडावर्तन सफा गर्ने काममा बढीजसो खटिने गरेका छन्। चारैतिर पहाड अनी बीचमा आकर्षक नैनीताल अवस्थित छ। कोरोना महामारीमा सुनसान बनेको नैनीतालमा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ। योसँगै नेपालीले पनि काम गर्ने अवसर पाएका छन्।

नैनीताल, खुर्पा ताल, भीम ताललगायत क्षेत्रमा झण्डै पाँच सयको हाराहारीमा नेपाली कार्यरत छन्। नैनीताल क्षेत्रमा सिमेन्ट, छड, तरकारी, ग्यास सिलिण्डरलगायत अन्य घरायसी सामान ढुवानी गर्नमा उनीहरू दिनरात व्यस्त देखिन्छन्। दूरी तथा तौलका हिसाबले उनीहरूलाई पारिश्रमिक दिइन्छ।

बझाङको तलकोटका नवराज विष्ट दसैँका लागि घरमा सरसामान पठाए पनि आफू भने नजाने मनस्थितिमा छन्। उनले भारी बोक्न थालेको झण्डै डेढ दशक भयो।

परिवारको पालनपोषण नैनीतालको भारी बोकाइले चल्दै आएकाले चाडपर्वको खासै महत्त्व नहुने उनी बताउँछन्। ‘ताकत हुँदासम्म भारी बोक्ने हो, त्यसपछि घर जानु त छँदैछ,’ उनले भने।

कालीकोटको खानीत्रिवेणीका ५६ वर्षीय शेरबहादुर विकले भने नैनीतालमा भारी बोकेर कमाएको पैसाले छोरा जीवनलाई काठमाडौँमा लोकसेवाको तयारी गराउँदैछन्। ‘छोरा पढाउन लाखौँ ऋण काढेको छु, दसैँ सम्झेर घर जाने अवस्था छैन, घर गए सब चौपट हुन्छ,’ उनले भने, ‘छोरो जागिरे होला र बुढेकासलमा घरमा सुखका साथ बस्न पाइला भन्ने आशामा भारी बोक्दै छु।’

मुख्यतया सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिक यहाँ रोजगारीका लागि आउने गरेका छन्। उनीहरूका लागि नैनीताल रोजगारीको प्रमुख गन्तव्य हो। बाजे, बुबादेखि नातीसम्मको पुस्ता यहाँ एकसाथ भारी बोक्ने गरेको पाइन्छ। यहाँ मजदुरी गर्ने अधिकांश नेपालीले आफ्नो कमाइ छोराछोरीको पढाइमा खर्चिदै आएका छन्। -शेरबहादुर सिंह/रासस

प्रकाशित: २६ असोज २०८० २०:१३ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast