इजरायलमा रहेका नेपालीहरूलाई विमान चार्टर्ड गरी स्वदेश फर्काइने

हिमाल प्रेस २२ असोज २०८० २१:२६ | Monday, October 9, 2023
इजरायलमा रहेका नेपालीहरूलाई विमान चार्टर्ड गरी स्वदेश फर्काइने फाइल तस्बिर।

काठमाडौँ- इजरायलमा रहेका नेपालीलाई सरकारले विमान चार्टर्ड गरी नेपाल ल्याउने भएको छ। आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरूलाई नेपाल आउन चाहेमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी यथाशीघ्र नेपाल ल्याउने निर्णय गरेको हो।

त्यसका लागि इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउने निर्णय गरिएको छ। साथै इजरायल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

जोखिमयुक्त स्थानमा रहेकामध्ये दुईवटा समूहका विद्यार्थीहरूलाई इजरायलस्थित नेपाली राजदूतावासको पहलमा तेल अविवमा स्थानान्तरण गरिएको मन्त्रालयले जानकारी दिएको  छ। ‘अन्य विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ। साथै नेपाली राजदूतावासले नेपाल फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन रजिष्ट्रेसन प्रणालीमार्फत संकलन गरिरहेको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आफू रहेको स्थानबाट सुरक्षित स्थानमा स्थानान्तरण हुन, उद्धार हुन तथा नेपाल फर्कन चाहने नेपालीहरूले नेपाली राजदूतावास, तेल अविबले खुला गरेको अनलाइन रजिष्ट्रेसन प्रणालीमा आफ्नो विवरण यथाशीघ्र प्रविष्ट गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।

फाराम भर्न तलको लिंकमा क्लिक गर्नुहोस्।

https://docs.google.com/forms/d/e/1FAIpQLSeMRewPD1WdA5L1FgpE58gmUEAAs6jEKXP8Q4b1JDa-TM5W6A/viewform

हेर्नुहोस् मन्त्रिपरिषद्ले गरेका निर्णयहरू

१) मिति २०८० असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी दश जना नेपालीहरूको दुःखद् निधन भएकोमा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने र घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने।

२) यस अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने।

३) परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउने।

४) यस घटनामा परी निधन भएका नेपालीहरूको परिवारलाई राहत स्वरूप प्रति परिवार दश लाख रुपैयाँ उपलब्ध गराउने, उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत निकासा दिने।

५) इजरायलस्थित नेपाली राजदूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीब्रता दिने एवं घाइतेहरूको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने।

६) इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन प्रणालीमार्फत सङ्कलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउने । स्वदेश फर्कन चाहने इजरायलमा रहनुभएका नेपालीहरूलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल प्रविष्ट गर्न अनुरोध गर्ने।

७) अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरूलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी यथाशीघ्र नेपाल ल्याउने प्रबन्ध गर्ने।

८) इजरायलमा रहेका नेपालीहरूको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली राजदूतावासलाई स्वीकृति दिने।

९) इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरूको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने। नेपाल फर्कन चाहने नेपालीहरूलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्रान्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली राजदूतावासलाई स्वीकृति दिने।

१०) इजरायलमा रहेका नेपालीहरूको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूसमेतको सहयोग लिने।

११) यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरू सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत् प्रवाह नगर्न र आ-आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैलाई आह्वान गर्ने।

प्रकाशित: २२ असोज २०८० २१:२६ | Monday, October 9, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast