सांसदले विकास निर्माणका काम गर्ने होइन, कानुन बनाउने होः सांसद शर्मा

हिमाल प्रेस ११ असोज २०८० १२:४१
4
SHARES
सांसदले विकास निर्माणका काम गर्ने होइन, कानुन बनाउने होः सांसद शर्मा सांसद दीपा शर्मा। तस्बिर: रासस

काठमाडौँ- बाँके निर्वाचन क्षेत्र नं २ की प्रतिनिधिसभा सदस्य दीपा शर्मालाई सांसदको मूल काम कानुन बनाउने हो भन्ने लाग्छ। तर नेपालको अभ्यासमा विकासप्रति बढी ध्यान दिँदा मूल कानुन बनाउने कुरा ओझेलमा परेको उनको ठम्याइ छ।

सांसद शर्माले भनिन्, ‘प्रतिनिधिसभा सदस्यको मूल जिम्मेवारी कानुन बनाउने र जनतालाई त्यसका माध्यमबाट सेवा प्रवाह गर्नुपर्ने हो तर नेपालमा आफूले निर्वाचन क्षेत्रबाट जितेको ठाउँमा विकास निर्माणका काममा बढी ध्यान दिने अभ्यास छ, यो गलत हो।’

चालु संसदले गत पुस ७ गतेदेखि औपचारिकरूपमा काम सुरू गरेको थियो। याे संसद्‌ले ९ महिनाको अवधिमा जम्मा एउटा कानुन बनाएको छ। अरु महत्त्वपूर्ण कानुन संसद्बाट निर्माण हुन सकेका छैनन्।

यस विषयमा सांसद मात्र दोषी नभएको सांसद शर्माको धारणा छ। ‘सरकारले संसद्लाई कानुन बनाउनका लागि बिजनेस नै दिएको छैन, कानुन नबन्नुमा सांसद र संसद् दोषी छैन,’ उनले भनिन्, ‘यतिका लामो समयसम्म समितिका सभापति नै आएनन्, बल्ल विषयगत समितिले सभापति पाएको छ, अब कानुन बनाउने कुरामा ध्यान दिनु जरुरी छ।’

‘सरकार संसद्प्रति उत्तरदायी हुनुपर्छ, जनताको आवाज बोलेको शून्य समय, विशेष समयमा उठाएको समस्याको विषयमा सरकारले ध्यान दिन जरुरी हुन्छ,’ शर्माले भनिन्, ‘सांसदले प्रश्न उठाइरहने तर सरकारले ध्यान नदिनेजस्तो देखिएको छ, त्यस्तो हुनुहुँदैन, संसद् ताली पडकाउने स्थान मात्र होइन, जनताको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने स्थान हो।’

संसद् विकास कोषबाट रकम लिने विषय उचित नभएको सांसद शर्माको धारणा छ। ‘नेपालको अभ्यासमा सांसद विकास कोषबाट पैसा लिएर धारा, कुलो, बाटो, भवन बनाउने अनि, मैले विकास गरे नि भन्ने चलन छ, यस्ले समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा हुन सक्दैन, विधिको शासन कायम गर्न कानुन बनाउने कुरालाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ।’

उनलाई कानुन बनाएरै राज्यको संरचनालाई बलियो बनाउनुपर्ने र बनाएका कानुनको पनि कार्यान्वयन भए वा नभएको विषयमा ध्यान दिन जरुरी हुन्छ भन्ने लाग्छ। राष्ट्रको हितका लागि गरिएका राष्ट्रिय गौरवका आयोजना निर्माण, नेपालमा उद्योगधन्दा खोल्ने, स्वदेशमा रोजगारीको वातावरण बनाउने विषयमा भने संसद्‌मा छलफल गर्न उचित हुने र मुख्यरूपमा कानुन बनाउनुपर्ने कुरामा नै सांसदले भूमिका खेल्नुपर्ने उनको बुझाइ छ।

दैलेखको नारायण नगरपालिका–२ मा २०३९ मंसिर २८ मा जन्मिएकी शर्माले कक्षा ७ मा पढ्दादेखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्रारम्भिक कमिटीबाट राजनीतिक सुरु गरेकी थिइन्।

उनले दैलेखमा अनेरास्ववियुको कोषाध्यक्ष हुँदै नेपालगञ्जको बाँकेमा २०६० सालमा क्याम्पस पढ्ने क्रममा अनेरास्ववियुको जिल्ला उपाध्यक्ष र अध्यक्ष भएर काम गरिन्। शर्माले अनेरास्ववियुको तीन पटक केन्द्रीय सदस्य, महिला विभाग प्रमुख भएर जिम्मेवारी सम्हालिसकेकी छन्। उनले अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय युवा कमिटीको प्रमुख भएर कामसमेत गरेकी छन्।

बाँकेकाे पार्टी जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य हुँदै एमालेको दशौँ महाधिवेशनबाट पार्टी केन्द्रीय कमिटी सदस्य र हाल बाँके निर्वाचन क्षेत्र–२ को प्रतिनिधित्व गर्दै शर्मा प्रतिनिधि सभा सदस्य छन्।

-रासस

प्रकाशित: ११ असोज २०८० १२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =