नेसपाका डा. भट्टराई र यादवबीच खेल्दै माओवादी!

किरण पौडेल ३ असोज २०८० १८:०१
2
SHARE
नेसपाका डा. भट्टराई र यादवबीच खेल्दै माओवादी!

काठमाडौँ- नेकपा माओवादी केन्द्रले अन्य वामपन्थी धारका दलसँग एकता पहल थालेको छ। एकताको प्रयत्नस्वरूप पछिल्लोपटक माओवादीले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) लाई औपचारिक पत्र पठाएको हो।  पत्र पठाइएको विषयलाई कतिपयले माओवादीले जसपाभित्र खेल्न थालेको आकलन गर्न थालेका छन्। माओवादीले नेसपाका दोस्रो अध्यक्ष महिन्द्र राय यादवलाई सम्बोधन गरेर पत्र पठाएपछि यस्तो शंका गर्न थालिएको हो।

पत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले  हस्ताक्षर गरेका छन्। पत्र भदाै ३० को मितिमा पठाइएको छ। अध्यक्ष डा. भट्टराई ३० गतेदेखि नै भारत भ्रमणमा निस्किएका थिए। प्रचण्ड पनि सोही दिनदेखि अमेरिका भ्रमणमा छन्। यद्यपि पार्टी एकताका लागि दुई दलबाट गठित कार्यदल सक्रिय छन्।

माओवादीले नेसपासँग एकता गर्न भदौ २५ को पदाधिकारी बैठकमा छलफल गरेको थियो। ‘भदौ २५ को बैठकमा एकताबारे गम्भीर छलफल भयो’, माओवादी केन्द्रका एक नेताले भने, ‘पार्टी एकताका लागि पार्टीको नामसमेत फेर्ने निर्णय भएको छ।’

माओवादीले ‘विचार मिल्नेहरुसँग पार्टी एकता गर्न’ भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन्। माओवादी केन्द्रले आउँदो नवौँ अधिवेशनबाट पार्टी एकताका लागि माओवादी शब्द हटाउने दाबी गरेको छ।

यता नेसपाले सहअध्यक्ष गंगानारायण श्रेष्ठ नेतृत्वमा महासचिव रमेश यादव र उपाध्यक्ष दुर्गा सोबको कार्यदल बनाएको थियो। दुवै कार्यदलबीच पटकपटक छलफल भइसकेको नेसपाको एक नेताले जानकारी दिए।  माओवादी र नेसपा मंसिरमा भएको आमनिर्वाचनमा एउटै चिह्नबाट चुनाव लडेका थिए। त्यसयता पनि यी दुई दल निकट  सम्पर्कमा रहेर छलफल जारी राखेका छन्।

मोर्चामा नपरेका भट्टराईसँग होला  त एकता?

यसअघि प्रचण्डले सत्ता र बाहिर रहेका दल समेटेर समाजवादी मोर्चा बनाएका थिए। समाजवादी लक्ष्य स्थापना गर्न मोर्चा बनाउनुपर्ने प्रस्ताव भट्टराईको  थियो। तर भट्टराईलाई नै थाहा नदिई मोर्चा गठन भयो। मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेकपा छ।

माओवादी निकट स्रोतका अनुसार भट्टराईले मोर्चाको संयोजक बन्न चाहेकाले मोर्चामा परेका थिएनन्।

मोर्चामा आबद्ध हुन नपाएपछि भट्टराई प्रचण्डसँग टाढिएका थिए। तर नेसपाले एकताका लागि फागुनमा पत्र पठाएको थियो। माओवादीले भने यसमा चासो नदिएको नेसपा नेताहरूको असन्तुष्टि थियो।

साउनमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकमा समेत भट्टराईको पत्रले प्रवेश पाएन। यसमा समेत नेसपा नेताहरूले असन्तुष्टि पोखेका थिए। माओवादीबाट एकताका लागि प्रस्ताव आएपछि अब नेसपा कसरी अघि बढ्छ त्यो हेर्न बाँकी छ।

यादव माओवादीकै चुनाव चिह्न हसिया हथौडाबाट चुनाव लडेका थिए। अहिले प्रचण्ड नेतृत्वकै सरकारमा कृषि तथा पशुपक्षी विकासमन्त्री छन्।

बाबुरामको प्रस्तावमा माओवादी ‘मौन’

नेसपाका अध्यक्ष भट्टराईले माओवादीसँग एकताको प्रस्ताव गर्दै दोस्रो वरीयतामा सहअध्यक्षको व्यवस्था हुनुपर्ने माग गरेका थिए। उनको पत्रमा उल्लेख छ, ‘अध्यक्षपछि दोस्रो वरीयतामा एक सहअध्यक्षको व्यवस्था गर्नुपर्छ। सहअध्यक्षको काम, कर्तव्य र अधिकार विधानमा व्यवस्था भएबमोजिम हुनुपर्नेछ।’

भट्टराई आफैँले सहअध्यक्ष लिने तयारी गरेको उनी निकट नेताहरूले बताएका थिए। तर माओवादी केन्द्रको पत्रमा यसबारे खुलाइएको छैन।

भट्टराईले माओवादीमा समाहित हुँदा पार्टी नाम फेरेर समाजवादी राख्नुपर्ने अर्को सर्त राखेका थिए। यस विषयमा भने माओवादी लचक छ। माओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव गरेर आउँदो महाधिवेशनबाट माओवादी शब्द हटाउने भनिएको छ। यसमा भने भट्टराई-प्रचण्डबीच समानता  देखिन्छ। यस्तै भट्टराईले प्रस्तावमा पार्टीको नाम, झण्डा र चुनाव चिह्नसमेत परिवर्तन हुनुपर्ने माग राखेका थिए।

उनले व्यक्तिको वरिष्ठता, क्रियाशीलता, योग्यता, क्षमता र प्रभावकारिताका आधारमा कम्तीमा नेसपाबाट ७ जनालाई केन्द्रीय पदाधिकारीमा समायोजन गर्नुपर्ने माग राखेका थिए।

केन्द्रीय पदाधिकारीमा समायोजन हुन बाँकी नेसपाका केन्द्रीय पदाधिकारीलाई स्थायी समितिमा समायोजन गर्नुपर्ने, केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पोलिटब्युरो (राजनीतिक समिति) मा समायोजन गर्नुपर्ने सर्त भट्टराईको थियो। राजनीतिक समिति सदस्यहरूलाई केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने, केन्द्रीय समितिमा समायोजन हुन बाँकी नेसपाका केन्द्रीय सदस्यहरुलाई वैकल्पिक केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने सर्त पनि भट्टराईले राखेका थिए।

संघीय परिषद् सदस्यहरूको संघीय (राष्ट्रिय) परिषद्‌मा समायोजन गर्नुपर्ने र केन्द्रीय सल्लाहकार समिति सदस्यहरूको केन्द्रीय सल्लाहकार परिषद्मा समायोजन गर्नुपर्ने माग भट्टराईको छ।

प्रदेश, राष्ट्रिय समिति, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडाको समायोजन, समायोजन निर्देशिका बनाई गरिनेछ। यस विषयमा माओवादी भने मौन छ।

माओवादी कोषाध्यक्ष श्रीराम ढकाल भट्टराई र यादवबीचमा माओवादीले खेल्न नखोजेको दाबी गर्छन्। उनले भट्टराई देशबाहिर रहेकाले सोही पार्टीका अर्का अध्यक्षलाई सम्बोधन गरी पत्र लेखिएको बताए। उनले भने, ‘भट्टराई देशबाहिर भएकाले सोही पार्टीका अर्का अध्यक्ष यादवलाई सम्बोधन गरेर पत्र लेखिएको हो। यसमा अन्यथा केही छैन।’

नेसपाले माओवादीलाई पठाएको प्रस्ताव

प्रकाशित: ३ असोज २०८० १८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 9 =