पार्टीको नाम फेर्दै माओवादी

हिमाल प्रेस २ असोज २०८० ७:४६
6
SHARES
पार्टीको नाम फेर्दै माओवादी पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालय।

काठमाडौँ- नेकपा माओवादी केन्द्रले आगामी महाधिवेशनसम्म पार्टीको नाम परिवर्तन गर्ने तयारी गरेको छ।

माओवादीले अन्य कम्युनिस्ट घटकसँग पार्टी एकता गर्न वार्ता, संवाद र छलफल जारी राखेकाले पार्टीको नाम फेर्न लागेको हो। गत भदौ २५ गते बसेको पदाधिकारी बैठकले चारबुँदे आन्तरिक परिपत्र जारी गर्दै पार्टीको नाम फेर्ने गरी निर्णय गर्ने उल्लेख छ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित परिपत्रमा कोष्ठकमा रहेको ‘माओवादी केन्द्र’ को नामबारे आवश्यक निर्णय लिन सकिने उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठकमा रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ।’

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रले अन्य कम्युनिस्ट पार्टीसँग एकता गर्न छलफल अघि बढाएकाले त्यस अवस्थामा पार्टीको नाम फेर्न सकिने बताउनुभयो। उनले भने, ‘अहिलेकै अवस्थामा माओवादी केन्द्रको नाम फेरिँदैन । अन्य कम्युनिस्ट पार्टीसँग एकता गर्न छलफल जारी भएकाले त्यस अवस्थामा पार्टीको नाम फेरिन सक्छ । त्यो पनि पार्टी महाधिवेशनपछि मात्रै नाम फेरिने हो ।’

माओवादीले धेरै पटक पार्टीको नाम फेरिसकेको छ। तत्कालीन मोहनविक्रम सिंहसँग पार्टी विभाजन गरेपछि पार्टीको नाम नेकपा मशाल राखिएको थियो। त्यतिबेला नेतृत्वमा मोहन वैद्य ‘किरण’ छन्। पार्टी नेतृत्वमा प्रचण्ड आउनुभएपछि नेकपा एकता केन्द्र, नेकपा माओवादी हुँदै एकीकृत नेकपा माओवादी, माओवादी केन्द्र पार्टीको नाम बनाइएको थियो।

तत्कालीन एमाले र माओवादी केन्द्रबिच एकता भएपछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएको थियो। सर्वोच्च अदालतबाट नेकपा विभाजन भएपछि माओवादी केन्द्र पुनर्गठन गरिएको थियो। हाल माओवादी केन्द्रको नाम महाधिवेशनमा फेर्ने गरी छलफलमा ल्याएको छ।

माओवादीले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई उपत्यकाभित्रै तीनमहिने अभियानमा खटाउन निर्देशन दिएको छ। संसद् बैठक र विषयगत समितिका बैठक प्रभावित नहुने गरी पार्टी अभियानमा खटाउने भएको छ। उनीहरूलाई पार्टीमातहतका कमिटीले निर्णय गरेर आवश्यकता अनुरूप परिचालन गर्ने भएका छन्।

प्रकाशित: २ असोज २०८० ७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − six =