चिनियाँ राजदूतको अभिव्यक्तिबारे संसद्‌मा कुरा उठ्यो, फिर्ता पठाउन माग

हिमाल प्रेस २१ भदौ २०८० १५:५६
28
SHARES
चिनियाँ राजदूतको अभिव्यक्तिबारे संसद्‌मा कुरा उठ्यो, फिर्ता पठाउन माग

काठमाडौँ– नेपालका लागि चिनियाँ राजदूत छन् सोङले दिएको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाएका छन्।बिहीबार प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले नेपालको परराष्ट्र नीति निर्धारण गर्ने अधिकार विदेशी मुलुकका राजदूतको नभएको बताए।

उनले भने, ‘विदेशी मुलुकको राजदूतले परराष्ट्र नीति निर्धारण गर्ने होइन। नेपालको कस्तो परराष्ट्र नीति राख्ने नेपालले आफैँ निर्धारण गर्ने हो।’  चिनियाँ राजदूतको उक्त अभिव्यक्तिका विषयमा तत्काल स्पष्टीकरण सोध्नुपर्ने उनको भनाइ। चिनियाँ राजदूतले भारतजस्तो छिमेकी मुलुक नेपालले पाउनु दुर्भाग्य भन्ने अभिव्यक्ति दिएका थिए। उनको यो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ।

‘उक्त राजदूतलाई परराष्ट्र मन्त्रालयले तुरुन्त स्पष्टीकरण लिनुपर्छ,’ उनले भने, ‘तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग गर्दछु।’ यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी पार्टी (लोसपा)का सांसद सर्वेन्द्रनाथ शुक्लले पनि चिनियाँ राजदूतको अभिव्यक्तिप्रति आपत्ति जनाए। उनले त्यसबारे परराष्ट्र मन्त्रालयले छिट्टै जवाफ दिनुपर्ने माग गरे।

‘छिमेकी मुलुकको राजदूतको अभिव्यक्तिप्रति घोर आपत्ति गर्न चाहन्छौँ,’ उनले थप भने, ‘परराष्ट्र मन्त्रालय जुन किसिमले मौन बसेको छ, नोटिसमा लिने तर नबोल्ने स्थिति उचित होइन।’ उनले आपसी समझदारीमा तेस्रो पक्षको हस्तक्षेप सह्य नहुने पनि बताए ।

चिनियाँ राजदूतले खेल्न खोजेका हुन् त भूराजनीतिक खेल?

 

प्रकाशित: २१ भदौ २०८० १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =