गृहमन्त्री लामिछाने र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट

हिमाल प्रेस १४ चैत २०८० १८:२७
16
SHARES
गृहमन्त्री लामिछाने र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि चीनका राजदूत छन् सोङबीच बुधबार शिष्टाचार भेट भएको छ।

भेटमा चीनका राजदूत सोङले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। साथै, एक चीन नीतिप्रति नेपाल सरकारलाई धन्यवाद प्रकट गरे।

नेपालको बृहत्तर हितका लागि सधैँ सहकार्य हुने भन्दै राजदूत सोङले सीमा व्यवस्थापनका लागि मन्त्रालयस्तरीय समन्वय र सहकार्य बढाउन आवश्यक रहेको औंल्याएका थिए। उनले कानुन कार्यान्वयन गराउने सरकारी निकायको क्षमता विकास र विस्तारसहित प्रहरीका लागि आवश्यक सवारी साधनको व्यवस्थापन, त्रिभूवन विमानस्थलसहित अन्य अध्यागमन कार्यालयको सुदृढीकरण र प्रणालीको सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री लामिछानेले चीनले गरेको आर्थिक वृद्धि, रोजगारी सिर्जना, प्रविधिको उपयोग र गरिवी निवारणबाट नेपालले सिक्नुपर्ने भन्दै नेपालको विकाससहित विशेषतः विपद्का बेला चीनले गर्दै आएको सहयोग अविष्मरणीय रहेको र त्यसले निरन्तरता पाउने अपेक्षा राखे। उनले सुरक्षा प्रणालीको सुधार, अध्यागमन प्रणालीको आधुनिकीकरण र प्रविधिकीकरण, विपद् व्यवस्थापन, सीमा व्यवस्थापनका साथै व्यापार प्रवर्द्धन र पर्यटन क्षेत्रमा थप सहयोग र सहकार्य आवश्यक रहेको औंल्याए।

मन्त्री लामिछानेले चीनका केही सहरबाट भैरहवा र पोखरामा सीधा हवाई उडानको अपेक्षा राख्दा राजदूत सोङले अधिकतम प्रयास भइरहेको जानकारी दिए। चीनका राजदूतले समकक्षी वाङ छियाहङका तर्फबाट गृहमन्त्री लामिछानेलाई चीन भ्रमणको निमन्त्रणासमेत दिएका थिए।

प्रकाशित: १४ चैत २०८० १८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 4 =