चिनियाँ राजदूतले खेल्न खोजेका हुन् त भूराजनीतिक खेल?

हिमाल प्रेस २० भदौ २०८० २१:३३
40
SHARES
चिनियाँ राजदूतले खेल्न खोजेका हुन् त भूराजनीतिक खेल?

काठमाडौँ- नेपालका लागि चीनका राजदूत छन् सोङले नेपालकै अर्को छिमेकीविरुद्ध अभिव्यक्ति दिएपछि राष्ट्रिय राजनीति र कूटनीतिक क्षेत्र तरंगित छ। उनले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र व्यापारका विषयमा आफ्नो मन्तव्य राख्ने समयमा भारतको नाम नै किटेर विवादास्पद अभिव्यक्ति दिएका थिए।

गत शनिबार काठमाडौँमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा नेपाल-भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति उनले विवादास्पद अभिव्यक्ति दिएका हुन्।

राजदूत सोङले नेपाल र भारतबीच भइरहेको विद्युत व्यापारका बारेमा गैरकूटनीतिक भाषामा टिप्पणी गरेका थिए। उनले भनेका थिए, ‘नेपालले भारतभन्दा चीनको अर्थतन्त्रबाट आर्थिक समृद्धि हासिल गर्न सक्छ। नेपाल र अन्य छिमेकीहरूप्रति भारतको नीति त्यति मैत्रीपूर्ण र नेपालका लागि त्यति हितकर पनि छैन। त्यसैले त्यसलाई हामी नीतिगत बाधाहरू भन्छौँ।’ नेपालले भारतलाई गत आर्थिक वर्षमा १० अर्बको विद्युत् निर्यात गर्दा नेपालले भारतबाट १९ अर्बको विद्युत् आयात गरेको समेत भाषणमा उनले बताए।

उनले चिनियाँ अर्थतन्त्र नेपालको लागि राम्रो हुने दाबी गर्दै भारतलाई गाली गरेका हुन्। नेपालले चीनको अर्थतन्त्रबाट केही सिक्नुपर्ने उनको भनाइ छ। ‘चीनको भविष्य एकदम राम्रो छ। नेपालजस्ता अति कम विकासित मुलुकहरूको अर्थतन्त्र उकास्न चीनले सहयोग गर्दै आएको छ,’ उनले भने, ‘नेपालीहरूलाई मेरो सुझाव छ, नेपालको आर्थिक अवस्थाको पुनर्संरचना हुनुपर्छ। चिनियाँ अर्थतन्त्रको संरचनाबाट नेपालले केही सिक्नुपर्छ। चिनियाँ अर्थतन्त्रलाई नजिकबाट नियाल्नुपर्छ।’

उनले नेपालमा उद्योगहरू नभएका कारण उत्पादन खुम्चिरहेको बताए। ‘नेपालमा पर्याप्त उद्योग छैनन्। भएकाले पनि भारतमाथि भर पर्छन्। अनि कसरी उत्पादन हुन्छ,’ उनले भने।

राजदूत सोङको अभिव्यक्तिलाई लिएर कूटनीतिज्ञहरूले आपत्ति जनाएका छन्। राजदूतले राजदूतकै शैलीको भाषा प्रयोग गर्नु पर्नेमा सीधै छिमेकीलाई जोडेर नेपालमा भूराजनीतिको खेल चीनले खेल्न खोजेको कूटनीतिज्ञहरूको आरोप छ।

राजदूतको रूपमा बेइजिङ बसिसकेका डा. महेश मास्केले राजदूतले कूटनीतिक भाषा प्रयोग गरेर बोल्नुपर्ने बताए। पूर्व राजदूत विजयलाल कर्णले पनि यस्ता विषयमा जथाभाबी बोल्ने राजदूत नेपालले नखोजेको जिकिर गरे।

नेपालका लागि चिनियाँ राजदूत सोङलाई तत्काल स्पष्टीकरण सोध्ने र फिर्ता बोलाउनका लागि चिनियाँ सरकारलाई पत्राचार गर्नुपर्ने कूटनीतिज्ञहरूको भनाइ छ। डा. दिनेश भट्टराई तत्काल राजदूतलाई बोलाएर सोध्ने र चित्त नबुझे फिर्ता पठाउन सक्नुपर्ने धारणा राख्छन्।

नागरिक अगुवा डा। सुन्दरमणि दीक्षितले परराष्ट्रमन्त्रीले तत्कालै चिनियाँ राजदूतलाई बोलाएर अभिव्यक्तिबारे स्पष्टीकरण लिनुपर्ने बताए। उनले भने, ‘चिनियाँ राजदूतले जे भन्नुभयो, हाम्रो यतिका वर्षको सम्बन्ध बिगार्ने नै किसिमको कुरा उहाँले गर्नुभयो, यस्ता राजदूतलाई तुरुन्त फर्काउन भन्न पनि सक्नुपर्छ।’

नेपाललाई सामान्य छिमेकीको दर्जामा र भारतलाई निकै कमजोर मुलुकको सूचीमा राखेर अमेरिकासँग मात्र विवाद हो भनेर चीनले देखाउन खोजेको कूटनीतिज्ञहरूको भनाइ छ।

संसदीय समितिले बोलायो परराष्ट्रमन्त्रीलाई

राजदूत सोङको अभिव्यक्तिलाई लिएर सरकार मौन बसेपछि प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई छलफलका लागि बोलाएको छ। साउद छलफलमा आउने या नआउने निश्चित भने भइसकेको छैन। तर राजदूत सोङको अभिव्यक्तिका साथै नक्साको विषयमा पनि समितिमा छलफल हुनेछ।

समितिका सभापति राजकिशोर यादवले समितिको बैठकमा नेपालका आवासीय विदेशी कूटनीतिज्ञहरूको आचारसंहिता र उनीहरूको गतिविधिमाथि छलफल हुने बताए। राजदूतहरूले राजनीतिज्ञ झैँ जे पनि गर्दै हिँडेको विषयमा समितिमा कुरा उठाउने पनि उनको भनाइ छ। उनीहरूलाई कसरी आचारसंहिता पालना गराउने र सही ट्रयाकमा ल्याउने भन्ने विषयमा छलफल हुने उनी बताउँछन्।

‘हामीले परराष्ट्रमन्त्रीलाई बोलाउन सचिवालयमा भनेका छौँ, सायद पत्र गइसकेको होला,’ यादवले भने, ‘चीनले जारी गरेको नक्सा र नेपालले पहिले नै नक्सा पठाएको नपठाएको विषयमा छलफल, राजदूतको अभिव्यक्ति र विदेशी कूटनीतिज्ञको आचारसंहितालगायतको विषयमा छलफल हुनेछ।’ नेपालमा रहेका विदेशी कूटनीतिज्ञमाथि सरकार गम्भीर हुनुपर्ने उनको धारणा छ।

यही समयमा प्रधानमन्त्रीको अमेरिका र चीनको भ्रमण तय भएकाले सो विषयमा पनि छलफल हुने सभापति यादवको भनाइ छ। नेपालले जारी गरेको नयाँ नक्साका विषयमा परराष्ट्रमन्त्री साउद र पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अभिव्यक्ति बाझिएकाले मन्त्रालयको वास्तविक धारणा पनि मागिने उनले जानकारी दिए।

परराष्ट्र मन्त्रालयले नेपालको चुच्चे नक्सा सबै मुलुकमा नपाएकाले पनि चीनले पुरानै नक्साको आधारमा राखेको छ। ‘अघिल्ला मन्त्रीले पठाइसकेको भन्ने र बहालवालाले पठाएको छैन भन्ने हुँदा एक मन्त्री गलत रहेकाले यो विषयमा पनि छानबिन आवश्यक छ,’ उनले भने। यही कारण पनि परराष्ट्रमन्त्री उपस्थित नभए बैठक नबस्ने र अर्को दिन सार्ने पनि यादवको भनाइ छ। राजदूतले कार्यक्रममा कूटनीतिक मर्यादाविपरीत नेपाल–भारतबीचको सम्बन्ध र व्यापारमा गैरकूटनीतिक टिप्पणीले मन्त्री पनि अन्योलमा परेको हुन सक्ने अधिकारीहरू बताउँछन्।

प्रकाशित: २० भदौ २०८० २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =