तीन महिनापछि काठमाडौँ-सुकेटार उडान सुरु

हिमाल प्रेस १८ भदौ २०८० ११:३०
6
SHARES
तीन महिनापछि काठमाडौँ-सुकेटार उडान सुरु

ताप्लेजुङ- नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ-सुकेटार उडान सुरु गरेको छ।

खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौँ सुकेटार उडान हुन सकेको थिएन। मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए।

लामो समयपछि भएको उडानमार्फत काठमाडौँबाट छ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौँ गएका छन्। पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताएका छन्।

करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ।

यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ। काठमाडौँ ताप्लेजुङको भाडा यसअघि रु नौ हजार छ सय ५३ थियो भने हाल घटाएर आठ हजार छ सय रुपैयाँ कायम गरिएको छ ।

यस्तै ताप्लेजुङ काठमाडौँको भाडा यसअघि नौ हजार चार सय ५३ रुपैयाँ भएकोमा यसलाई घटाएर आठ हजार चार सय रुपैयाँमा झारिएको छ।

मौसममा क्रमशः सुधार आएको र चाडपर्व नजिकिएकाले नियमितरूपमा उडान हुने विमानस्थलको विश्वास छ। यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ।

प्रकाशित: १८ भदौ २०८० ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =