बालेनको आरोप : श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरीले रोकेर हप्की-दप्की गरे, थुन्ने धम्की पनि दिए

हिमाल प्रेस १७ भदौ २०८० १७:५६
124
SHARES
बालेनको आरोप : श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरीले रोकेर हप्की-दप्की गरे, थुन्ने धम्की पनि दिए

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सुत्केरी पत्नी सबिना काफ्ले सवार सरकारी गाडीलाई रोकेर ट्राफिक प्रहरीले धम्की दिएको दाबी गरेका छन्। शनिबार राति सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबारमा आगो लगाउने धम्की दिएका मेयर शाहले आइतबार सचिवालयमार्फत स्पष्टीकरण सार्वजनिक गर्दै ट्राफिक प्रहरीमाथि गम्भीर आरोप लगाएका हुन्।

शनिबार बेलका ७ बजे सविना सरकारी गाडीमै चढेर मेडिसिटी अस्पतालको एनआईसीयुमा रहेकी नवजात छोरीलाई स्तनपान गराएर फर्किँदा कोटेश्वर चोकमा रोकेर धम्की दिएको दाबी गरेका हुन्। शाहले सुत्केरी काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा सरकारी गाडी चढेको पनि जिकिर गरेका छन्।

कोटेश्वरमा गाडी रोकेपछि सवारी चालकले परिचयपत्र देखाउनुका साथै सार्वजनिक बिदाका दिन प्रयोग गर्न पाइने परमिट पनि रहेको बताएको उनले उल्लेख गरेका छन्। आपतकालीन अवस्थाबारे जवाफ दिँदा पनि ‘मैले चाहे भने यतै राख्न सक्छु’ भनेर धम्की दिने, कुनै ठूलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने ट्राफिक प्रहरीको आचरणमा पनि उनले प्रश्न उठाएका छन्

‘सवारीचालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषय समेत अनुरोध गरे’, शाहको सचिवालयले भनेको छ, ‘नगर प्रमुखसहितको परिचय खुलाएपछि प्रहरीको व्यवहार झन् बढी आक्रामक भएको थियो। प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे।’

शाहले ट्राफिक प्रहरीले सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी ‘ढोका खोल’, के हो? कहाँ हो? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी काफ्लेलाई अनावश्यक केरकार गरेको जिकिर गरेका छन्। ‘प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्त्यन्त निन्दनीय तथा खेदजनक छ’, उनले भनेका छन्।

श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाउने बालेनको धम्की

 

प्रकाशित: १७ भदौ २०८० १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 1 =