सुदूरपश्चिममा डेंगी संक्रमण उच्च, हिमाली जिल्ला दार्चुलामै भेटियो डेंगी सार्ने लामखुट्टे

हिमाल प्रेस १० भदौ २०८० ११:२१
10
SHARES
सुदूरपश्चिममा डेंगी संक्रमण उच्च, हिमाली जिल्ला दार्चुलामै भेटियो डेंगी सार्ने लामखुट्टे

बैतडी- तराईका जिल्लामा बढी हुने डेंगी संक्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ। तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको हो।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले दार्चुलाको ब्यासमा पनि डेंगी सार्ने लामखुट्टे फेला परेको बताए। दार्चुलामा प्रदेशकै बढी संक्रमित भेटिएका पनि उनले बताए।

पहाडमा पनि डेंगी संक्रमण बढ्दै गएको र संक्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
‘यहाँ पनि डेंगी संक्रमण बढेको छ। सबैले सचेत रहन आवश्यक छ,’ उनले भने।

डेंगी भएका उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिडौलाको मासु दुख्ने आदि डेंगीका लक्षण देखापर्ने गर्छ। यसका साथै गम्भीर प्रकृतिको डेंगी संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट-खुट्टा सुन्निनेजस्ता लक्षण देखापर्ने निर्देशनालयले जानकारी दिएको छ।

डेंगी जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, किट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ। स्थानीय तहहरूले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेका जोशीले बताए।

वर्षात्‌मा दैनिक डेंगीका बिरामी बढ्दै गएपछि प्रदेशभर डेंगी संक्रमण फैलाउने लामखुट्टे नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ। यसैबीच सुदूरपश्चिम प्रदेशमा डेंगी संक्रमण ह्वात्तै बढेको छ।

सन् २०२३ को पछिल्लो चार महिनाको तथ्यांक हेर्दा यहाँ डेंगी संक्रमण ह्वात्तै बढेको देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जान‍कारी दिएको छ। निर्देशनालयका अनुसार मे महिनामा २२, जुनमा २६ जनामा संक्रमण देखिएकामा जुलाइमा त्यो संख्या बढेर ५८ पुगेको छ।

यस्तै अगस्ट महिनामा भने डेंगी संक्रमण ह्वात्तै बढेको पाइएको छ। अगस्टको हालसम्म दुई सय १३ जनामा संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति जोशीले जानकारी दिए।

सुदूरपश्चिममा सन् २०२३ को हालसम्म पाँच सय ४० जनामा संक्रमण पुष्टि भइसकेको छ। ‘अरु महिनाभन्दा यो अगस्ट महिनामा डेंगी संक्रमितको संख्या अधिक बढेको पाइएको छ,’ उनले भने, ‘गर्मी र वर्षात्‌को समय रहेकाले यो संख्या बढेको हो।’

यसअघि सन् २०२३ कै जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा एक सय २९, अप्रिलमा २५ जनामा संक्रमण देखापरेको थियो। प्रदेशको तथ्यांकअनुसार सबैभन्दा बढी पहाडी जिल्ला दार्चुलामा एक सय ९४ जनामा संक्रमण पुष्टि भइसकेको छ।

कैलालीमा एक सय २५, कञ्चनपुरमा ९५, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १५, बझाङमा १२, डडेल्धुरामा ९ र बैतडीमा ६ जनामा संक्रमण देखिएको छ। संक्रमणका कारण यस वर्ष मृत्युका घटना नभएको सुखद अवस्था रहेको सम्बद्ध अिधकारीहरूको भनाइ छ।

गत वर्ष यस प्रदेशमा एक हजार दुई सय ८९ जनामा संक्रमण देखिएकामा चार जनाको मृत्यु भएको थियो। लामखुट्टेको टोकाइबाट हुने डेंगी गर्मी र वर्षात्‌को समय भएकाले बिरामीको संख्या बढ्न थालेको जोशीले बताए। रासस

प्रकाशित: १० भदौ २०८० ११:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =