सुदूरपश्चिमका मुख्यमन्त्री शाहले २२ चैतमा विश्वासको मत लिने

हिमाल प्रेस २० चैत २०८० १५:२६
18
SHARES
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले २२ चैतमा विश्वासको मत लिने कमलबहादुर शाह। फाइल तस्बिर

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले २२ चैतमा प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। मंगलबार बिहान मुख्यमन्त्री शाहले २२ चैत (बिहीबार) मा विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिए।

मुख्यमन्त्री शाहको प्रस्ताव दर्ता लगत्तै प्रदेशसभा सचिवालयले बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिने सूचना निकालेको छ। तर, मुख्यमन्त्री शाहलाई विश्वासको मत पाउन भने त्यति सजिलो छैन। ४ चैतमा बसेको नाउपाको प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ। तर, नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिन निर्देशन दिएपछि नाउपाभित्र विवाद देखिएको छ।

नाउपाका सातमध्ये पाँच जना प्रदेशसभा सदस्यहरू शाह नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने अडानमा छन्। नाउपाका प्रदेशसभा सदस्यद्व कैलाश चौधरी र टीका थापा भने त्यसको विपक्षमा छन्। मुख्यमन्त्री शाहलले विश्वासको मत पाउन नाउपासँगै राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीको समर्थन आवश्यक पर्छ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ सांसद छन्। यस्तै, सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टीका ७ सांसद छन्।

केन्द्रको सत्ता गठबन्धन दल एक ठाउँमा रहे पनि नाउपाको समर्थनबिना सरकार बन्न भने बहुमत पुग्दैन। सत्ता गठबन्धनका दल माओवादी केन्द्रका ११, एमालेका १० र नेकपा एकीकृत समाजवादीको ४ गरी २५ सांसद छन्। नाउपाबिना सरकार बनाउन सत्ता गठबन्धनलाई पनि नाउपा वा राप्रपाकी विष्ट र स्वतन्त्र सांसद डा. जोशीको समर्थन आवश्यक पर्छ।

प्रकाशित: २० चैत २०८० १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =