तालिबान सत्तामा आएयता दुई सयभन्दा बढी पूर्वअधिकारीको हत्या

हिमाल प्रेस ८ भदौ २०८० १०:५७
10
SHARES
तालिबान सत्तामा आएयता दुई सयभन्दा बढी पूर्वअधिकारीको हत्या अफगानिस्तानको काबुलमा गस्तीमा खटिएका तालिबान लडाकु। फाइल तस्बिर एपी

काठमाडौँ– तालिबान अफगानिस्तानको सत्तामा फर्किएयता दुई सयभन्दा बढी पूर्वसरकारी अधिकारीहरूको हत्या भएको प्रतिवेदन संयुक्त राष्ट्र संघ (यूएन) ले सार्वजनिक गरेको छ।

अगस्त २०२१ मा तालिबानले काबुल कब्जा गरेको थियो। त्यसयता तालिबानी लडाकुले दुई सयभन्दा बढी पूर्वसैनिक, प्रहरी, गुप्तचर विभाग र न्यायालयसँग जोडिएका अधिकारीहरूको हत्या गरेको प्रतिवेदनमा उल्लेख छ।

पूर्वअफगानी सरकार र सुरक्षा बलविरुद्ध आठ सयभन्दा बढी मानवअधिकार उल्लंघनका मुद्दा दर्ता भएका छन्। अमेरिकी र नेटोका सेना फिर्ता भएपछि तालिबानले पूरै अफगानिस्तान नियन्त्रणमा लियो। अमेरिकी सेनाद्वारा प्रशिक्षित अफगानी सेना नष्ट गरियो। तालिबानको अत्याचारबाट बच्न पूर्वअफगानी राष्ट्रपति असरफ गनी देश छाडेर भाग्न बाध्य भए।

प्रतिवेदनमा भनिएको छ, ‘अफगानिस्तानमा तालिबान लडाकुद्वारा पहिले व्यक्तिलाई पक्राउ गरिन्छ। केही समय हिरासतमा राखेपछि हत्या गरिन्छ।’ पूर्वअधिकारीहरूको अज्ञात स्थानमा लगेर हत्या गरिने र त्यसपछि उनीहरूको शव परिवारलाई जिम्मा लगाइने वा कुनै ठाउँमा गाड्ने गरिएको छ।

संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले पूर्वअफगानी सरकारसँग जोडिएका मान्छेविरुद्ध तालिबानको क्रूर व्यवहार रहेको बताएका छन्। ‘सबैभन्दा निर्मम त ती अधिकारीहरूलाई तालिबानले ‘तिमीहरूमाथि कुनै हिंसा हुँदैन’ भनेर आश्वस्त पार्नु हो,’ उनले भनेका छन्, ‘यो उनीहरूसँग विश्वासघात हो।’

टर्कले तालिबानी शासकहरूलाई अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको पालन गर्ने आग्रह गरेका छन्। ‘मानवअधिकार उल्लघंनमा रोक लगाउन र अपराधीहरूलाई न्यायका कठघरामा राखेर आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेको छु,’ उनले भनेका छन्।

अफगानिस्तानको सत्तामा फेरि आउन तालिबानले खासै विरोधको सामना गर्नुपरेन। त्यसैले मानवअधिकार उल्लंघन गर्न उसको साहस दिनानुदिन बढ्दै गएका प्रतिवेदनले प्रस्ट पारेको छ।

तालिबानी परराष्ट्र मन्त्रालयले यूएनको प्रतिवेदन खारेज गरेको छ। तालिबानी लडाकुद्वारा कुनै किसिमका मानवअधिकार उल्लघंन नभएको मन्त्रालयको भनाइ छ।
‘इस्लामिक अमिरात संस्थाका कर्मचारी र सुरक्षाकर्मीद्वारा पूर्वसरकारी कर्मचारी र अधिकारीहरूविरुद्ध हिंसाका कुनै पनि मुद्दा दर्ता भएका छैनन्,’  मन्त्रालयका अधिकारीले भनेका छन्।

संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त कार्यालयले भने अफगानिस्तानमा पूर्वसरकारी अधिकारी बेपत्ता भएका कम्तीमा १४ घटना अभिलेखीकरण गरेको छ। त्यस्तै बिनाकसुर पक्राउ गरिएका ४ सय २४ घटना छन् भने हिंसा र दुर्व्यवहारका १ सय ४४भन्दा बढी घटना अभिलेखीकरण गरिएका छन्।

प्रकाशित: ८ भदौ २०८० १०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =